टोट्टेनह्यामका स्ट्राइकर ह्यारी केनले क्लबका अध्यक्ष डेनियल लेभीसँग आफ्नो भविष्यका विषयमा राम्रो र इमानदार कुराकानी हुने आशा व्यक्त गरेका छन् । यसै साता सार्वजनिक रिपोर्टअनुसार क्लबका कप्तान केनले टोली छाड्नका लागि भद्र सहमति गरेका पछन् र औपचारिक रुपमा क्लब छाड्ने अनुमति पनि मागेका छन् । २७ वर्षीय केनले यसअघि गेरी नेभिल्लीसँगको अन्तर्वार्ताका दौरान कुनै पश्चातापसहित आफुले करियर अन्त्य गर्न नचाहेको बताएका थिए ।
केनले पछिल्लोपटक क्लबसँग ६ वर्षको सम्झौता गरेका थिए र यो सम्झौता २०२४ सम्म लागू रहनेछ । तर, उनले अहिलेसम्म टोट्टेनह्यामबाट उपाधि जितेका छैनन् । बिहीबार एस्टन भिल्लासँग पराजित भएको टोट्टेनह्याम ५९ अंकसहित सातौं स्थानमा छ र अन्तिम खेलमा उसले लेस्टर सिटीको सामना गर्दैछ । युरोपा लिगमा छनोट हुने हो भने लेस्टर सिटीलाई हराउनुपर्नेछ र अर्को खेलमा साउथ ह्याम्पटनसँग वेस्टह्याम पराजित भएको हुनुपर्नेछ ।
२००८ मा लिग कप जितेयता टोट्टेनह्यामले कुनै उपाधि जितेको छैन । २०१९ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि टोट्टेनह्याम पराजित भएको थियो ।
इङल्यान्डका पूर्व कप्तान एलन सियरेरले केन अन्य क्लबमा जाने भविष्यवाणी गरिसकेका छन् । ‘उनले क्लबका लागि सबै दिइसकेका छन् । उनी निकै उत्कृष्ट छन् । हामी सबैलाई थाहा छ, उनले अघिल्लो सिजन नै क्लब छाड्ने अनुमति मागेका हुन सक्छन् र क्लब व्यवस्थापनलाई उनलाई थप एक वर्ष बस्न आकर्षित गरायो’ सियरेरले भने, ‘केही ठूला क्लबहरू उनको पछि छन् । म्यानचेस्टर सिटी,म्यानचेस्टर युनाइटेड र चेल्सीलाई कोही आवश्यक हुनेछ ।’