खेलका दौरानमा चोट लागेका १९ वर्षीय राईडरको मृत्यु

स्विट्जरल्यान्डका १९ वर्षीय मोटो ३ राईडर जासोन डुपासक्वेरको निधन भएको छ । शनिबार इटालियन ग्रान्ड प्रिक्सको छनोट सेशनका दौरानमा उनको बाइक दुर्घटनामा परेको थियो । त्यसपछि उनी गम्भीर घाइते भएका थिए ।

स्वास्थ्यकर्मीहरुको अथक प्रयासका बाबजुद डुपासक्वेरलाई बचाउन नसकिएको मोटो जिपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डुपासक्वेरको टिम प्रुस्टेल जिपिले फेसबुकमा लेखेको छ, ‘हामी स्तब्ध छौं र यस समय हामी जासोनको परिवारका विषयमा सोचिरहेका छौं । तपाईलाई अवश्यक मिस गनेर्छौं र कहिल्यै बिर्सनेछैनौं, जासोन ।’

डुपासक्वेर मोटो ३ वल्र्ड च्याम्पियनसिपमा आफ्नो दोस्रो सिजन खेलिरहेका थिए । २७ अंकसहित उनी १२ औं वरियतामा थिए । डुपासक्वेरले सुपरमोटोबाट आफ्नो करियर सुरु गरेका थिए, जहाँ उनी धेरैपटक स्विस राष्ट्रिय च्याम्पियन बने । २०१६ मा उनले एनईसी च्याम्पियनसिप मोटो ३ उपाधि जितेका थिए ।