काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको सुरु भएको छ । विश्वकै ठूलो अर्थतन्त्र र शक्तिशाली देशको राष्ट्रपतिले संसारभरि प्रभाव पर्छ । त्यसमाथि ट्रम्प मनमौजी, बेला बेला सनक देखाउने र सामान्यभन्दा फरक स्वभावका व्यक्ति छन् ।
यस्ता व्यक्तिले देशको बागडोर सम्हालेपछि उथलपुथल ल्याउने गरी के के गर्लान् भनेर अमेरिकामा मात्र नभएर संसारभर चासो र चिन्ता छ । अमेरिकाका प्रतिस्पर्धी र शत्रुराष्ट्र मात्र होइन, मित्रराष्ट्र पनि उत्तिकै सशंकित छन् ।
ट्रम्पले उद्घोष गरेका १० महत्वपूर्ण एजेन्डा
१. अमेरिकाको स्वर्ण युग
ट्रम्पले आफ्नो भाषणको सुरुवात आशा जगाउने कुरा गरे । उनले अमेरिका स्वर्ण युगमा प्रवेश गरेका बताए । उनले भने, ‘अहिलेबाटै अमेरिकाको स्वर्ण युग सुरु हुन्छ, आजका दिनदेखि हाम्रो देश फस्टाउने छ र सम्मानित हुने छ ।’
२. डब्ल्यूएचओबाट ‘आउट’
राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई बाहिर निकाल्ने प्रक्रिया शुरू गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । पहिलो कार्यकालमा पनि डब्ल्यूएचओसँग रुष्ट बनेर अमेरिकालाई बाहिर निकाल्ने घोषणा गरेका ट्रम्पले दोस्रो कार्यकालको शुरुआतकै दिन फेरि बाहिरिने घोषणा गरेका छन् ।
अरू देशहरूको तुलनामा अमेरिकाले डब्ल्यूएचओका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको भनाइ छ । अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाता हो । सन् २०२३ मा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनको बजेटको २० प्रतिशत अर्थात् १ अर्ब ३६ करोड डलर सहयोग गरेको थियो ।
अमेरिकाले वर्षेनि डब्ल्यूएचओको बजेटको १५ देखि २० प्रतिशत हिस्सा सहयोग गर्दै आएको छ । अमेरिकाले विभिन्न स्वास्थ्य कार्यक्रम, अनुसन्धान र आपत्कालीन प्रतिक्रियामा पनि सहयोग गर्दै आएको छ ।
३. सीमाक्षेत्रमा सङ्कटकाल
ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् । उनले सबै गैरकानूनी प्रवेश बन्द गरेर लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने घोषणा गरेका हुन् ।
ट्रम्पले दक्षिणी सिमानामा सेना पठाउने बताएका छन् । उनले जन्मसिद्ध नागरिकताको परिभाषालाई सम्बोधन गर्ने आदेशदेखि अमेरिका–मेक्सिको सीमामा कडाइ गर्ने आफ्नो प्रतिबद्धतामा यो कदम चलाएका हुन् । ट्रम्पले कार्यकारी आदेश जारी गरेर सिमाक्षेत्रमा आप्रवासीलाई समात्ने र छोड्ने नीतिको अन्त्य गर्ने बताएका छन् ।
४. जन्मेको आधारमा नागरिकता अन्त्य
ट्रम्पले देशमा जन्मेका आधारमा पाइने नागरिकता अन्त्य गर्ने दिशामा कदम चालेका छन् । ट्रम्पले संघीय एजेन्सीहरूलाई जसका आमाबाबु गैरकानुनी आप्रवासी छन् वा अस्थायी भिसामा अमेरिकामा बसिरहेका छन्, उनीहरूका सन्तानको जन्ममा आधारित नागरिकता स्वीकार नगर्न आदेश दिएका छन् ।
यो आदेश पालना गर्न ३० दिनको समय दिइएको छ । तर, यो विषयमा कानुनी चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औँ संशोधनको लामो समयदेखिको व्याख्या हो । ट्रम्पको नयाँ कदमलाई त्यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ ।
५. पानमा नहरलाई लिएर चीनमाथि आरोप
डोनाल्ड ट्रम्पले पानमा नहरलाई ‘एक मूर्ख उपहार’ भनेका छन् । पनामा नहर चीनले सञ्चालन गरिरहेको दाबी उनको थियो । उनले भने, ‘हामीले यो चीनलाई दिएका थिएनौं । हामी यसलाई फिर्ता लिनेछौं ।’
भाषणको क्रममा उनले यसो भनिरहँदा उनका समर्थकहरू ताली बजाइरहेका थिए, बाइडेन र कमला ह्यारिस कुनै प्रतिक्रिया नदिई मौन थिए । गत महिना डोनाल्ड ट्रम्पले पानमा नहरको शुल्क घटाउन वा यसको नियन्त्रण अमेरिकालाई फिर्ता गर्न आग्रह गरेका थिए ।
ट्रम्पले भनेका थिए- ‘पानमा नहर चीनका लागि होइन । यो नहर गलत हातमा गएको छ ।’ जवाफमा पानमाका राष्ट्रपतिले नहरमा चीनको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण नरहेको स्पष्ट पारेका थिए ।
६. अन्तरिक्ष यात्रीलाई मंगल ग्रह पठाउने
आफ्नो भाषणमा डोनाल्ड ट्रम्पले अमेरिकालाई नयाँ उचाइमा पु¥याउने र ठूला सफलता दिलाउने बताए ।
अमेरिकाले आफ्नो सम्पत्ति बढाउने, आफ्नो क्षेत्र विस्तार गर्ने र मंगल ग्रहमा आफ्नो झण्डा फहराउने दाबी ट्रम्पले गरेका थिए । उनले भने, ‘हामी ताराहरूतर्फ अघि बढ्नेछौं र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउनेछौं ।’
७. मध्यपूर्वमा शान्ति
डोनाल्ड ट्रम्पले आफू मध्यपूर्वमा शान्ति ल्याउने र सबैलाई एकताबद्ध गर्ने नेता हुने बताए । उनले गाजामा हमासद्वारा बन्धक बनाइएका तीन इजरायली बन्धकहरूको उल्लेख गरे । आइतबार ती बन्धकहरूले आफ्ना परिवारलाई भेटेका
थिए ।
उनले भने, ‘अमेरिकाले विश्वको सबैभन्दा महान, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रको रूपमा आफ्नो उचित स्थान पुनः प्राप्त गर्नेछ । हाम्रो देशले सम्पूर्ण विश्वलाई प्रेरणा दिनेछ र प्रशंसाको केन्द्र बन्नेछ ।’
८. दुई लिङ्ग मात्र हुने
डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा उनको सरकारले सार्वजनिक र निजी जीवनको हरेक पक्षमा जात र लिङ्गलाई समावेश गर्ने वर्तमान नीतिलाई अन्त्य गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले घोषणा गरे- ‘आजदेखि अमेरिकी सरकारको आधिकारिक नीति यो हुनेछ कि दुई लिङ्ग मात्र हुनेछन्– पुरुष र महिला ।’ आफ्नो भाषणमा डोनाल्ड ट्रम्पले बाइडेन प्रशासन र आप्रवासन संकट व्यवस्थापनको कडा आलोचना गरेका थिए ।
९. जलवायु सम्झौताबाट अलग
ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग राख्ने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन् । उनले यो सहमति अमेरिकी नागरिकको हितमा नरहेको बताउदै आएका थिए ।
योसँगै अमेरिकासहित इरान, लिबिया र यमन पेरिस सम्झौताबाट बाहिर हुने देश बनेका छन् । यस सम्झौता अनुसार जलवायु परिवर्तनको सबैभन्दा नराम्रो प्रभावबाट बच्न सरकारहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियस (२.७ डिग्री फरेनहाइट) मा सीमित गर्न सहमति जनाएका थिए ।
१०. मृत्युदण्डलाई पुनःबहाली
ट्रम्पले निष्पक्ष न्याय सुनिश्चित गर्ने र अमेरिकामा मृत्युदण्डलाई पुनःबहाली गर्ने हुनुभएको छ । यस्तै सबै प्रकारका सेन्सरशिप अन्त्य र अमेरिकाको सार्वभौमिकता कायम राख्ने विषयमा समेत उनले कार्यकारी आदेश जारी गरेका छन् ।