गणतन्त्रलाई समाप्त गर्ने कोशिस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ

वरिष्ठ नेता, माधवकुमार नेपाल

१४ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन नसक्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता नेपालले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न हुँदा सशक्त आवाज उठाउनु गणतन्त्र प्रेमी र देशभक्त नागरिकको दायित्व भएको समेत बताएका छन् ।
‘यस ऐतिहासिक दिवसले गणतन्त्रको रक्षाका लागि लोकतन्त्र प्रेमी, देशभक्त, राजनीतिक दल एवं जनसमुदायमा एकताबद्ध भएर अघि बढ्न र गणतन्त्रको रक्षाका लागि लाग्न प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु’ नेता नेपालले भनेका छन् ।
उनले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक– पटक भएको ऐतिहासिक जनआन्दोलन र संघर्षमा त्याग एवम् बलिदान गर्ने शहीदहरुलाई स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य भएको बताएका छन् ।

साथै जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य–मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व भएपनि यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात पटकपटक विघटन गरिनुले हाम्रो गणतन्त्र नै समाप्त पार्ने प्रयास भएको छैन भनेर शंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

‘त्यस विपरित जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा गलत मनसायका साथ पटक पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोशिस भैरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ’, नेता नेपालले भनेका छन्, ‘प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो । संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लिई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न सकिदैन ।’