नेप्सेको निलम्बन सूचीमा ३४ कम्पनी, सर्वसाधारणको खर्बाै रकम बन्धक

१५ मंसिर, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत वर्ष २०७७ असोज ६ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । समाज लघुवित्तले सर्वसाधारणको लागि आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाइ यस संस्थाले स्वस्तिसँग मर्जर सम्झौता गरेको थियो ।

अर्थात यहाँ सर्वसाधारणको समेत लगानी थियो । सूचीकृत हुने वित्तिकै मर्जर सम्झौता भएकाले नेपाल स्टक एक्सचेञ्जले समाजको शेयर कारोबार बन्द गरिदियो । स्वस्तिकले भने सर्वसाधारणका लागि शेयर जारी गरेको थिएन । समय वित्दै जादा यी दुई कम्पनीहरूबीच मनमुटाव भयो अनि मर्जर भाडियो ।

लामो समय मर्जर सफल हुन नसक्दा यस कम्पनीमा लगानीकर्ताहरुको पुँजी भने बन्धक भएर बस्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिले पनि समाज लघुवित्तको शेयर कारोबार बन्द नै रहेको छ । मर्जर सम्पन्न भएपछिमात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ ।

मर्जर सम्झौता भएपछि शेयर मूल्यमा चलखेल हुनसक्ने सम्भावना हुन्छ । यसकारण पनि मर्जर सम्झौता भए लगत्तै नेप्सेलाई कम्पनीले जानकारी गराउनु पर्ने र सूचीकृत शेयरको सबै कारोबार रोक्का हुने व्यवस्था छ । कम्पनीका सञ्चालकहरूको आन्तरिक कलहले गर्दा समाज र स्वस्तिकको मर्जर हुन सकेन जसको मारमा भने सर्वसाधारण लगानीकर्ता परे ।

तर यसरी सर्वसाधारणको रकम बन्धक बनाउने कम्पनी यो मात्रै भने होइन । समाजभन्दा धेरै ठूला कम्पनीहरूको कारोबार नेप्सेमा रोक्का छ, जसको कारण सर्वसाधारणहरुले खर्बौ रकम बन्धक भएर बसेको छ । दुई ठूला वाणिज्य बैंकका लगानीकर्ताहरु पनि यसरी नै फसकेका छन् । सार्वजनिक बिदा बाहेक आइतबारदेखि बिहीबारसम्म हरेक दिन शेयर बजार खुला हुन्छ ।

आफूसँग भएको शेयर बिक्री गरेर लगानीकर्ताले गर्जो टार्न सक्छन् । तर यसरी लामो समय कारोबार रोक्का हुँदा सर्वसाधराणहरू मारमा परेका छन् । त्यसको पछिल्लो उदाहरण बनेका छन्, नेपाल इन्भेष्टमेन्ट बैंक र शिमालयन बैंक । हिमालयन बैंकको बजार पुँजीकरण ५१ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्टको ६६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अर्थात यी दुई बैंकको मर्जरको काम अलपत्र पर्दा मात्रै एक खर्ब १७ अर्ब रुपैयाँभन्दा ठूलो पुँजी शेयर बजारमा बन्धक भएर बसेको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार नेप्सेमा ३४ कम्पनीहरुको शेयर कारोबार रोक्का रहेको छ । ३४ कम्पनीहरुमा दुई वाणिज्य बैंक, एउटा विकास बैंक, एउटा होटल, १३ उत्पादनमूलक कम्पनी, सात माइक्रोफाइनान्स कम्पनी, पाँच फाइनान्स कम्पनी, सात माइक्रोफाइनान्स कम्पनी, दुई हाइड्रोपावर, दुई व्यापार कम्पनी र एउटा अन्य कम्पनी रहेका छन् ।

शेयर कारोबार रोक्का हुनुको कारण भनेकेा प्रमुख दुई वटा मात्रै छन्, एउटा-मर्जर सम्झौता, दोस्रो-सूचीकरण शुल्क नबुझाउनु । कहिले काहीँ सूचीकरण नियमावली अनुसार काम नगर्ने कम्पनीहरुलाई स्पष्टिकरण सोधेर पनि नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ । तर यस्तो रोक्का भने लामो समयका लागि हुँदैन ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले सूचीकृरण नियमावली अनुसार वार्षिकरुपमा सूचीकरण शुल्क बुझाउनु पर्छ । ५० करोड रुपैयाँसम्म पुँजी भएकाहरूले ५० हजार र त्योभन्दा माथि भुक्ता पुँजी भएका कम्पनीहले वार्षिक एक लाख रुपैयाँ तिर्नु पर्ने व्यवस्था रहेको प्रवक्ता पराजुली बताउछन् । यो शुल्क ततिरेका कारण याक एण्ड यति, फिल्म डेभलपमेन्ट कम्पनीलगायतका शेयर कारोबार रोक्का राखिएका छन् ।

नेपाल फिल्म डेभलपमेन्ट कम्पनी भने टाट पल्टेको कम्पनी हो । टाट पल्टेर लगानी सबै डुबेपछि नेप्सेले कारोबार रोक्का राखिदिएको लामो समय भइसकेको छ । अर्को याक एण्ड यति होटलले पनि सूचीकरण शुल्क बुझाएको छैन । खासमा यो होटलले सूचीकरणबाट हट्न (डिलिस्टिङ हुन) खोजेको छ । अन्य केही कम्पनीहरुले यस्तो चाहेको प्रवक्ता पराजुली बताउँछन् । डिलिस्टिङ गर्दा अरु समस्या हुन सक्ने भएकाले कारोबार रोक्का राखिएको उनले बताए ।

यस अघि नेप्सेले विराटनगर जुट मिलको डिलिस्टिङ गरेको थियो । त्यसपछि कम्पनीले सम्पत्ति बिक्री मनपरी ढंगले गर्यो । अन्य कारोबारहरू पनि गर्‍यो । ‘डिलिस्टिङ’ गर्दा आफूखुसी काम कारबाही गर्ने मौका पाउँछन्, तर कारोबार नै रोक्का राखिदियो भने त्यो हुँदैन’ प्रवक्ता पराजुली भन्छन् ।

पुँजी चलायमान हुन दिनुपर्छ

नेप्सेमा सूचीकृत कम्पनीहरूले मर्जरका लागि ढिलाइ गर्दा लगानीकर्ताहरूले आफ्नो पुँजी परिचालन गर्न पाउँदैनन् । यसले व्यक्तिको पुँजी परिचालन क्षमता कमजोर हुनेमात्रै होइन बजारलाई समेत नकारात्मक असर गर्ने लगानीकर्ताहरू बताउँछन् ।

सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार भएर मर्जरमा गएका संस्थाहरूको कारोबार रोक्का गर्नु नै गलत भएको नेपाल इन्भेष्टर्स फोरमका महासचिव दुर्गात तिवारी बताउँछिन् ।

मर्जरका कारण आफ्नै सम्पत्ति समेत रोक्का भएको अनुभव सुनाउँदै महासचि तिवारी भन्छिन्, ‘तीन वटा माइक्रोफाइनान्समा मेरै पनि बन्धक भएको छ, शेयर किनबेच गर्न पाउने भए त्यो रकमले म केही न केही गरिसक्थे ।’ यसरी सर्वसाधारणको पुँजी बन्धक हुन नदिनका लागि मर्जर पक्का भएपछि केही समयका लागि मात्रै कारोबार रोक्का हुनुपर्ने उनको भनाइ छ । यो विषयमा धेरै पहिलेदेखि आफूले आवाज उठाइरहेको भएपनि माग पुूरा नभएको उनले बताइन् ।

उनका अनुसार पहिले पहिले यसरी कारोबार रोक्का गरिएको शेयर धितोमा ऋण समेत पाइँदैन थियो । त्यो भने अहिले सुधार भएर ऋण भने उपलब्ध हुने नीति छ । ‘ऋण उपब्लध हुने नीति त छ तर बैंकले तरलता समस्याका कारण ऋण दिन सक्दैनन्, पुँजी बन्धक भएर बसेको छ’ उनले भनिन् ।

अनलाइनखबरबाट