अर्लि चुनावको विकल्प लागु गर्न हस्तक्षेपकारी वाह्य शक्तिको भूमिकालाई निर्णायक बनाउने अवस्थामा वर्तमान संसदको संरचना पुगिसकेको छ

नेकपा माले

४ जेठ, काठमाण्डौ । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाल अर्लि ईलेक्सनमा गएको बताएका छन् । ओपी नेतृत्वको अल्पमतको सरकार अगाडि तीनवटा विकल्प रहेको पनि बताएको छ । मालेले जेठ ३ गते सम्पन्न सो पार्टीको स्थायी समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्दै यस्तो निश्कर्ष निकालेको हो ।

विज्ञप्तिमा पहिलो विकल्पमा सत्तारुढ दल एकताबद्ध बनी संसदबाट विश्वास प्राप्त गर्दै आफूलाई सुचारु राख्ने तर त्यसो नभए संसदको विश्वास गुमाई विपक्षी दलका बहुमत सांसदहरुद्वारा समर्थित प्रतिनिधिसभाको कुनै सांसदको नेतृत्वमा धारा ७६ (५) अनुसार गठन हुने सरकारद्वारा विस्थापित हुने र तेस्रो संविधानको धारा ७६ (५) अनुसार कुनै सांसदले प्रधानमन्त्री बन्ने बहुमत प्राप्त गर्न नसकेको अवस्थामा ओली सरकारले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्रै ‘छिटो आमचुनाव’ गराउने विकल्प रहेको बताएको हो । मालेका अनुसार यी तीनवटा मध्ये कुनै एउटा विकल्पलाई लागु गर्न पूर्व–राजपा समूह (महन्थ ठाकुर) को रोजाइ निर्णायक रहेको जारी विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा ‘छिटो चुनाव’ मा जाने विकल्प लागु गर्न हस्तक्षेपकारी वाह्य शक्तिको भूमिकालाई निर्णायक बनाउने अवस्थामा वर्तमान संसदको संरचना पुगिसकेको दावी छ । यस्तो अवस्थामा गठन हुने पहिलो र दोस्रो विकल्पको सरकार बने जनता र राष्ट्रका लागि दीर्घकालीन हित बिरोधी हुने मालेको ठहर छ । त्यसैले नेकपा (माले) त्यस्तो सरकार गठनको पक्षमा छैन । जनता र राष्ट्रलाई कम नोक्सानी गर्ने उपनम्बर (ग) मा चर्चित ‘छिटो चुनाव’मा जाने विकल्प नै आजको कामचलाउ संसदीय विकल्प हुने बैठकको ठहर रहेको विज्ञप्तिमा जनाएको छ ।

माले महासचिव सीपी मैनालीद्धारा जारी विज्ञप्ति यस प्रकार छ :

नेकपा (माले) केन्द्रीय कमिटी, पोलिटब्युरोको स्थायी कमिटीको भर्चुअल बैठक जेठ २ गते महासचिवको सञ्चालनमा सम्पन्न भयो । बैठकले यही बैशाख ३० गते राष्ट्रपतिबाट तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली नेतृत्वको अल्पमत–सरकारको गठन तथा त्यसको भबिष्य र देशमा भयावह ढंगले बढिरहेको कोभिड–१९ को महामारी तथा त्यसको प्रतिकारबारे गंभीर बिचार–बिमर्श ग¥यो । तद् बिषयहरुबारे बैठकले निकालेका निष्कर्श र नीतिहरुलाई यस प्रेस–विज्ञप्ति मार्फत् सार्वजनिक गरिदैछ ।

१. बिसं २०७७ साल फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलाद्वारा अबैधानिक नामाकरण ठहरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली नेतृत्वको सुबिधाजनक बहुमत प्राप्त सरकार राजनीतिक रुपमा अल्पमतमा झरेको नेकपा (एमाले) को सरकार बन्न पुग्यो । यस्तो अबस्थामा ढिलो गरी भए पनि प्रम ओलीले यही बैशाख २७ गते संविधान अनुसार प्रतिनिधिसभाबाट ‘विश्वासको मत’ लिए । सत्ताधारी नेकपा (एमाले) आफ्नै आन्तरिक बिरोध–पक्षको मतदान–बहिष्कारद्वारा बिभाजनको डिलमा पुगेको समयमा प्रतिपक्षी दलहरुको बिरोधको कारण ओली सरकार विश्वास प्राप्त गर्न असफल भयो । फलस्वरुप प्रम ओली पदमुक्त भई कामचलाउ प्रम बन्न पुगे ।

अर्कोपट्टि, राष्ट्रपतिद्वारा प्रदत्त समयभित्र विपक्षी दलहरु (नेका, माओवादी–केन्द्र र जसपा) बहुमतप्राप्त प्रधानमन्त्री छान्न असफल भए । यसको निम्ति जसपाको एउटा घटक पूर्व–राजपा समूहको तटस्थता निर्णायक कारण बन्यो । परिणामतः संसदको ठूलो दल–नेकपा (एमाले) को संसदीय–दल नेता केपी शर्मा ओली राष्ट्रपतिद्वारा बैशाख३० गते राती संविधानको धारा ७६ (३) बमोजिमको अल्पमत–सरकारको प्रधानमन्त्री नियुक्त भए । ३१ बैशाखमा सपथ लिई ओलीले मन्त्रीपरिषद गठन गरी कार्यसंचालन गरिरहेका छन् । यस सरकारले संविधानको धारा ७६ (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । बैठकले नवगठित सरकारलाई बधाइ र शुभकामना दिएको छ ।

२. नवगठित अल्पमतको सरकार अगाडि तीनवटा विकल्प छन् ः (क) सत्ताधारी पार्टी एकताबद्ध बनी संसदबाट विश्वास प्राप्त गर्दै आफूलाई सुचारु राख्ने, वा (ख) संसदको विश्वास गुमाई विपक्षी दलका बहुमत सांसदहरुद्वारा समर्थित प्रतिनिधिसभाको कुनै सांसदको नेतृत्वमा धारा ७६ (५) अनुसार गठन हुने सरकारद्वारा विस्थापित हुने वा (ग) धारा ७६ (५) अनुसार कुनै सांसदले प्रधानमन्त्री बन्ने बहुमत प्राप्त गर्न नसकेको अवस्थामा ओलीको सरकारले प्रतिनिधिसभा बिघटन गरी ६ महिनाभित्रै ‘छिटो आमचुनाव’ गराउने । स्मरण रहोस् उपरोक्त तीनवटा मध्ये कुनै एउटा विकल्पलाई लागु गर्नको निम्ति पनि पूर्व–राजपा समूह (महन्थ ठाकुर) को रोजाइ निर्णायक रहेको छ ।

३. गंभीर बिचार–विमर्शद्वारा बैठकले निष्कर्श निकालेको छ ः माथि बुँदा नं. २ मा चर्चित उपनम्वर (क) वा (ख) को सरकार गठन गर्न होस् वा उपनम्वर (ग) मा चर्चित ‘छिटो चुनाव’मा जाने विकल्प लागु गर्न, हस्तक्षेपकारी वाह्य शक्तिको भूमिकालाई निर्णायक बनाउने अवस्थामा वर्तमान संसदको संरचना पुगिसकेको छ । यस्तो अवस्थामा गठन हुने उपनम्बर (क) वा (ख) को सरकार र देशमा रहने प्रतिनिधिसभाबाट जनता र राष्ट्रका तात्कालिक मात्र होइन, दीर्घकालीन हित बिरोधी धेरै गलत काम हुने खतरा देखिएको छ । त्यस्ता सरकारहरु इतिहासकै सबभन्दा बढी पराश्रित र कमजोर सरकार हुनेछन् । अतः नेकपा (माले) त्यस्तो सरकार गठनको पक्षमा छैन । जनता र राष्ट्रलाई कम नोक्सानी गर्ने उपनम्बर (ग) मा चर्चित ‘छिटो चुनाव’मा जाने विकल्प नै आजको कामचलाउ संसदीय विकल्प हुने बैठकको ठहर रहेको छ, यद्यपि यस विकल्पको कार्यान्वयनमा पनि कोरोना महामारी लगायतका विषयले गम्भीर कठीनाई उत्पन्न गर्नेछन् ।

४. कोभिड–१९ को महामारी र त्यसको प्रतिकार्य ः (क) संसारलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ र त्यसका उत्परिवर्तित भाइरसहरु (भेरियन्ट) हाम्रो मुलुकमा ब्यापक रुपमा संक्रमण फैलाइरहेका छन् । यस महामारीको प्रतिकार्य गर्न ओली सरकार पहिलो दौरदेखि नै गंभीर बन्दै दूरदृष्टिका साथ नजुटेको हुनाले आज त्यसबाट देशमा अक्सिजन, औषधी, स्वास्थ–उपकरण र अस्पतालको अभाव र अब्यवस्था सहित बढ्दो संक्रमण, संंक्रमित र मृत्युबाट भयावह स्थितिको सृजना भएको छ । हामी यसका कारक सरकारी लापरवाही, अकर्मण्यता र अपारदर्शीतालाई भ्रत्र्सना गर्दछौं । कमिशनखोरी, अनियमितता एवम् भ्रष्टाचारमा डुब्ने र झुठा आश्वासन बाँड्ने एवम् निराधार गफमा रल्लिने कार्यबाट सरकार तत्काल अलग्गियोस भनी खबरदारी गर्दछौं । बिगतका गल्ती–कमजोरीबाट सिक्दै र यस महामारीको प्रतिकार्यलाई सर्वोपरि महत्व दिई ध्यान, स्रोत र जनशक्ति केन्द्रित गर्दै जनताको जीबन बचाउने अत्यावश्यक कामबाट शुरु गरी यसलाई पूर्ण नियन्त्रणमा ल्याउने गरी योजनाबद्ध काम गर्न गंभीरतापूर्वक सरकारको ध्यान आकर्षित गर्दछौं । (ख) कोरोना संक्रमणको यस्तो भयावह अवस्थामा सचेततापूर्वक अहोरात्र खट्ने पार्टी तथा वजसका नेता–कार्यकर्ता, विभिन्न जनसेवी ब्यक्ति तथा संघ–संस्थाहरुलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । (ग) बैठकले कोभिड–१९ को संक्रमणबाट पीडित तथा स्वास्थमा क्रमिक सुधार हुँदै गरेका पार्टी पोलिटब्युरो सदस्य क.कुमार खाकी श्रेष्ठ, केकसहरु क.तेजेन्द्र प्रसाईं (श्रीमतिसहित) र क.बलवहादुर गिरी, पार्टी केकस तथा अखिल भारत प्रवासी संघका केन्द्रीय अध्यक्ष क.एचबी पौडेल, पार्टी राष्ट्रिय परिषद सदस्य एवम् अभाप्रनेसंघका महासचिव क.धनबहादुर डाँगी र अभाप्रनेसंघ महाराष्ट्र राज्य समितिका अध्यक्ष क.सरिता अर्याल गिरीको शीघ्र स्वास्थलाभको कामना गरेको छ । (घ) कोभिड–१९ संक्रमणको कारण निधन भएका अर्घाखाँचीको शितगंगा नगरपालिका–३ का स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवार चुराबहादुर घर्ती (कालीपारे माइला), अभाप्रनेसंघ सम्वद्ध महिला संघमा लखनऊ (उत्तर प्रदेश) मा कार्यरत धनमायाँ सुवेदी र लीलादेवी पौडेलप्रति यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना ब्यक्त गर्दछ ।

पार्टी स्थायी कमिटीको यो बैठक देशभित्र वा कुनै पनि मुलुकको प्रवासमा बसोवास गरिरहेका सम्पूर्ण नेपाली देशबन्धुहरुलाई कोभिड–१९ को महामारीबाट अरुलाई बचाउन र आफू पनि बाँच्न सम्बन्धित सरकारका स्वास्थ सुरक्षा ऐन, नियम तथा आचारबिधिहरुलाई पालन गर्दै र स्वास्थ–सुरक्षा ब्यवस्थाबाट सहयोग लिदै, सावधान रहँदै सहयोगी, साहसी, निस्वार्थी र संवेदनशील रही सकारात्मक सोंच र दह्रो आत्मबलका साथ काम गर्न बिनम्र अपील गर्दछ । ध
न्यवाद !

जेठ ३, २०७८/काठमाडौं

सी.पी.मैनाली
महासचिव, नेकपा (माले)