महिनावारी समस्यामा गर्न सकिने योगासनहरू

महिलामा हरेक महिनाको एक पटक हुने रक्तश्रावलाई महिनावारी भनिन्छ। यो प्राकृतिक प्रक्रिया हो। जसरी महिनावारी हुनु प्राकृतिक प्रकृया हो त्यसैगरी महिनावारी हुँदा सामान्य दुखाई र कमजोरी हुनु सामान्य हो। तर आजकल अधिकांशलाई अनुचित आहार, विहारका कारण महिनावारी हुने सुरुवाति चरण देखिनै ढाड, कम्मरदेखि थाईसम्म दुख्ने, पेट दुख्ने कमजोर हुने आदि जस्ता विभिन्न समस्याहरु हुने गर्छ। जसले गर्दा यस अवस्थामा महिलाहरू बढी तनावग्रस्त हुने, चिडचिडापन हुने, झर्को मान्ने, कमजोर सम्झने हुन्छ।

सबैले बुझ्नुपर्ने कुरा महिनावारी कुनै कमजोरी होइन, यो सृष्टिको एक अभिन्न अंग हो। यसले सबै महिलामा धेरै महत्व राख्छ। यस अवस्थामा महिलाहरु अलिक बढी सजग र सावधान भने हुनुपर्छ। तसर्थ महिनावारीलाई कमजोरी नसम्झि यस अवस्थालाई सहज र सरल बनाउँन उचित आहार, उचित विचारसँगै पानीको उचित प्रयोग गर्दै नियमित व्यायाम गर्ने गरेमा महिनावारीमा हुने दुखाई र समस्याबाट सजिलै बच्न सकिन्छ। महिनावारीलाई सहज र सरल बनाउन सकिन्छ।

आहार कस्तो हुनुपर्छ?

स्वास्थ्यलाई सन्तुलित बनाई राख्न मानिसले गर्ने आहारको महत्वपूर्ण भूमिका रहन्छ। मानिसले गर्ने आहारले उसको शरीरको आकार निर्धारण हुन्छ भने त्यहि आहारले रगत बन्छ र विचार पनि। बझ्नुपर्ने कुरा हामी मानिसको रगत क्षारीय हुन्छ। रगतमा अम्लता बढ्नु नै रोगको अवस्था हो। महिनावारीमा हुने दुखाई पनि रगतमा अम्लियता बढेर हुन्छ। तसर्थ स्वस्थ्यलाई सन्तुलित राख्न हामीले लिने आहार क्षारिए जसमा प्रसस्त मात्रामा रेशा छोक्राबोक्रा भएका आहार हुनुपर्छ। रगतलाई क्षारीय बनाईराख्न हामीले लिने दैनिक आहारमा ७० देखि ८० प्रतिशत  क्षारीय आहार हुनुपर्छ।

क्षारीय आहार के के हुन् ? 

  • सबैखाले पूर्ण अन्नहरुः नफलेको चामल, चोकरसहित आँटाको पिठो, गहुँ, मकै, फापर, कोदो आदि।
  • सबैखाले हरिया सागसब्जी तरकारी वर्गहरू।
  • सबैखाले काँचो सलाद र फलफूलहरु आदि।

अम्लकारी आहार के के हुन्  ? 

  • प्रशोधन गरिएका सेता देखिने सबै खाद्यपदार्थहरुः सेतो चामल, मैदाबाट बनेका सबै परिकारहरु।
  • पन्च गाह्रो आहारहरुः माछामासु, अण्डा, दूध र दूधबाट बनेका सबै परिकारहरु।
  • शरीर र मनमा उत्तेजना तथा गर्मी बढाउने खाद्यवर्गहरुः चिया, कफी, चिसो पेयपदार्थ, नशाजन्य पदार्थ जाँड, रक्सी, वियर, वाइनलगायत मदिरा, चुरोट, खैनी आदि।
  • अत्यधिक चिल्लोमा तारे भुटेका, धेरै मरमसला राखेर बनाइएका खाद्यान्न लगाएत चिल्लो, पिरो खाद्यहरु।
  • जंक फुड, फास्ट फुड, चटपटे, पानीपुरी, तितौरा आदि।

तसर्थ स्वस्थ रहन हामीले लिने खानामा अम्लकारी आहारलाई कम गरि क्षारीय आहारलाई बढाउनु पर्छ। त्यसका लागि हामीले लिने दैनिक आहारमा क्षारीय आहारहरु जसमा साग–सब्जी र काँचो सलाद फलवर्गबाट करिब ७० प्रतिशत हुनुपर्छ भने अन्न (भात, रोटी, ढिडो, च्यख्ला आदिबाट) तीस प्रतिशत लिनु उपयुक्त हुन्छ।

हरिया सागबर्ग, काँचो सलाद र सम्पूर्ण फलबर्गमा प्रशस्त रेशा छोक्राबोक्रा हुने भएकाले यी आहार शरीर शोधक आहार पनि हुन्। साथै यी आहारमा प्राकृतिक रुपमै खनिज लवण, भिटामिन, मिनिरल्स पाइन्छ। यी आहारको सेवनले शरीरको भित्री सफाई भई शरीर शुद्ध हुन्छ। जति शरीर सफा र शुद्ध हुन्छ त्यत्तिकै स्वस्थ भइन्छ। जति स्वस्थ शरीर त्यतिकै पीडारहित सहज महिनावारी हुन्छ।

त्यसैगरी शरीरलाई आवश्यक पानी नियमित पिउनुपर्छ। त्यसका लागि पानी बिहान खाली पेटमा मनतातो ३ देखि ४ गिलास, दिनमा प्रतिघण्टा एकएक गिलासका दरले र राती सुत्दा करिब एक गिलास लिने । ध्यान राख्नुपर्ने कुरा कुनैपनि ठोस आहारसंग पानी नलिने करिब अगाडि पछाडि १ घण्टाको अन्तर गर्ने ।

महिनावारीमा कस्तो व्यायाम गर्ने?

सामान्यतः महिनावारी भएको पहिलो दिनदेखि तीन दिनसम्म कुनै पनि धपेडीपूर्ण काम र व्यायाम गर्नु हुँदैन। यदि महिनावारी सामान्य छ, दुखाई पनि सामान्य छ र व्यायाम गर्न सक्ने अवस्था छ भने हल्का व्यायाम आसन गर्न सकिन्छ तर उफ्रिने, कुद्ने वा भारी व्यायाम भने गर्नु हुँदैन। धेरै रगत बग्छ, चर्को दुखाई छ वा गाह्रो छ भने पनि व्यायाम गर्नु हुँदैन, आराममै रहनु पर्छ।

मापदण्ड शरीर

शरीर सबैसँग प्रत्यक्ष हुने विषय हो र शरीर नै सबैभन्दा ठूलो मापदण्ड पनि। तसर्थ जे गरे पनि आफूसँग प्रत्यक्ष भएको शरीरको अवस्थालाई मापदण्ड बनाएर सबै काम गर्ने गरेमा हामी स्वस्थ रहन सक्छौं। महिनावारीमा पनि योग व्यायाम गर्दा आफ्नो शरीरको अवस्था हेरेर मात्र गर्नुपर्छ ।

महिनावारी भएको तीन-चार दिनपछि भने सबै व्यायाम गर्न सकिन्छ। तर महिनावारी गडबडी र दुखाइमा विशेष घोप्टो परेर तल्लो पेटमा असर पर्ने आसनहरुले लाभ गर्छ।

महिनावारीमा लाभ गर्ने योग आसनहरू:

१. पुतली आसन

–भुइँमा दुबै खुट्टा सिधा राखेर दण्डासनमा बस्ने।

–अब दुबै खुट्टालाई खुम्च्याएर दुबै हातलाई दुबै पैतालामुनि लगेर लक गर्ने।

–स्वास छोड्दै दुबै थाइले दायाँबायाँ भुइँ छुवाउने प्रयास गर्ने र स्वास तान्दै माथि उठाउने। यसरी तलमाथि १० देखि २० पटक गर्ने। यसरी गर्दा मेरुदण्ड, गर्धन, शिर सिधा हुनुपर्छ।

–अब दुबै खुट्टालाई सिधा गर्ने र विस्तारै जति सकिन्छ त्यति दायाँबायाँ फैलाउने, विस्तारै स्वास छोड्दै दुबै हातले दुबै खुट्टाको पैताला समाउने र शिर निहुराएर भुइँ छुने प्रयास गर्ने।

–१० देखि २० गन्ने र विस्तारै स्वास तान्दै बीचमा फर्कने।

–टाउकोले भुइँ छुन नसके सिरानी राखेर बस्ने।

२. जानुसिरासन

–अघि जस्तै दुबै खुट्टा सिधा राखेर बस्ने।

–अब बायाँ खुट्टालाई सिधा नै राखेर दायाँ खुट्टालाई घँुडासम्म खुम्च्याएर कुर्कुच्चाले बायाँ थाई छुवाएर राख्ने।

–स्वास तान्दै दुबै हात माथि(दुबै कान छुवाउँदै) सिधा ९० डिग्रीमा उठाउने र विस्तारै स्वास छोड्दै दुबै हातले सिधा भएको खुट्टाको पैताला छुने, दुबै कुहिनाले भुइँ छुवाउने र निधारले घुँडा छुने प्रयास गर्ने। यदि टाउकोले घुँडा छुन नसकेमा घँुडामा सिरानी राखेर बस्ने।

–यस स्थितिमा रहेर १० गन्ने र विस्तारै स्वास तान्दै बीचमा फर्कने। यसरी पालैपालो ५–५ पटक गर्ने।

–ध्यान दिनु पर्ने कुरा, टाउकोले घुँडा छुँदा घुँडा नउठाउने, खुट्टा सिधा राख्ने।

३. पश्चिमोउत्तानासन

–जानुसिरासन पछि दुबै खुट्टा सिधा राख्ने।

–अब दुबै हातलाई अघि जस्तै स्वास तान्दै टाउको माथि सिधा लैजाने र स्वास छोड्दै निहुरिएर हातले दुबै पैताला समाउने, निधारले घुँडा छुने। यस अवस्थामा पनि निधारले घुँडा नछोएमा सिरानी राखेर बस्ने।

–यस स्थितिमा रहेर १० गन्ने र स्वास तान्दै बीचमा फर्कने ५ पटक गर्ने।

४. अर्धमछिन्द्रासन

–दुबै खुट्टालाई सिधा राखेरै बस्ने।

–अब बायाँ खुट्टालाई खुम्च्याएर दायाँ हिप नजिकै राख्ने।

–त्यसपछि दायाँ खुट्टालाई बायाँ घुँडा अगाडि ल्याएर पैतालाले ढ्याप्प भुइँ टेकाएर घुँडा माथि फर्काएर राख्ने।

–अब विस्तारै स्वास तान्दै (जुन खुट्टा मुनि छ त्यहि तर्फको हात) बायाँ हात माथि उठाउने (कान छुवाउँदै ९० डिग्रीमा)। अव दायाँ हातले दायाँ घुँडालाई धकेल्दै बायाँ हातको कुहिनाले दायाँ ठाडो रहेको घँुडा छुवाउँदै दायाँ खुट्टाको पैताला छुने र स्वास छोड्दै दायाँ हातलाई कम्मर पछाडि जति सकिन्छ त्यति मोडेर पेटतिर लाने, पेटलाई पनि सकेसम्म मोड्ने र टाउको घुमाएर कम्मरमा मोडिएको हातको कुहिना हेर्ने प्रयास गर्ने।

–यस अवस्थामा स्वास छोडिरहने, १० देखि २० गन्ने।

–अब विस्तारै स्वास तान्दै बीचमा फर्कने। पालैपालो पाँचपाँच पटक गर्ने।

५. मर्जरीआसन

–बज्रासनमा बस्ने, दुबै घुँडाले टेकेर सिधा हुने।

–अब शरीरलाई झुकाएर दुबै हातले अगाडि भुइँ टेक्ने र सिधा हेर्ने।

–विस्तारै लामो स्वास तान्दै कम्मरलाई तल गर्ने र टाउको गर्धनलाई माथि लगेर आकास हेर्ने अनि स्वास छोड्दै मेरुदण्डलाई जति सकिन्छ त्यति माथि धनुश आकारमा लाने र टाउकोलाई तल लगेर चिउँडोले छाती छुने प्रयास गर्ने।

–५ देखि १० पटक गर्ने।

६. सशांकासन

–बज्रासनमा बस्ने। विस्तारै स्वास तान्दै दुबै हातलाई कान छुवाउँदै सिधा उठाउने र स्वास छोड्दै अगाडि झुकेर दुबै हातलाई सिधा गर्ने र टाउकोले भुइँ छुवाएर बस्ने।

–यस अवस्थामा सामान्य स्वासप्रस्वासमा रहने, ५० देखि १०० गन्ने।

–अब विस्तारै स्वास तान्दै बीच अवस्थामा फर्कने।

७. सलभासन

–अब घोप्टो सुत्ने, दुबै खुट्टा सिधा राख्ने, दुबै हात हिपको दायाँबायाँ आकाश फर्काएर राख्ने, चिउँडोले भुइँ छुवाएर राख्ने।

–विस्तारै लामो स्वास तान्दै बायाँ खुट्टालाई कम्मरदेखि तन्नक सिधा तन्काएर भुइँबाट करिब एक फिट उठाउने र १० गन्ने।

–स्वास छोड्दै खुट्टा तल राख्ने, पालैपालो पाँचपाँच पटक गर्ने। यस अवस्थामा चिउँडोले भुइँ नै छुवाइराख्ने सबै बल कम्मर र पेटमा पर्छ। खुट्टालाई धेरै उठाउने भन्दा तन्काउने प्रयास गर्ने।

८. पूर्ण सलभासन

–अब दुबै खुट्टा अघिजस्तै स्वास तान्दै कम्मरबाट सिधा तनक्क तन्काएर भुइँबाट  १ फिट उठाउने, १० गन्ने र स्वास छोड्दै तल राख्ने। ५ पटक गर्ने।

९. भुजंगासन

–घोप्टो परेरै सुत्ने।

–अब दुबै हातलाई काँधको दायाँबायाँ राख्ने।

–लामो स्वास तान्दै दुबै हात तन्काएर कम्मरभन्दा माथिको भागलाई उठाउने, टाउकोलाई पनि पछाडि लगेर माथि आकास हेर्ने। यस स्थितीमा सबै बल दुबै हात, कम्मर र नाभीमा पर्छ।

–१० गन्ने र स्वास छोड्दै तल फर्कने। ५ पटक गर्ने।

१०. कन्दरासन

–विस्तारै उत्तानो सुत्ने।

–दुबै खुट्टालाई घुँडासम्म खुम्च्याउने, दुबै हातलाई दुबै पैतालाको दायाँबायाँ राख्ने।

–स्वास तान्दै मेरुदण्डलाई गर्धनसम्म माथि उठाउने, १० गन्ने र पहिलेकै स्थितीमा फर्कने। ५ देखि १० पटक गर्ने।

११. पवनमुक्तासन

–उत्तानो सुतेर दुबै खुट्टा सिधा राख्ने।

–अब स्वास छोड्दै दुबै खुट्टालाई घुँडासम्म खुम्च्याएर दुबै हात घँुडामा लगेर लक गर्ने, टाउको उठाएर सकेसम्म चिउँडोले घुँडा छुने प्रयास गर्ने, १० गन्ने र स्वास तान्दै बीचमा फर्कने। ३ देखि ५ पटक गर्ने।

१२. अश्वासन

–उत्तानो नै सुत्ने, हातलाई गर्धन मुनि लक गरेर राख्ने, दुबै कुहिनाले भुइँ  छुवाउने।

–दुबै खुट्टा घुँडासम्म खुम्चाएर राख्ने।

–अब स्वास छोड्दै दुबै घँुडा जोडेर बायाँ मोड्ने र टाउकोले विपरित दिसा दायाँ कुहिना हेर्ने, कुहिनाले भुइँ छुवाई नै राख्ने, स्वास छोडिरहने, पेटलाई मोडिरहने।

–यस स्थितीमा रहेर १० देखि ३० गन्ने र बीचमा फर्कने। दुबै तर्फबाट पालैपालो पाँचपाँच पटक गर्ने।

१३. आरामासन

–उत्तानो सुत्ने ।

–दुवै हातलाई गर्धन मुनि लक गरेर राख्ने अनि दुवै खुट्टालाई घुँडासम्म खुम्च्याउने र आराममा बस्ने। अथवा दुबै खुट्टालाई घुँडासम्म खुम्च्याएर दुबै पैतालालाई जोडेर घुँडालाई दायाँ बायाँ फटाएर राख्ने। यो आसन जतिबेला पनि गर्न सकिन्छ। सबै आसन सकेपछि करिब ५ देखि १० मिनेट यो आसनमा आराममा बस्ने।

यसरी उचित आहार र उचित विचारसंगै दैनिक व्यायाम गरेमा महिनावारी गडबडी र महिनावारीमा हुने दुखाई विस्तारै समाधान हुँदै जान्छ। बुझ्नुपर्ने कुरा यदि पाठेघर र सम्बन्धित अंगमै समस्या भएर महिनावारी गडबडी या दुखाई भएको हो भने सम्बन्धित निकायसंग परामर्श गरी समस्या समाधन गर्नुपर्छ साथै आहार, विहार र विचार पनि उचित हुनुपर्छ। जुनसुकै अवस्थामा पनि अचित आहार, विहार र विचारले समस्यालाई बढ्न दिँदैन भने भएको समस्याबाट मुक्त हुन सहयोग गर्छ।

महिनावारी दुखाइमा गर्न सकिने सरल उपचार

तातोले सेक्नेः महिनावारीमा धेरै पेट दुखेमा तत्काकाल पेट दुखाई कम गर्न पेटमा तातोले सेक्न सकिन्छ। तातोले सेक्दा मन्द आँचमा सेक्नुपर्छ । तातोले सेक्ने काम जतिबेला पनि गर्न सकिन्छ। त्यसैगरी पेट दुख्दा तातोपानी विस्तारै चिया जस्तै पिउँने गर्नुपर्छ भने खानामा झोलिलो खाद्यपदार्थहरु ताजा तरकारीका सुप बढाउने।

चिसोको पट्टिः चिसो पट्टिको सेक महिनावारी गडबडी र दुखाई दुबैमा निकै लाभ गर्छ। तर चिसो पट्टि भने खाली पेटमा लगाउनुपर्छ। त्यसका लागि बिहानको समय निकै लाभदायक हुन्छ। बिहान उठ्नेवित्तिकै ३ देखि ४ गिलाँस पानि पिएर नित्यकर्म सकेपछि पट्टि लगाउने। यो महिनावारी भएको ३–४ दिन देखि महिना दिनसम्म दिन सकिन्छ।

दिने विधि 

  • नाइटोदेखि पुरै तल्लो पेटसम्म ढाक्ने दुई टुक्रा सफा कटन कपडा लिने।
  • पानीको तापक्रम हात राखेपछि ठिहिराउने हुनुपर्छ त्यसका लागि पानीमा दुई चार टुक्रा बरफ राख्ने।
  • पट्टि दिन बद्ध सवासन, सवासान अथवा पुतली आसनमा सुत्ने।
  • कपडालाई पानीमा चोबेर हल्का निचोरेर नाइटोभन्दा दुई अंगुल माथिदेखि पुरै तल्लो पेट ढाक्ने गरि राख्ने।
  • कपडा १–१ मिनेटमा परिवर्तन गर्ने।
  • चिसो पट्टि जाडोमा करिब १५ मिनेट र गर्मीमा करिब २० मिनेट लगाउने। तर जाडोमा चिसो पट्टी दिँदा छाती भने चिसो हुन दिनु हुँदैन। छातीलाई तातो बनाई राख्नुपर्छ।
  • ध्यान दिनुपर्ने कुरा, चिसो पट्टि लगाएपछि १ घण्टासम्म खानु हुँदैन। तातोपानी भने दश पन्ध्र मिनेट पछि लिन सकिन्छ ।    सेतोपाटीबाट