नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ६ विकेटले पराजित

३ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको
छ ।

यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ ।

शनिबार नै हुनुपर्ने पुलिस र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाका कारण स्थगित गरेर आज खेलाइएको हो ।

कुशल भुर्तेलले ४४ रन बनाएपछि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य पुलिसले १३.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । भुर्तेलले २८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्र सिंह भरीले १३ बलमा २० रन योगदान गरे । अनिल शाहले २४ बलमा अविजित २० रन बनाए । आरिफ शेखले ४ बल खेल्दै २ चौका प्रहार गरेर १० रनमा अविजित रहे । प्रदेश १ का फिर्दोस अन्सारी, दिपेश कँडेल, मुकुन्द यादव र मनोज तामाङले १-१ विकेट लिए ।

त्यसअघि टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । ओपनर मिनास थापाले अर्धशतक बनाएपनि अन्य खेलाडीले गतिलो साथ नदिँदा प्रदेश १ ले ठूलो स्कोर बनाउन सकेन ।

मिनासले ५९ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५९ रन नै बनाए । श्रवण यादवले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपाल पुलिसका आरिफ शेखले ३ ओभरमा २ मेडन राख्दै ३ रन मात्र खर्चेर २ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरी र कप्तान मन्जित श्रेष्ठले पनि २-२ विकेट लिए । ३ ओभर बलिङ गर्दा दीपेन्द्रले ८ र मन्जितले २० रन खर्चिए । यस्तै करण केसी र यसै खेलमार्फत मैदान फर्केका सागर ढकालले समान १ विकेट लिए ।

प्रतियोगिताको दुवै सेमिफाइनल मंगलबार हुनेछ । जहाँ नेपाल पुलिसले बागमती प्रदेश र आर्मीले एपीएफसँग खेल्नेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।