साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा नयाँ पुस्तक

साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा नयाँ पुस्तक लिएर आएका छन् । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरेका हुन् । स्याङ्जाको फेदीखोला–१ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।

अमोर सेवा नेपालले अभिभावक विहीन बालबालिकालाई आश्रय दिँदै आएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको जनाए । अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरे ।

‘साइकल’ सुरजको तेस्रो कृति हो । यसअघि उनको एक गजल सङ्ग्रह र चिल उड्यो आकाशमा बाल कविता सङ्ग्रह प्रकाशन भइसकेका छन् । बाल मनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत चेतना पनि सँगसँगै भर्छन् ।