‘ज्वरो आयो ? टाइफाइड होला !’ यो हाम्रो समुदायमा प्रयोग हुने प्रचलित वाक्य हो। यसबाट नेपालमा टाइफाइडको समस्या/प्रभाव कति व्यापक छ/रहेछ भनेर अनुमान गर्न सकिन्छ।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको पछिल्लो पाँच वर्षको तथ्यांक केलाउँदा धेरै बिरामी अस्पताल भर्ना गराउने कारक संक्रामक रोगमा टाइफाइडले पाँचौं स्थान ओगटेको देखिन्छ।
टाइफाइड लागेपछि स्वास्थ्यमा समस्या, आर्थिक भार तथा उपचारमा ढिला भए बिरामीको ज्यानै जान सक्ने सम्भावना हुन्छ।
‘उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम’ भने झैं खोपले बालबालिकामा टाइफाइड उल्लेखनीय संख्यामा घटाउन सक्ने केही समय अगाडि नेपालमा गरेको अनुसन्धानले देखाएको छ।
विश्व स्वास्थ्य संगठनको विज्ञ सल्लाहकार समूहले सन् २०१७ को अक्टोबर महिनामा टाइफाइड कन्जुगेटेड भ्याक्सिन (टिसिभी) को प्रयोग छ महिना माथिका बालबालिकामा (१५ वर्षसम्म) गर्न सिफारिस गरेको थियो।
नेपालमा पहिलो पटक चैत २५ देखि वैशाख १८ (वि.सं २०७९) गते सम्ममा १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरूद्ध खोपको एक मात्रा डोज दिने निर्णय गरेको छ।
टाइफाइडले सबै उमेर समूहलाई प्रभावित पार्ने गर्दछ। यसमा बालबालिकाको संख्या पनि उल्लेखनीय छ। बालबालिकामा पनि विशेषत: विद्यालय जाने उमेरकाहरू बढी प्रभावित हुने गरेको नेपालमा गरिएका विभिन्न अनुसन्धानहरूले देखाउँछन्।
नेपालमा गरिएको एक अनुसन्धानका अनुसार टाइफाइड संक्रमित बालबालिकाहरूमध्ये ८१ प्रतिशत विद्यालय जाने उमेरकाहरू थिए। संक्रमितहरूमा क्रमश: ज्वरो आउने, टाउको दुख्ने, खानामा अरूचि देखिने, खोकी लाग्ने, पेट दुख्ने, जिउ दुख्ने, पातलो दिसा लाग्ने जस्ता लक्षणहरू देखिएका थिए।
झन्डै ८० प्रतिशत संक्रमितमा कलेजोको आकार बढेको पाइयो भने फियो पनि बढेको देखियो। तर मृत्यु भने शून्य थियो। बालबालिकामा संक्रमण असार/साउन तथा कात्तिक/मंसिर गरी वर्षमा दुई पटक बढी मात्रामा देखिने गरेको धुलिखेल अस्पतालमा गरेको ‘जर्नल अफ नेपाल पेडियाट्रिक सोसाइटी’ मा प्रकाशित अनुसन्धानले देखाएको थियो।
टाइफाइड ‘सल्मोनेला एन्टेरिका सेरोभार टाइफी’ अर्थात् ‘सल्मोनेला टाइफी’ ब्याक्टेरियाको कारणले हुने गर्दछ। यसलाई म्यादे ज्वरो पनि भन्ने गरिन्छ। लक्षणहरू सामान्यतया एकदेखि तीन हप्तासम्म रहने गर्दछ।
यसले विशेषत: सानो आन्द्रामा असर पार्ने र समयमा उपचार नगरे आन्द्रामा नै प्वाल पार्ने हुन्छ। र त्यस्तै अरू विभिन्न अंगहरूमा पनि जटिलता देखिन सक्छ। जटिल अवस्था सृजना भएर अस्पताल भर्ना भएका मध्येमा अनुमानित १ देखि ५ प्रतिशतको मृत्यु हुने गर्दछ। संक्रमितमध्येमा सानो समूहको पित्तथैलीमा यो ब्याक्टेरिया दीर्घकालीन रूपमा रहने गर्दछ जसलाई ‘क्यारियर’ पनि भन्ने गरिन्छ।
टाइफाइड ‘सल्मोनेला टाइफी’ ब्याक्टेरिया संक्रमित खाना तथा पानीबाट सर्ने गर्दछ। हाल मानिसहरूमा सफा र सुरक्षित पानीप्रति सजक भएको देखिन्छ। तर स्कुले विद्यार्थी विद्यालय जाँदा र फर्कंदा बाटोमा राखिएका खानेकुराप्रति आकर्षित हुने गरेको देखिन्छ।
घर तथा विद्यालयमा सफा खानेपानी र ताजा खानेकुरामा ध्यान दिने गरेको भएता पनि विशेषत घर फर्कंदा बाटोमा राखिएका खानेकुरा अर्थात् ‘स्ट्रिट फूड’ खाने गरेको पाइन्छ।
सबै ‘स्ट्रिट फूड’ स्वास्थ्यको दृष्टिले सुरक्षित नै हुन्छ भन्ने हुँदैन। यस्ता असुरक्षित खानेकुराबाट टाइफाइडको संक्रमण फैलन सक्छ। घरमै पनि हामीले प्रयोग गर्ने पानीमा टाइफाइडको संक्रमण हुनसक्छ।
आज भोलि धेरैको घर वा कार्यालयमा बजारबाट किनेर ल्याएको पानी प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ र तीमध्ये कतिपय पानी सुरक्षित नभएको/नहुने बेलाबखतमा सम्बन्धित निकायले छड्के परीक्षण गर्दाको नतिजाबाट पनि स्पष्ट हुन्छ। बाध्यता वा सहजताको कारणले व्यवसायिक पानीको बढ्दो प्रयोगले टाइफाइडको जोखिम पनि बढ्दै गइरहेको देखिन्छ।
आजभोलि एन्टिबायोटिकको सहज पहुँचले गर्दा जथाभावी तथा अनावश्यक प्रयोग बढ्दै गइरहेको छ। यसले गर्दा ‘ड्रग वा एन्टिबायोटिक रेसिस्टेन्स’ को समस्या विकराल हुँदै गएको विभिन्न अनुसन्धानले देखाएका छन्।
यो समस्या २१ औ शताब्दीको मुख्य चुनौतीको रूपमा खडा भएको छ भन्दा अत्युक्ति नहोला। टाइफाइडले आफूलाई हाल उपलब्ध एन्टिबायोटिकविरूद्ध सबल बनाउँदै लगेको देखिन्छ।
चिकित्सा पेशा सुरू गरेदेखि अहिलेसम्मको अवस्थालाई आफूले हेर्दा टाइफाइडविरूद्ध प्रयोग हुने कम्तीमा छ प्रकारका एन्टिबायोटिक परिवर्तन भैसकेका छन्। तर कुनै नयाँ औषधीको विकास गरेर प्रयोगमा ल्याउन भने वर्षौं लाग्ने गर्दछ। तसर्थ, यो अवस्थाले निरन्तरता पाए भविष्यमा टाइफाइडको उपचारमा ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। तर टाइफाइडविरूद्धको खोप लगाउन सके भने बर्सेनि देखिने टाइफाइडको संख्या घट्ने र फलस्वरूप जथाभावी र अनावश्यक एन्टिबायोटिकको प्रयोगमा स्वतः कमी आउने छ।
टाइफाइड कन्जुगेटेड भ्याक्सिन (टिसिभी) को क्लिनिकल ट्रायल नेपालमा सन् २०१७/२०१८ मा भएको देखिन्छ। सो अनुसन्धानको नतिजा अनुसार नेपालमा भ्याक्सिनको प्रभावकारिता ८१ दशमलव ६ प्रतिशत थियो।
खोप लगाएको पहिलो हप्तामा, खोप लगाएको भागमा सामान्य दुखाइ हुने (५% मा ), हल्का ज्वरो आउने (५% मा ), बान्ता हुने (१% मा), पखाला लाग्ने(२% मा) र खाना अरूचि (२% मा) हुने जस्ता थिए। खोप लगाएको दुई वर्षमा यो खोपको प्रभावकारिता ७९ प्रतिशत देखिएको थियो। अर्थात्, छोटकरीमा भन्नुपर्दा यो खोप सुरक्षित र प्रभावकारी देखिएको छ। यो अनुसन्धानमा नौ महिनादेखि १६ वर्ष सम्मका नेपाली बालबालिकाहरूलाई समावेश गरिएका थिए।
अन्तमा, टाइफाइडको मुख्य स्रोत संक्रमित खाना र पानी हो। तर, विशेषत विद्यालय जाने बालबालिकालाई बाटोमा राखिएका खानेकुरा अर्थात् ‘स्ट्रिट फूड’ खानबाट रोक्न व्यावहारिक रूपमा सहज देखिँदैन। त्यस्तै, एन्टिबायोटिकको सहज उपलब्धता तथा जथाभावी प्रयोगले गर्दा यसको क्षमतामा पनि तीव्र गतिमा ह्रास देखिँदै गइरहेको विभिन्न अनुसन्धानबाट देखिन्छ।
तसर्थ, यी र यस्ता समस्याको सम्बोधन गर्दै टाइफाइडको विकराल समस्यालाई कम गर्न खोप उपयुक्त विकल्प हुनसक्छ।
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)
सेतोपाटीबाट