ओलीको व्यक्तिवाद, चरम अहंकार, चरम दम्भ, निरंकुश कार्यशैली, बोलीको पक्का नहुने प्रवृत्तिले एमाले एक्लिन पुग्यो

अध्यक्ष माधवकुमार नेपाल

राजनीतिक दल स्थानीय तह निर्वाचनको प्रारम्भिक समीक्षामा जुटेका छन् । नेकपा (एकीकृत समाजवादी)ले स्थापनाको सात महिनाको अवधिमै एक महानगरपालिका, एक उपमहानगरपालिकासहित २० पालिकामा प्रमुख र २४ पालिकामा उपप्रमुख जितेको छ । अपेक्षित परिणाम नआएपनि गठन भएको छोटो समयमै एकीकृत समाजवादीले राष्ट्रिय शक्तिको रुपमा आफुलाई उभ्याएको छ । एकीकृत समाजवादीले निर्वाचनको परिणामलाई कसरी लिएको छ ? आगामी दिनमा वर्तमान गठबन्धन अगाडि बढ्छ कि वाम गठबन्धन बन्छ ? पार्टी एकताको सम्भावना छ कि छैन् ? लगायत प्रश्नको जवाफ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग खोज्ने प्रयास गरिएको छ । अध्यक्ष नेपालसँगको विशेष अन्तर्वार्ता हामी यहाँ सभार गर्न चाहन्छौं । :

तपाईंको पार्टीले स्थानीय तह निर्वाचनको समीक्षा कसरी गरेको छ ?
नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको समग्र समीक्षा गर्न बाँकी नै छ । तर, यसको वावजुद पनि हामीले निर्वाचनको मूल परिणामलाई सकारात्मक रुपमा नै लिएका छौँ । किनकी, गठबन्धन भएका सिटहरूमध्ये जम्मै ठाउँमा अपेक्षा गरेबमोजिम परिणामको आशा गरेर मात्र पनि हुँदैन । प्राप्त परिणाममा सन्तोष गर्नुपर्ने अवस्था छ । ६ वटा महानगरपालिकामध्ये पोखरा महानगरपालिकाको मेयर पद हामीले जितेका छौँ । पोखरामा हामी राम्रै मतान्तरले विजयी भयौँ । ६ हजारभन्दा बढी मतान्तरले पोखरा महानगरपालिका जित्यौँ । तर, हामीलाई नै आएको मत बदर भएको जोड्दा २५ हजारभन्दा बढी मतान्तरले जितेको देखिन्छ । हाम्रो उम्मेदवार लोकप्रिय भएको देखियो र गठबन्धनप्रति पोखरेली जनताको विश्वास पनि रह्यो । त्यसैगरी, उपमहानगरपालिकामा पनि हामीले हेटौंडामा मेयर पद जित्यौँ । हामीले पोखरा महानगरपालिकामा धनराज आचार्य र हेटौँडा उपमहानगरपालिकामा मीनाकुमारी लामालाई अगाडि सार्यौं । उहाँहरु लोकप्रिय मतले विजयी हुनुभयो । चुनौतीको सामना गर्नका लागि उहाँहरूले जुन ढंगको भूमिका खेल्नुभयो, दुबै उम्मेदवारलाई विशेष बधाई छ । जिताउने सबै पार्टीका नेता तथा कार्यकर्तालाई बधाई छ । आम मतदातालाई धेरै धेरै धन्यवाद छ । त्यहाँका जनतालाई हाम्रो पार्टीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।

त्यसबाहेक गठबन्धन भएका ठाउँमा नि ?
धेरैजसो ठाउँमा गठबन्धन नै भएन । हाम्रो त्रृटि के भयो भने, हामी गठबन्धन–गठबन्धन भनेर बस्यौँ । गठबन्धनबाट बढी आशा गरेर बस्यौँ । तर, कतिपय जिल्ला र पालिकामा स्थानीय नेता कार्यकर्ता गठबन्धनको बाटो पर्खिएर बस्नु भएन, आफ्नै शक्तिमा भरोसा गरेर उम्मेदवार खडा गर्नुभयो । र, शानदार सफलता पनि हाँसिल गर्नुभयो । उदाहरणको रुपमा रौतहट जिल्लालाई लिन सकिन्छ । त्यस्ता अरु जिल्ला पनि छन् । रौतहटमा हामी चार वटा पालिकामा अत्यधिक मतका साथ विजयी भएका छौँ । केही पालिकामा मतगणनामा धाँधली भएको पाइयो । त्यहाँ पुनः मतगणना हुने हो भने थप दुईटा पालिकामा जित्ने अवस्था विद्यमान छ । अलिकति राम्रो तयारी गरेको भए र त्यहाँ कुनै एक पार्टीसँग मात्र गठबन्धन भएको भए हामी १६ मध्ये ११–१२ पालिका जित्ने थियौँ । अरुले त चिहाउनुपर्ने स्थिति पनि बन्ने थिएन ।

कर्णाली र सुदूरपश्चिममा अलि बढी अपेक्षा गर्नु भएको थियो । तर, परिणामले राम्रो देखाएन नि ?
कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा राम्रो परिणाम आउने अपेक्षा थियो । तर, हामीले अपेक्षा गरेजस्तो परिणाम आएन । यसको समीक्षा गरिरहेका छौँ । भर्खर गठन भएको पार्टीले २० वटा पालिकामा प्रमुख र २४ वटा पालिकामा उपप्रमुख जितेको छ । संख्या त सानै हो तर, मुलुकका प्रमुख दलहरूको रुपमा पार्टीलाई उभ्याउन हामी सक्षम भएका छौँ । गठबन्धनबाट सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसले लियो । त्यसपछिको फाइदा माओवादी केन्द्रले लियो । जनता समाजवादी पार्टीले पनि एक हदसम्म फाइदा लियो भन्नुपर्छ । अरु कतिपय साना दलहरूले पनि फाइदा लिन पुगे । हामीले गठबन्धनबाट समग्रतामा अपवाद छाडेर धेरै फाइदा लिन सकेनौँ ।

महानगर र उपमहानगरमा हेर्ने हो भने गठबन्धनबाट मेयरमा जित्ने, उपमेयरमा पराजित हुने अवस्था बन्यो । मत पनि अत्यधिक मात्रामा बदर भयो नि ?
मत किन बदर भयो भन्दा निर्वाचन आयोगले सहमति भएको कुरालाई पनि पालना गरेन । जहाँ उम्मेदवार खडा गरिएको छैन, त्यहाँ चिह्न राखिने छैन भनिएको थियो । जहाँ हाम्रो उम्मेदवार नै छैन भने त्यहाँ ‘कलम’ चिह्न किन राखेको ? जस्तोः एकीकृत समाजवादीको मेयरमा उम्मेदवार छ, उपमेयरमा उम्मेदवार दिएको छैन भने उपमेयरमा किन कलम चिह्न राख्नु ? मेयरमा मात्रै ‘कमल’ चिह्न राखेको भए मत बदर हुने कुरै थिएन । यो त जनता झुक्याउने, अल्मल्याउने कुरा भयो । त्यही भएर धेरै मत बदर भएको छ ।

त्यसैगरी, मेयर छैन, उपमेयर छ भने मेयरको चिह्न किन राख्नु ? त्यस्तै कांग्रेसको निम्ति र अरुको निम्ति पनि त्यही लागु हुन्छ । यस्ता कुराहरूमा निर्वाचन आयोगले खेलेको भूमिकाबाट हामी सन्तुष्ट छैनौँ । निर्वाचन आयोगले वास्तवमा ठीक ढंगले भूमिका खेल्न सकेन । र, निर्वाचन आयोगका आयुक्तहरू सबैको समग्र मूल्यांकन गर्नुपर्छ । निर्वाचन गर्न सक्यौँ भनेर फुर्ती देखाउनु एउटा कुरा भयो । व्यवहारमा ठिक भएन । यसको समीक्षा गर्नुपर्छ ।

खास कहाँ भएको हो त्यस्तो ?
रौतहटमै विभिन्न पालिकाहरूमा भएको छ । गरुडामै भएको छ, गुजरामै भएको छ, गढीमाई मै भएको छ । यस्ता धेरै ठाउँमा भएको छ, जहाँ अहिले पनि राम्रो ढंगले गणना गर्ने हो भने हाम्रा उम्मेदवारले जित्ने अवस्था विद्यमान छ । उदयपुरमा पनि त्यस्तै भएको छ । जहाँ लाइन लागेका मतदाता पानी परेपछि ओत लाग्न गए । आज मतदान स्थगित भयो, भोलि मतदान गरिन्छ भनियो । पछि, मतदान नै गरिएन । यस्तो नांगो पाराको काम पनि भएको छ । उदयपुरको त्रियुगामा भएको गतिविधिले निर्वाचन आयोगको गरिमामा ठूलो आँच पुर्याएको छ । र, त्यहाँ निर्वाचनमा खटिएका कर्मचारीले जुन हिसाबले भूमिका खेले, निर्वाचन आयोगका पदाधिकारीले जुन भूमिका खेले, त्यो अत्यन्तै नसुहाउने खालको रहेको हामीले पाएका छौँ ।

प्रदेश र संघको निर्वाचनमा अहिलेकै गठबन्धन कायम रहन्छ कि वाम गठबन्धन बन्छ ?
कुरा के हो भने, हामीले गठबन्धन किन बनायौँ ? गठबन्धनमा हामी पुग्नुपर्ने कारण के पर्याे ? त्यो कुरा बिर्सनु हुँदैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मास्ने काम गर्न खोजेको हुनाले, संविधानको प्रावधानलाई कुल्चिने काम गर्न थालेको हुनाले, संविधान विपरितको कदम चालेको हुनाले, संविधानलाई क्षतविक्षत गर्ने काम गरेको हुनाले संविधानको रक्षा गर्नका लागि संविधान पक्षधरहरू एक ठाउँमा जम्मा भएका हौँ । ओली गणतन्त्रको विरोधमा जान चाहेको हुनाले गणतन्त्रको रक्षा गर्नका लागि हामी एक ठाउँमा आएका हौँ । संघीयताविरुद्ध वकालत गर्न थालिसकेपछि त्यसलाई जोगाउनका निम्ति हामी एक ठाउँमा आएका हौँ । समावेशिताको मान्यतालाई वेवास्ता गरेको हुनाले समावेशी राजनीतिलाई अगाडि सार्न हामीले गठबन्धन गरेका हौँ । र, हामीले यो आन्दोलनका सबै उपलब्धिलाई कसरी जोगाउने भन्ने कुरालाई केन्द्रविन्दुमा राखेर देशलाई राजनीतिक अस्थिरताको कुचक्रमा फस्नबाट जोगाउनका लागि गठबन्धन गरेका हौँ । के त्यसको उपादेयता सकियो त ? के प्रतिगमनकारी कदम चाल्नेहरू समाप्त भइसकेका छन् ? त्यसैले प्रतिगमनको खतरा अझै छ । त्यसविरुद्ध अझै पनि गठबन्धन आवश्यक छ ।

एमालेले संसदको अवरोध खोल्यो नि ?
संसदमा सधैंभरी हंगामा गरेर समस्या खडा गर्नेहरू अहिले एक कदम पछि हटेका छन् । तर, सारा उत्तानो परेर हारिसके पनि मेरो त खुट्टा माथि नै छ भन्ने प्रवृत्ति देखिएको छ । अझै एमालेमा यो व्यवस्थाप्रति इमान्दारिता देखिएन, सुधार देखिएन, परिवर्तन देखिएन । त्यसकारण गठबन्धन दलका सबै घटकहरूले गठबन्धनलाई जोगाउनुपर्छ । र, यसलाई सुदृढ बनाएर लानुपर्छ । आगामी निर्वाचनमा गत स्थानीय तह निर्वाचनको गल्ती दोहोरिन दिनुहुँदैन । दोहोरिने स्थिति बन्न थाल्छ भने त सबैलाई आ–आफ्नो बाटो हिड्न कसैले रोक्न सक्दैन । स्थानीय तहमा पनि हामी आफ्नै शक्तिमा भरोसा गरेर अगाडि बढेका हौँ । नत्र, पालिकाको प्रमुख र उपप्रमुखमा सहमति गर्ने, वडामा सहमति गर्न तयारै नहुने अवस्था त देखियो नि । वडामा सहमति नभएपछि जित्न सकिन्छ त ? नेकपा (एमाले) अलोकप्रिय भएको हुनाले, त्यसका नेताहरू जनतामा बदनाम भएको हुनाले जनताले सजाय दिए ।

त्यसो भए, संघ र प्रदेशको चुनावमा पनि गठबन्धन हुन्छ होइन ?
हो, पाँचदलीय गठबन्धन आगामी प्रदेश र संघको निर्वाचनसम्म कायम रहन्छ । हन्डर, ठक्कर खाइसकेपछि वुद्धि खुल्छ भनेको थिएँ । हामीले पनि त हन्डर, ठक्कर खाएका छौँ । हाम्रो पनि वुद्धि खुल्नुपर्याे, मैले पटक–पटक भनेको थिएँ, हामीलाई अपमान हुने खालको व्यवहार हुन थालेको छ है, अब सहँदैनौँ, हामी आफ्नो शक्तिको आधारमा अगाडि
बढ्छौँ । त्यो सन्देश र संकेतलाई तलका कार्यकर्ताले अझै राम्रो ढंगले बुझ्न सक्नु भएन । विभिन्न ठाउँमा आफ्नै उम्मेदवार उठाउने स्थिति मात्रै भएको भए पनि पार्टीको प्रचार हुने थियो । कलम चुनाव चिह्नको प्रचार हुने थियो । भोलिका लागि प्रतिनिधिसभाको चुनावमा पनि समानुपातिक मत चाहिन्छ, प्रदेशसभामा पनि समानुपातिक मत चाहिन्छ । त्यसको लागि पनि पार्टी नै चाहिन्छ । पार्टीको चिह्न नै चाहिन्छ । अब हामीले विगतको गल्तीबाट शिक्षा लिएर पार्टी र पार्टीको चुनाव चिह्नको व्यापक प्रचार अभियान संचालन गर्नुपर्छ । पार्टीको नीतिको व्यापक प्रचार गर्र्ने काममा जुटिहाल्नुपर्छ । स्थानीय तह निर्वाचनमा गठबन्धन हाम्रो पहिलो पाइला हो, यसबाट शिक्षा लिनुपर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईंलाई चुनावी प्रधानमन्त्री बन्नुस् भन्ने प्रस्ताव गर्नुभएको छ रे हो ?
यस्ता कुराहरूलाई हो पनि भन्न मिल्दैन, होइन पनि भन्न मिल्दैन । यस्ता हल्ला बजारमा व्याप्त छन् । बजारको हल्लालाई पत्याएर हिड्ने कुरा आउँदैन । फेरि हामी कुनै पद पाउने बित्तिक्कै निर्लिप्त भएर त्यसको निम्ति हामफाल्दै हिँड्ने खालका मान्छे परेनौँ । हामी त्यो क्याटेगोरीको होइनौँ । हामी राजनीतिक विश्लेषण गरेर, त्यसको आधारमा टेकेर अगाडि बढ्छौँ । अवश्य पनि कांग्रेसमा स्थानीय निर्वाचनमा केही अहंकार देखा परेको हो । माओवादीमा पनि अहंकार देखा परेको हो । जनता समाजवादी पार्टीमा पनि अहंकार देखा परेको हो । भोलिको चुनावमा धेरै मात्रामा अहंकार देखिन सक्ने सम्भावना छ । त्यो अहंकार देखिन सक्छ । सहमति गरेको ठाउँमा अन्तर्घात पनि हुन सक्छ । यही काठमाडौँको ३२ वडामा कांग्रेसले हाम्रो उम्मेदवारलाई मत दिएन । आफ्नै उम्मेदवारलाई पनि मत दिएन । काठमाडौंको शंकरापुर नगरपालिकामा पनि हाम्रो उम्मेदवारलाई भोट खसाल्ने काम भएन । यस्तो प्रवृत्ति त देखियो नि नेपाली कांग्रेसमा । त्यस्तो प्रवृत्तिलाई निरुत्साहित र दण्डित नगर्ने हो भने अरु पार्टीसँग कांग्रेसको सम्वन्धमा असर गर्छ र विश्वसनीयतामा गम्भीर प्रश्न खडा हुन्छ ।

भनेपछि तपाई र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव हल्ला मात्रै हो ?
त्यो कुरालाई मैले हल्ला मात्रै पनि भन्दिनँ । विभिन्न कोणबाट प्रस्तावै आएका होलान् । प्रस्ताव आयो भन्दैमा कौवाको पछाडि दौडने कि कान छाम्ने ? म हल्लाको पछाडि कुद्ने मानिस होइन । ओलीसँग सहकार्यको कुनै सम्भावना छैन ।

एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच पार्टी एकता हुन्छ पनि भन्छन् । एकता आगामी चुनाव अघि नै हुन्छ कि चुनावपछि ?
कुरा के हो भने, विभिन्न पार्टीहरूको बीचमा निकटता, सामिप्यता, सहकार्य, मोर्चाका कुरा नउठ्ने होइनन्, उठ्छन । सबै पक्षमा हामीले विचार गरेर के गर्दा वाम शक्तिलाई, लोकतान्त्रिक शक्तिलाई, परिवर्तनकारी शक्तिलाई बल पुग्छ भने त्यो काम गर्ने हो । परिवर्तनको पक्षमा आम राजनीतिक माहोल बनाउने हो । षड्यन्त्र, जालझेल गर्न गठबन्धन गर्ने होइन । सहकार्यका लागि गठबन्धन गर्ने हो ।

एमालेसँग चाहिँ एकताको सम्भावना छ कि छैन ?
एमालेले जनताको विश्वसनीयता गुमाएको छ । एमालेभित्र हुर्किएको मै हुँ भन्ने संस्कृतिले धेरै ठूलो क्षति पुर्याएको छ । विश्वासको स्खलन देखिएको छ । विश्वास नै रहेन भने सम्बन्ध नै अगाडि बढ्न सक्दैन । सबभन्दा पहिला एमालेमा ठूलो स्खलन देखियो । चरम व्यक्तिवाद, चरम अहंकार, चरम दम्भ, निरंकुश कार्यशैली, बोलीको पक्का नहुने प्रवृत्तिलगायत सबै हिसाबले एमाले एक्लिन पुगेको छ । हुन त, एमालेले पनि स्थानीय निर्वाचनमा गठबन्धन बनायो । गठबन्धनका घटकहरू हेर्दा सबै दक्षिणपन्थी प्रवृत्तिका, संविधान विरोधी सोच राख्नेहरू, विदेशीको सामू लम्पसार पर्नेहरू नै ज्यादा देखिन्छन् । जबकि, हामीसँग भएको गठबन्धनमा वाम र लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिएको देखिन्छ ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह, धरानमा हर्क साम्पाङहरूको जितले के सन्देश दिन्छ ?
यसले के संकेत गर्छ भने हर्कजीको अलि विशेष स्थिति हो । उहाँले धेरै मेहेनत गरेको देखिन्छ । जनताको सेवामा आफुलाई समर्पित गरेको देखिन्छ । सत्तामा नपुग्दासम्म मात्रै त्यो रहने हो कि निरन्तर अगाडि बढ्ने हो ? अहंकारमा चुर्लुम्म डुब्ने हो कि, सत्ताको चास्नीमा बढ्ता लाग्ने हो कि ? भन्ने चिन्ता छ । इमान्दारिता र निष्ठाका साथ काममा वैज्ञानिक तरिका अवलम्बन गर्दे धेरैलाई समेटेर नगरको विकास गर्ने मूल उद्देश्य पूरा गर्न लाग्ने हो ? योजना कस्ता छन, योजनालाई प्राथमिकता कसरी निर्धारण गर्नुभएको छ भन्नेमा भरपर्छ । स्रोत साधनको समुचित उपयोग कसरी गर्न सकिन्छ ? भ्रष्टाचारलाई कति निमिट्यान्न पार्न सकिन्छ भन्ने कुरालाई हामीले हेर्नुपर्छ । काठमाडौंको हकमा बालेन शाहले पनि जुन हिसावले विकास गर्ने सोच राख्नुभयो । त्यो राम्रो छ । तर, त्यसअनुसार निरन्तरता दिन सक्छन कि सक्दैनन्, विश्वास भावले काम गर्न सक्छन कि सक्दैनन् भन्ने कुरा मुख्य हो । अवसरको फाइदा उठाइसकेपछि मतदातालाई बिर्सिने, आफ्नो बचनलाई बिर्सिने हो भने त्यसको केही अर्थ छैन । काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारको जितले राजनीतिक दलसामु प्रश्नचाहिँ खडा गरेको छ । राजनीतिक दलहरूले आत्ममन्थन गर्नुपर्ने, आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।

एकीकृत समाजवादीले जितेका पालिकामा अरु पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भन्दा फरक काम हुन्छ ?
अवश्य पनि हामीले सबैभन्दा पहिले समग्र प्लानिङमा ध्यान दिनुपर्छ । पालिकाको समग्र आवश्यकता के–के हुन्, समस्याहरू के–के हुन् ? समस्याको पहिचान गर्न सकिएन, आवश्यकताको राम्रो ढंगले खोजी गर्न सकिएन र समस्या समाधानको उपाय निकाल्न सकिएन भने समस्या खडा हुन्छ । योजना यथार्थपरक हुनुपर्छ । त्यसको प्राथमिकता तय गर्न सक्नुपर्छ । साथै, सुविधा नपाइ नहुने जनतालाई वेवास्ता गरियो भने अरु र यिनीहरूमा के फरक भन्ने प्रश्न त उठ्छ नै । हामीले सुशासनलाई प्राथमिकतामा राखेका छौँ । भ्रष्टाचारमा शुन्य सहनशिलता हाम्रो लक्ष्ग्य हो । त्यही भएर हामीले सम्पत्ति विवरण सार्वजनिक गर्न भनेका छौँ । हाम्रा निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम गर्छन भन्ने आशा राखेको छु ।

कम्तीमा एकीकृत समाजवादीले जितेका २० पालिकामा समाजवाद झल्कनुपर्याे नि ?
२० पालिकामा नेपाली नमुनाको समाजवाद झल्कनुपर्छ । विकासको नयाँ मोडल देखिनुपर्छ । इमान्दारिताको राजनीति देखिनुपर्छ । जनसेवाको भावना देखिनुपर्छ । जनतासँग राम्रो सम्बन्ध राख्न सक्नुपर्छ । जनताका समस्यालाई सुन्ने र सम्बोधन गर्ने गर्नुपर्छ । त्यसका लागि हामी प्रशिक्षण दिन्छांै । जनताको अपेक्षा बमोजिम ‘रोडम्याप’ बनाउँछौँ ।

मन्त्रिपरिषद हेरफेर कहिलेसम्म हुने हो ?
अहिले हामी त्यसबारेमा प्रवेश गरेका छैनौँ । र, मन्त्रिपरिषद कहिले हेरफेर गरिन्छ भनेर भन्दै हिड्ने चिज पनि होइन । यो एकदिन पहिले भन्ने कुरो पनि होइन । त्यस्तो हो भने त भोलिपल्टदेखि ब्युरोक्रेसीले टेर्नै छाडिदिन्छ । त्यसकारण हामीले समग्र पक्षलाई हेरिरहेका छौँ । समग्र पक्षको आधारमा हामीले सोच्ने छौँ । हाम्रा मन्त्रीहरूले गरेका कामको समीक्षा पनि गरेका छौं । कमीकमजोरी छन् भने त्यसलाई सुधारेर जानुपर्छ भन्ने हाम्रो धारणा छ ।

बागमती प्रदेश सरकार चाहिँ परिवर्तन हुन्छ कि हुँदैन ?
हामी समग्रमा छलफल गरेर मात्रै केही भन्न सक्छौँ । अहिले त्यस विषयमा हामी प्रवेश गरेकै छैनौँ ।