बजेट नेपाली समाजको कम्पोजिशनलाई हेरेर ल्याइएको छ सन्तोषजनक छ

काठमाडौं, जेठ १७ । संसदमा बजेटमाथि छलफलमा भाग लिदै नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ ।

सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएको बताउनु भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको बताउनु भयो ।

‘बजेट नेपाली समाजको कम्पोजिशनलाई हेरेर ल्याइएको छ सन्तोषजनक छ उहाँले भन्नुभयो । समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएको आफूले अनुभूति गरेको भन्दै बजेटले कृषि क्षेत्रको रुपान्तरण गर्ने कुरालाई धेरै प्राथमिकतामा राखेको बताउनु भयो ।

बजेटले सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन गर्ने कुरा समावेश गरिएको छ । रोजगारी सृजना र गरिवी निवारणको कुरालाई पनि बजेटमा धेरै महत्वका साथ उठाइएको छ । यतिमात्रै नभई मानव संशाधनको विकास गर्ने कुरा, पूर्वाधार विकास र पूँजी निर्माण गर्ने कुरा, जलविद्युत उत्पादन, प्रशारण लाइनको विस्तार र ग्रामिण विद्युतीकरणमा जोड दिने कुरा बजेटमा उल्लेख गरिएको छ ।

बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको भन्दै सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताउनु भयो ।