सेयर बजारको परिसूचक नेप्से ३२.५१ अंकले घट्यो

बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२।५१ अंकले घटेको छ। यसअघि बुधबार ५० अंकले बढेको थियो।

आजको कारोबारपछि परिसूचक २६३३ अंकमा झरेको छ। उच्च अंकको रेकर्ड बनाएयता बजार १७।६ प्रतिशतले घटिसकेको छ। सामान्यतः उच्चतम अंकबाट २० प्रतिशतभन्दा तल बजार झरेमा बियरिस ट्रेन्डमा गएको बुझ्ने गरिन्छ।

यसअघि भदौ २ गते बजार बन्द हुँदा ३१९८ अंकको उच्च रेकर्ड बनाएको थियो। करिब डेढ महिनाको अवधिमा ५६५ अंकले बजार घटिसकेको छ।

आज कारोबार रकम पनि निकै घटेको छ। दिनभर जम्मा ३ अर्ब ७० करोडको सेयर किनेबच भयो। हिजो ५ अर्ब २ करोडको कारोबार भएको थियो।

समूहगत रुपमा हेर्दा यस दिन म्युचुअल फण्ड, अन्य र ब्यापार बाहेकका सबै समूह घटेका छन्। म्युचुअल फण्ड ०।०३, अन्य ४।५ र ब्यापार समूह ११८ अंकले बढे।

बैंकिङ २०, विकास बैंक १५५, फाइनान्स ६८, होटल तथा पर्यटन ४४, जलविद्युत ८२, लगानी १, जीवन बीमा १०१, उत्पादन १०२ र निर्जीवन बीमा १०४ अंकले घटे।

आज ३३ कम्पनीको मूल्य बढेको छ। १४७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

यसरी १० प्रतिशत मूल्य बढ्ने कम्पनीमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङखोला जलविद्युत छन्।

मूल्यवृद्धिपछि नेपाल फाइनान्सको प्रतिकित्ता ५२८, मनकामनाको २११९ र मैलुङखोलाको २९५ रुपैयाँ मूल्य कायम भएको छ।

गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालय पावर पार्टनरको मूल्य ६ प्रतिशत बढीले घटेको छ।

कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको १२ करोडको सेयर किनबेच भयो। अपि पावर, मेगा बैंक, हिमालयन डिस्टिलरी र पुनर्बीमा कम्पनी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

यतिबेला बजार ३ कारणले घटिरहेको छ। एक, बैंक तथा वित्तीय संस्थाहरुप्रति राष्ट्र बैंकको नीति, दोस्रो ब्याजदर र तेस्रो त्रैमासिक कर तथा ब्याज भुक्तानीको अवधि।

राष्ट्र बैंकले सेयर लगानीका लागि सेयर धितोमा दिन सक्ने ऋणको सीमा १२ करोड तोकेपछि बजारमा असर परिरहेको छ।

यसैबीचमा वाणिज्य बैंकले नै मुद्दतीमा १० प्रतिशत ब्याज दिन थाले, त्यसको पनि बजारमा असर पर्न थाल्यो। असोज मसान्तमा कर भुक्तानी गर्ने अवधि र बैंकको साँवा ब्याज समेत तिर्ने बेला हुँदा पनि बजारमा असर परेको हो।