चेल्सीलाई सडनडेथमा हराउँदै लिभरपुलले कारवाओ कप अर्थात इएफएल कपको उपाधि जितेको छ। लिभरपुलले चेल्सीमाथि सडन डेथमा ११–१० गोल अन्तरले हराउँदै कारवाओ कपको च्याम्पियन बनेको हो।
निर्धारित समय र थप गरिएको समयमा कुनै गोल नभए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि बराबरीपछि भएपछि खेल सडनडेथमा लम्बिँदा अन्तिम प्रहारमा किपा एरिजावालगा चुक्दा लिभरपुलले बाजी मार्यो।
वेम्वली स्टेडियममा आइतबार राति भएको रोमाञ्चक खेलमा दुवै टोलीले पाएका केही अवसर खेर फालेका थिए। टाइब्रेकरमा लिभरपुलका सबै ११ खेलाडीले गोल गरे भने चेल्सीले अन्तिम पेनाल्टी चुकायो।
लिभरपुलका जेम्स मिल्नर, फाविन्हो, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, मोहम्मद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्ड्रिउ रोबर्टसन, हार्भे इलिओट, इब्राहिमा कोनाट र काओइम केलेहेरले गोल गरे।
चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काई हाभर्टज, रिस जेम्स, जर्गिन्हो, एन्टेनियो रुडिगर, एङ्गोलो कान्टे, टिमो वेर्नर, थियागो सिल्भा र ट्रिभो चलोवाह गोल गर्दा अन्तिम पेनाल्टीमा गोलरक्षक किपा एरिजावालगा चुकेका थिए।
च्याम्पियन बनेसँगै लिभरपुल कारवाओ कप सर्वाधिक जित्ने टोली बनेको छ। लिभरपुलले ९ पटक तथा म्यानचेस्टर सिटीले ८ पटक उपाधि जितेको छ।