७ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण देखिएसँगै धेरै मुलुकले ‘लकडाउन’ को घोषणा गरेका छन् १९ औं शताब्दीको अन्तिमतिरबाट सुरु भएको यो शब्द पहिले ‘सटडाउन’ भन्ने अर्थ जनाउनको लागि प्रयोग गर्ने गरिन्थ्यो । सरकारकै अग्रसरतामा गरिने भएपनि कर्फ्यूभन्दा केही भिन्न प्रकृतिको लकडाउन भन्ने एकाएक शब्द विश्वभर प्रयोगमा आयो ।
भारतमा कसैले यसलाई घरबन्दी भन्ने गरेका छन्, कसैले तालाबन्दी, गृहसीमितता र सर्वत्रशून्यता भन्ने गरेका छन् । तर, भारतीय विद्वत वर्गले लकडाउनको हुबहु उल्था हुने शब्द भेटेका छैनन् किनकी न यो मौलिक शब्द हो न यसको हिन्दी अर्थ छ ।
नेपालमा पनि लकडाउनको सट्टा ‘बन्दाबन्दी’ शब्दको प्रयोग गर्नेहरू पनि छन् । सरकारका प्रवक्ता डा. युवराज खतिवडा पनि सार्वजनिक रुपमा लकडाउन शब्दको प्रयोग कमै मात्रामा गर्छन् । उनले बन्दाबन्दी भन्ने गरेका छन् ।
कोरोना भाइरसको महामारीसँगै लकडाउन मात्र होइन, सोसल डिस्टेन्सिङ, ह्युमन क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ जस्ता शब्दहरू धेरै प्रयोगमा आएका छन् ।
नेपाली शब्दकोशमा थपिने भए १२ शब्द
मानवशास्त्री डम्बर चेम्जोङका अनुसार नेपालमा पत्रकार कनकमणि दीक्षितले पहिलो पटक प्रयोग गरेका थिए बन्दाबन्दी शब्द । के अब यही बन्दाबन्दी शब्दले स्थान पाउँछ त नेपाली शब्दकोशमा ? बन्दाबन्दीले मात्रै लकडाउनको हुबहु अर्थ बोक्न नसक्ने प्रज्ञा–प्रतिष्ठानका अधिकारीहरू बताउँछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लकडाउन शब्दको अर्थ बन्दाबन्दीले नबोक्ने बताउँछन् । बन्दाबन्दीसँगै लकडाउन जस्ता केही प्राविधिक शब्दहरू शब्दकोशमा राख्ने तयारी भइरहेको उप्रेतीले अनलाइनखबरलाई बताए ।
‘बन्दाबन्दी शब्दले लकडाउनको अर्थ बोक्न सक्दैन । क्वारेन्टाइन शब्द अहिलेसम्म पशुहरूको लागि धेरै प्रयोग हुने गर्दथ्यो । अब यो मानिसको लागि पनि आयो । यसलाई पनि नेपालीकरण गर्न गाह्रो छ’ उनले भने, ‘त्यसैले केही प्राविधिक शब्दहरूलाई जस्ताको त्यस्तै राख्छौँ । नेपाली शब्द पनि शब्दकोशमा राखेर अर्थका लागि अँग्रेजी शब्दको अर्थ भएको ठाउँमा हेर्नुहोस् भनेर लेख्ने तयारी गरिरहेका छौँ ।
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी १२ शब्द थप गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
कुलपति उप्रेतीका अनुसार एक लाख वटाभन्दा धेरै शब्दसहित शब्दकोश पुनर्मुद्रणको तयारी भइरहेको छ । लकडाउन सकिए लगत्तै सो शब्दकोश मुद्रणमा जाने उप्रेतीले जानकारी दिए ।
उनका अनुसार लकडाउन, बन्दाबन्दी, सोसल डिस्टेन्सिङ, क्वारेन्टाइन वा ह्युमन क्वारेन्टाइन, कन्ट्याक ट्रेसिङ, पीपीई लगायतका १२ शब्दहरू प्रकाशोन्मुख रहेको प्रज्ञा बृहत् नेपाली शब्दकोशमा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए ।
अक्सफोर्डमा १४ शब्द थपिए, मेरियमको ऐतिहासिक नियम उल्टियो
कोरोना भाइरसका क्रममा प्रयोग भएका शब्दहरू नेपालका मात्र होइन, विश्वकै लागि नयाँ थियो । त्यसैले १० वर्षसम्म जनश्रुतीमा प्रयोग नभई शब्दकोशमा शब्द प्रयोग नगरिने मेरियम जस्ता शब्दकोशहरूले आफ्नै नियम तोडेका छन् र कोरोनाका क्रममा प्रयोग भएका शब्दलाई शब्दकोशमा भित्र्याउने भएका छन् । कारण हो, विश्वभरका मानिसहरूलाई चेतना फैलाउनु ।
मेरियम शब्दकोशको अनलाइन संस्करणमा जनचेतना फैलाउनकै लागि आफ्नो पूर्व्निर्धा्रित नियम तोडेर शब्दकोशमा यी शब्दहरू थप गरेको उल्लेख गरिएको छ ।
विश्व चर्चित अक्सफोर्ड डिक्सनरीमा कोभिड–१९ सम्बन्धी कुल १४ वटा शब्दहरू थप गरिएको छ । अक्सफोर्डको नियमअनुसार प्रत्येक वर्ष चौमासिक रुपमा अद्यावधिक गरिने शब्दकोश सन् २०२० को भने पहिलो चार महिनामा नै दुई पटक संशोधन भइसकेको छ । कोरोना भाइरसको प्रकोप बढेपछि जनवरी महिनामा नै यसमा केही शब्दहरू अद्यावधिक गरिएको थियो । मार्चमा पनि संशोधन भएर अक्सफोर्डले कोरोनासम्बन्धी १४ वटा शब्द थप गरेको छ ।
अक्सफोर्ड शब्दकोशमा थपिएका शब्दहरू स्– कोभिड–१९, सोसल डिस्टेन्सिङ, सेल्फ क्वारेन्टाइन, एल्बो बम्प, टु फ्याटन द कर्व, इन्फोडेमिक, पीपीई, आरनट, सेल्फ आइसोलेटेड, सेल्टर इन प्लेस, सोसल आइसोलेसन, डब्लूएफएच वा वर्क फ्रम होम आदि छन् ।
त्यस्तै, अर्काे चर्चित शब्दकोश मरियमले पनि कोभिड–१९ कै लागि आफ्नो पुरानो नियम उल्लङ्घन गरेको छ ।
मरियम शब्दकोशमा कुनै पनि शब्द उल्लेख गर्नका लागि १० वर्षसम्म जनश्रुतीमा उल्लेख भएको हुनुपर्ने नियम थियो । तर, पहिलो पटक सन् १९८४ मा तत्कालीन एड्स महामारीको समयमा उल्लङ्घन गरेको नियम दोस्रो पटक कोरोना भाइरसको महामारीको समयमा फेरि दोर्होयाइएको छ । यद्यपि सन् १९८४ मा एड्सको महामारी भएको बेलामा पनि यस्तै हठात् निर्णय गरिएको थियो ।
‘एक्वायर्ड इम्युनो डेफिसियन्सी सिन्ड्रोम’ भन्ने शब्द प्रयोग गर्न त्यतिबेला यो नियम उल्लंघन गरिएको थियो ।
मरियम शब्दकोशले कोरोना भाइरस डिजिज २०१९ को सम्बन्धमा कोभिड–१९, कम्युनिटी स्प्रेड, कन्ट्याक्ट ट्रेसिङ, सोसल डिस्टेन्सिङ, सुपर स्प्रेडर, इन्डेक्स केस, इन्डेक्स पेसेन्ट, पेसेन्ट जिरो, सेल्फ क्वारेन्टाइन लगायत थप गरेको छ । यी दुई ठूला शब्दकोशहरूमा तीन वटा शब्दमा मात्रै समानता छ ।
अनलाइन खबरबाट