जिदानले रियल छाडेपछि खेलाडीहरूले दिए यस्तो प्रतिक्रिया

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन् । सर्जियो रामोस, थिवाउट कोर्टिज,राफाल  भरानेलगायत खेलाडीहरूले सामाजिक सञ्जालमार्फत जिदानलाई आगामी यात्राका लागि शुभकामना दिएका छन् ।

‘जिनेदिन जिदान वान एन्ड अन्ली,’ रामोसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म तपाईलाई शुभकामना दिन्छु । तपाई उपलब्धिको हकदार हुनहुन्छ । अल द वेस्ट बोस् ।’

कोर्टिजले फेरि जिदानसँग भेट हुने आशा व्यक्त गरेका छन्  ‘तपाईजस्तो प्रशिक्षक पाउनु गर्वको विषय हो,’ उनले इन्स्टाग्राममा लेखेका छन् ।

‘तपाईको प्रतिवद्धता, लगाव र मलाई प्रत्येक दिन राम्रो खेलाडी बनाएकोमा धन्यवाद्,’ डेनी कार्भाजलले लेखेका छन् ।

जिदानले २०१९ यता क्लब सम्हालेका थिए । प्रशिक्षकका रुपमा जिदानको यो दोस्रो कार्यकाल हो । यसअघि २०१६ देखि २०१८ सम्म पनि उनी प्रशिक्षक थिए ।

०१९–२० को सिजनमा रियललाई ला–लिगा र स्पेनिस सुपर कप जिताएपनि यस सिजन जिदानले कुनै उपाधि जिताउन सकेनन् ।

जबकी, पहिलो कार्यकालमा जिदानले रियललाई तीनवटा च्याम्पियन्स लिग, एक ला–लिगा, एक सुपरकप, दुईवटा युईएफए सुपर कप र दुईवटा क्लब विश्वकपको उपाधि जिताएका थिए । फ्रान्सेली प्रशिक्षक जिदान विश्व इतिहासकै उत्कृष्ट मिडफिल्डरमध्ये एक  मानिन्छन् ।

उनले २००१ देखि २००६ सम्म रियल म्याड्रिडबाट खेलेका थिए । खेलाडीका रुपमा उनले रियललाई एकपटक ला–लिगा र एकपटक च्याम्पियन्स लिग उपाधि जिताएका थिए ।

त्यस्तै, फ्रान्सलाई १९९८ को विश्वकपको उपाधि जिताएका थिए भने २००६ को विश्वकपको फाइनलसम्म पु¥याएका थिए ।