स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

एजेन्सी

स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३-२ ले पराजित हुँदै बार्सिलोना समग्रमा ४-३ गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो ।

यसअघि पहिलो लेगमा फ्रान्कफुर्टसँग १-१ गोलको बराबरी खेलेको बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा हार व्यहोर्दै बाहिरिएको हो।

फ्रान्कफुर्टलाई जिताउन फिलिप कोस्टिकले दुई गोल गर्दा राफेल सान्तोसले एक गोल थपे।

बार्सिलोनाका सर्जियो बुस्केट्स र मेम्फिस डिपेले एक एक गोल फर्काए पनि हार टार्न सकेनन्।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा खेलको चौंथो मिनेटमै फ्रान्कफुर्टले अग्रता लियो। फिलिपले पेनाल्टीबाट गोल गर्दै पाहुना टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।

३६ औं मिनेटमा राफेलले गोल गर्दै फ्रान्कफुर्टको अग्रता पहिलो हाफमा दोब्बर पारे।

यस्तै खेलको ६७ औं मिनेटमा फिलिपले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्कफुर्टले ३-० को आरामदायी अग्रता बनायो।

तर खेलको इन्जुरी समयमा बार्सिलोनाले दुई गोल फर्कायो। १२ मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिस गरे।

यस्तै खेलको दशौं मिनेटमा इभानले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो।

त्यसपछि बार्सिलोनाका डिपेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याए।  त्यसपछि गोल हुन नसक्दा बार्सिलोना पराजित भयो।