सुआरेजको निर्णायक गोलमा एथलेटिकोलाई उपाधि

स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । निर्णायक मानिएको यस सिजनको अन्तिम खेलमा एथलेटिकोले रियल भाल्लाडोलिडलाई २–१ ले हरायो । यही समय अर्को खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले हराएपनि एथलेटिकोलाई च्याम्पियन बन्नबाट रोक्न सकेन ।

एथलेटिकोले ३८ खेलबाट ८६ अंक बटुल्यो भने दोस्रो स्थानको रियल म्याड्रिडले ८४ अंक बटुल्यो । एथलेटिकोल समग्रमा ला–लिगा उपाधि जितेको यो एघारौं पटक हो । डिएगो सिमोनीको प्रशिक्षणमा यो एथलेटिकोको दोस्रो ला–लिगा उपाधि हो, पछिल्लोपटक २०१४ मा पनि एथलेटिको स्पेनको च्याम्पियन बनेको थियो ।

लिगमा तेस्रो स्थानको बार्सिलोनाको ३८ खेलबाट ७९ अंक जोड्यो । शनिबारै भएको अन्तिम खेलमा उसले इबरलाई १–० ले हरायो ।

लुईस सुआरेज निर्णायक 

यसै सिजन बार्सिलोनाबाट एथलेटिको म्याड्रिडमा आबद्ध भएका लुईस सुआरेज टोलीलाई उपाधि जिताउने क्रममा महत्वपूर्ण साबित भए । खेलको १८ औं मिनेटमा ओस्कार प्लानोले गोल गर्दै भाल्लाडोलिडलाई अग्रता दिलाएका थिए । तर ५७ औं मिनेटमा एन्जेल कोरेराले बराबरी गोल फर्काए । उनले यस सिजन कुल ९ गोल र ७ एसिस्ट गरेका छन् ।
६७ औं मिनेटमा लुईस सुआरेजले एथलोटिकोलाई अग्रता दिलाए । अन्तत यही गोल नै खेलमा निर्णायक बन्यो । जारी सिजनमा यो सुआरेजको २१ औं गोल हो ।

सर्वाधिक गोलकर्ताको सुचीमा उनी  बार्सिलोनाका लियोनल मेसी (३० गोल),रियलका करिम बेन्जामा (२३ गोल) र भिल्लारियलका जेरार्ड मोरेनो (२३ गोल) पछि चौथो स्थानमा छन् ।

मोडरिकको गोलमा रियलको जीत 

उता, यही समय भएको अर्को खेलमा रियलले एक शुन्यले पछि परेको स्थिती उल्ट्याएर २–१ को जीत निकाल्यो । तर, जीतका बाबजुद उसले दोस्रो स्थानमै रहेर लिग टुंग्याउनुप¥यो ।
खेलको २० औं मिनेटमा यरेमी पिनोले भिल्लारियललाई अग्रता दिलाएपनि करिम बेन्जामाले ८७ औं मिनेटमा रियलबाट बराबरी फर्काएका थिए । ईन्जरी समयमा लुका मोडरिकले निर्णायक गोल गर्दै रियललाई विजयी बनाए ।

भाल्लाडोलिड रेलिगेसनमा 

एथलेटिकोसँग पराजित भएको रियल भाल्लाडोलिड भने रेलिगेसनमा परेको छ । यस सिजन ह्विस्का, भाल्लाडोलिड र इबर रेलिगेसनमा परे ।