प्रधानमन्त्रीज्यू कुन बिकल्प रोज्नु हुन्छ सुधारिने की, राजीनामा ?

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी विरोध र पार्टीभित्रबाटै आफूलाई हटाउनेसम्मको अवस्था आएपछि अध्यादेश फिर्ता लिए । तैपनि अझै उनी पार्टीभित्रको शक्ति सन्तुलनमा ‘सुरक्षित जोनमा’ छैनन् ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिए पनि स्थायी कमिटी बैठकको माग फिर्ता भएको छैन । बैठक माग गर्ने नेताहरुले प्रधानमन्त्रीको नैतिकतामाथि नै प्रश्न उठाइसकेका छन् । सत्तापक्षबाटै प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्नु सामान्य परिस्थिति होइन ।
वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बिहीबार साँझ बसेको सचिवालयका ६ जना नेताहरुको अनौपचारिक बैठकले अध्यादेश फिर्ता नभए शनिबारै स्थायी कमिटी बैठक बोलाएर ओलीलाई अप्ठेरोमा पार्ने निर्णय गरिसकेको थियो । यो भनेको ओलीलाई संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाटै हटाउनेसम्मको तयारी थियोे । यो बुझेरै प्रधानमन्त्रीले शुक्रबार बिहान मन्त्रिपरिषदको बैठक राखेर अध्यादेश फिर्ता लिए ।
‘मेरो असल मनसाय थियो, साथीहरूले बुझेनन्’
दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिबाट खारेज
प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएलगत्तै राजनीतिक विवाद साम्य भइसकेको देखाउन शुक्रबार बालुवाटारमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफल गरे । त्यसलगत्तै देउवासँगै नेकपा अध्यक्ष प्रचण्डलाई पनि राखेर कुराकानी गरे ।
तर, बालुवाटारबाट शीर्षनेताको मुस्कानसहितको बैठकको फोटो सार्वजनिक हुँदै गर्दा नेकपाका स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टीको बैठक बोलाएर पछिल्लो अवस्थाबारे छलफल हुनुपर्ने माग दोर्होयाएका छन् ।
प्रधानमन्त्री ओलीको स्वभावअनुसार हो भने उनले अध्यादेश यति सरक्कै फिर्ता लिने नै थिएनन् । एकदिन अगाडिसम्म सांसदहरुसँग प्रचण्डलाई छेउमै राखेर अध्यादेशको औचित्य पुष्टि गर्न खोजिरहेका प्रधानमन्त्री भोलिपल्टै गल्नु भनेको उनीमाथि अब नैतिक संकट उत्पन्न भएको संकेत हो ।
पार्टीभित्र र बाहिरबाट पनि ओलीलाई पदमा बसिरहनका लागि अब नैतिक प्रश्न उब्जेको छ ।
केपी ओली आफ्नै एकलकाँटे र दम्भी स्वाभावका कारण पार्टी्भित्र पहिले नै अल्पमतमा परिसकेका थिए । उनी एक वर्षअघि नै सचिवालयमा अल्पमतमा परिसकेका थिए । त्यसबेलै वामदेव गौतम लगायतका केही नेताले प्रधानमन्त्रीलाई हटाउनुपर्ने विचार राखिसकेका थिए । तर, त्यसबेला माधव नेपालले राजनीतिक अस्थिरताको कारक नबन्ने भन्दै दुईपटकसम्म प्रधानमन्त्रीलाई साथ दिए । तथापि, नेपालमाथि ओलीको पेलानले सीमा नाघेको थियो । तर, आफूमाथि जति नै पेलान भए पनि नेता नेपालले ओलीको कुर्सी जोगाइदिएकै हुन् ।
गणितीय हिसाबले ओली नेकपाभित्र सबै कमिटीमा पहिले नै अल्पमतमा परिसकेका हुन् । पार्टी एकीकरणपछि प्रचण्डसँग मिलेर निश्चित अवधिसम्म उनले माधव नेपाललाई किनारामा पारेका पनि हुन् । तर, प्रचण्ड सबैतिर मिल्ने आफ्नो स्वभावअनुसार त्यसबेला पूर्वएमालेभित्र दुवैसमूहसँग समदूरीमै रहे ।

तर, पछिल्लो समयमा ओलीको हेपाहा कार्यशैलीबाट बिच्किएका प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसँग बलियो गठबन्धन बनाए ।
माधव नेपाल वा प्रचण्डमध्ये एकजनाको साथ लिएर अर्कोलाई भित्तामा धकेल्ने षडन्त्रकारी व्यवहारबाट माथि उठेनन् भने केपी शर्मा ओलीलाई इतिहासले ‘राजनेता’ होइन, ‘गुटनेता’ का रुपमा चिन्ने खतरा छ ।
पटक–पटक छलफल र सहमति गरे पनि ओलीबाट कुनै सहमति पालना नभएपछि हैरान भएर प्रचण्डले पूर्वएमालेको एउटा समूहको साथ लिएर ओलीसँग दूरी बढाउँदै लगे । आलोपालो प्रधानमन्त्रीबाट पछि हट्दा पनि प्रचण्डले ओली समूहको पेलान कम भएको महसुस गरेनन् ।
सभामुख चयनदेखि राष्ट्रियसभामा बामदेव गौतमको मनोनयनका लागि सिफारिस गर्नेसम्मको निर्णयमा प्रधानमन्त्री ओली निरीह भएकै हुन् । तर, यसबीचमा कोरोना संकटका कारण उनलाई केही राहत भएको थियो ।
तर, कोरोनाविरुद्ध लड्न सिंगो देशलाई एकजुट बनाएर लैजानुपर्ने बेला उनले आफ्नै पार्टी, विपक्षी र आम जनतालाई बिच्क्याउने खालका निर्णय प्रधानमन्त्रीले जारी राखे । त्यसैको उत्कर्ष अध्यादेश प्रकरण थियो ।
अति भएपछि खति हुन्छ भन्ने नेपाली आहान छ । ओलीले अति गरेपछि अब नेकपाभित्र उनलाई हटाउनेसम्मको तयारी हुन थालेको छ । अहिले एक कदम पछि हटे पनि ओलीप्रति नेताहरुको विश्वास टुटिसकेको छ । नेताको मात्र होइन, कार्यकर्ता र जनतामा पनि उनीप्रतिको विश्वास दिन प्रतिदिन टुट्दै जान थालेको छ ।
अब प्रधानमन्त्री ओली सामु सीमित विकल्प छन् ।
त्यो भनेको अहिलेसम्म जे–जे भयो, अब पार्टीको निर्णय र निर्देशन विपरीत केही पनि काम गर्दिनँ भनेर उनले व्यवहारबाटै पुष्टि गर्नुपर्नेछ । त्यो पनि उनले भनेकै भरमा पत्याउने अवस्थामा नेताहरु छैनन् ।
स्थायी कमिटी बैठकमा उनको राजीनामा माग्ने तयारी छ । राजिनामा नदिए पार्टीले हटाउनुपर्छ भन्नेसम्मका आवाज उठ्न थालेका छन् । पार्टीले संसदीय दलको नेताबाट हटाएको अवस्थामा पार्टी फुटाउने ताकत र मत पनि अब उनीसँग छैन । संसदीय दलमा ४० प्रतिशत देखाएर पार्टी फुटाउन पाइने अध्यादेश पनि खारेज भइसकेको छ ।
यसबीचमा ओलीले माधव नेपालसँग सघन संवाद चलाइरहेका छन् । तर, नेपालले पनि उनलाई विश्वास गरेका छैनन् । अब ओलीसँग उधारो होइन, हाताहातीमा मात्र सहमति हुने नेपाल पक्षको भनाइ छ । त्यो भनेको शक्ति बाँडफाँट नै हो । ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने माधव नेपाल निकट नेताहरुले बताइरहेका छन् ।
ओलीले त्यसमा सहमति नगरे बैठकमै माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउनेसम्मको तयारी भैसेपाटीको बैठकले गरेको नेताहरु बताउँछन् ।
अब प्रचण्ड र ओली पार्टी अध्यक्ष हुने अनि माधव नेपाललाई प्रधामन्त्री बनाउने प्रस्ताव सचिवालयबाट आयो भने के होला ? अनि, ओलीले पार्टी निर्णय नमान्दा उनलाई बहुमतले संसदीय दलको नेताबाट हटाउने अवस्था आयो भने ?
शायद, त्यसअघि नै प्रधानमन्त्री ओलीले माधव नेपालसँग शक्ति बाँडफाँटमा सहमति गर्ने एउटा विकल्प बाँकी रहने छ ।

प्रधानमन्त्रीले त्यसो गरे भने पूर्वएमाले एक हुने र प्रचण्ड कर्नरमा पर्न सक्ने ओली पक्षकै कतिपय नेताहरु बताउँछन् । पूर्वएमाले समूहका केही नेताहरु ओली र नेपाल मिल्नुपर्छ भनेर लागेको धेरै भइसक्यो । तर, त्यसका लागि ओलीले प्रधानमन्त्री वा अध्यक्ष, दुईमध्ये एक पद छाड्न तयार हुनुपर्छ, जुन उनी चाहँदैनन् ।
प्रचण्ड भने जुनसुकै बेला पनि माधव नेपाललाई प्रधानमन्त्री बनाउन तयार नै देखिन्छन् ।
प्रचण्ड र माधव नेपाल दुवैजनाको अबको लक्ष्य नेकपाको महाधिवेशनबाट एकल अध्यक्ष बन्ने हो । त्यसैले नेपाल अहिले पनि प्रचण्डसँग मिलेर ओलीलाई फालिहाल्ने पक्षमा नउभिएका हुन सक्छन् । तर, ओलीले पेल्दै जाने र यसै गरी पार्टीमा बद्नामी पनि थपिँदै जाने अवस्था आयो भने माधव नेपालले प्रचण्डसँग मिलेर निर्णायक कदम चाल्ने ठाउँमा पुग्न सक्छन् ।
उसै पनि माधव नेपालमाथि उनीनिकट नेताहरुको तीब्र दबाव छ । अब बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि थप दबाव बढाउने निश्चित छ ।
तत्कालै प्रचण्ड र माधव नेपालहरुले ओलीलाई हटाउने तहमा नपुगे पनि ओलीले व्यवहारबाटै पार्टी निर्णय मान्ने पुष्टि नगरेमा उनको कुर्सीको आयु छोटिने निश्चत छ ।
त्यसअघि नै केही राम्रा काम गरेर छवि सुधार्ने र पार्टीमा प्रचण्डको पकड कमजोर बनाउन माधव नेपाललाई अघि सारेनन् भने नेकपाले ओलीका विकल्प खोज्ने निश्चित
छ ।
तर, फेरि पनि माधव नेपाल वा प्रचण्डमध्ये एकजनाको साथ लिएर अर्कोलाई भित्तामा धकेल्ने षडन्त्रकारी व्यवहारबाट माथि उठेनन् भने केपी शर्मा ओलीलाई इतिहासले ‘राजनेता’ होइन, ‘गुटनेता’का रुपमा चिन्ने खतरा छ ।
कामना गरौं, इतिहासले दिएको राजनेता बन्ने अवसर ओलीले धुलिसात् नपारुन् ।
समाचार अनलाइन खबरबाट