श्रीलंकाविरुद्धको टी–२० सिरिज पनि भारतले क्लिनस्वीप गरेको छ। गएराति भएको अन्तिम तथा तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले ३ खेलको सिरिज ३–० ले क्लिनस्वीप गरेको हो।
भारतले केही दिनअघि घरेलु मैदानमावेष्ट इण्डिजविरुद्धको टी–२० श्रृंखला पनि क्लिनस्वीप गरेको थियो ।
१ सय ४७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। भारतको सहज जितमा श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए। ४५ बलमा ९ चौका र १ छक्का प्रहार गरेका उनी अविजित रहे।
ऐरको यो लगातार तेस्रो अर्धशतक हो । यसअघि दोस्रो खेलमा ७४ रन र पहिलो खेलमा ५४ रनको अविजित इनिङ खेलेका थिए। तीनै खेलमा ऐरले अविजित अर्धशतकीय इनिङ खेलेका हुन्। लगातार तीन खेलमा अर्धशतकीय पारी खेलेका उनले सिरिजमा कुल २०४ रन बनाए।
यस्तै रविन्द्र जडेजा २२ रनमा अविजित रहँदा दीपक हुडा २१ तथा ओपनर सन्जु स्यामसनले १८ रन जोडे। कप्तान रोहित शर्मा र वेंकटेश ऐर समान ५-५ रन बनाएर आउट भए।
श्रीलंकाका लाहिरू कुमाराले सर्वाधिक दुई विकेट लिए। दुश्मन्था चामिरा र चामिका करुणारत्नेले १–१ विकेट लिए ।
त्यसअघि धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। श्रीलंकाका लागि कप्तान दसुन शनकाले सर्वाधिक ७४ रन बनाए। ३८ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गर्दै अविजित रहे। दिनेश चण्डिमालले २२ रन जोड्दा चामिका करूणारत्नेले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारले श्रीलंकालाई अतरिक्त २४ रन दिएको थियो।
भारतका आवेश खानले २ तथा मोहम्मद सिराज, हर्षल पटेल र रवि विश्रोईले १–१ विकेट लिए ।
तीन टी २० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा भारत ६२ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो।
भारत र श्रीलंकाबीच थप दुई टेस्टको सिरिज हुनेछ। पहिलो टेस्ट ४ मार्चदेखि मोहालीमा हुनेछ।