सानैदेखि बार्साबाट खेल्ने सपना थियो : अगुएरो

अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोले आफूले बाल्यकालदेखि नै बार्सिलोनाबाट खेल्ने सपना देखेको प्रतिक्रिया दिएका छन् । यही कारण बार्साले प्रस्ताव राख्नसाथ त्यसलाई स्वीकारेको उनले बताए ।

उनले बार्सिलोनासँग २ वर्षको सम्झौता गरेको औपचारिक घोषणा सोमबार गरियो । विगत १० वर्ष अगुएरोले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमा बिताएका थिए । ‘म निकै खुसी छु । क्लबका लागि आफ्नो तर्फबाट उत्कृष्ट दिनेछु र महत्त्वपूर्ण उपाधि जिताउन सहयोग गर्नेछु । यो निकै खुसीको क्षण हो,’ बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा औपचारिक रुपमा सार्वजनिक भएपछि अगुएरोले भने ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले भने अझै सम्झौता नविकरण गर्न बाँकी छ । मेस्सीको सम्झौता नवीकरण भएमा दुई अर्जेन्टिनी स्टारहरु एकसाथ मैदानमा देखिनेछन् । अर्जेन्टिनाको टोलीमा पनि उनीहरुले युवा विश्वकपदेखि नै एकसाथ खेल्दै आएका छन् ।

अगुएरोेले अर्जेन्टिनी क्लब इन्डिपेन्डियन्टबाट आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए । उनले २००३ देखि ०६ सम्म त्यस क्लबबाट २३ गोल गरे । त्यसपछि पाँच वर्ष एथलेटिको म्याड्रिडमा बिताए । उनले त्यसक्रममा १ सय ७५ खेलमा ७४ गोल गरे । एथलेटिकोलाई २००९–१० को युरोपा लिग र २०१० मा युईएफए सुपर कप जिताएका थिए । त्यसयता, म्यानचेस्टर सिटीमा १० वर्ष बिताउने क्रममा उनले २ सय ७५ खेलमा १ सय ८४ गोल गरे । सिटीले यसक्रममा ५ पटक इङ्ग्लिस प्रिमियर लिग जित्यो ।