Breaking News

सरकारले जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने निर्णय

३ माघ, काठमाडौं । सरकारले जारी गरेका अध्यादेशविरुद्ध विपक्षी दलहरुले कडा रुपमा प्रस्तुत हुने निर्णय गरेका छन् ।

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले शुक्रबार एक वक्तव्य निकाल्ने तयारी गरेका छन्, जहाँ बहुमतको बलमा विपक्षीलाई पेल्न खोजिएको भन्दै अध्यादेश खारेज गर्न माग गर्ने भनिएको छ ।

भोली शुक्रबार दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बैठक बस्ने र दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै ती दलहरुले विरोध गरेका छन् । बुधबार संयुक्त बैठक गर्दै दलहरुले संविधानको मर्म भावनामा प्रहार गर्ने काम भइरहेको निर्णय गरेका थिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले यो साता गरेका सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशका रुपमा जारी गरिसकेका छन्, जसबारे विपक्षी दलहरुको कडा प्रतिक्रिया सार्वजनिक हुन लागेको हो ।