जल तथा मौसम विज्ञान विभागका मौसमविदले मंगलबार अपराह्नदेखि काठमाडौंमा पनि वर्षा हुने पूर्वानुमान गरेका थिए । तर पूर्वानुमान गरेअनुसार वर्षा भएन ।
बुधबार र विहीबार दुई दिन भने काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अहिले बिहान काठमाडौंमा डम्म बादल लागेको छ । अपराह्न वा साँझतिर भने मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताए ।
‘हिजो काठमाडौं आसपास वर्षा भए पनि काठमाडौं उपत्यकामा चाहिँ भएन तर आज र भोलि काठमाडौंमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ,
गत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा म्याग्दीको मुनामा भएको छ । मुना स्टेसनमा ३२.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ ।
झापाको बाहुनडाँगीमा पनि मध्यमखालको वर्षा भएको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा २१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
त्यसपछि धेरै वर्षा कर्णाली प्रदेशको जाजरकोटस्थित दल्ली स्टेसनमा भएको छ । दल्लीमा १९.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
रुकुमपश्चिममा असिना–पानी
कर्णाली प्रदेशको रुकुमपश्चिममा पर्ने मुसिकोट नगरपालिका वडा नं ९ चौखाबाङमा असिना–पानी परेको छ । असिनाले काट्न ठिक्क भएको गहुँ र अन्य तरकारी तथा फलफूलमा क्षति पुर्याएको छ ।
यसैगरी काभ्रेको रोशीखोला पनौतीमा ७.६ मिलिमिटर वर्षा भएको छ । तर काभ्रेको छिमेकी काठमाडौं उपत्यकाका जिल्ला भने सुक्खा नै रहे ।

