मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक

१५ साउन, काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।

यीमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिइनेछ । पुस्तक छनोट प्रयोजनका लागि गुठीलाई कुल २२२ पुस्तकहरु प्राप्त भएका थिए । तीमध्ये १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो ।

२०७६ सालको मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई प्रदान गरेको थियो ।

मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान दिंदै आएको छ ।