नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच भोलि मर्ज सम्झौता

२९ वैशाख, काठमाडौं । मुलुका दुई ठुला बैक हिमालयन र नेपाल इन्भेष्टमेन्ट लामो समयको प्रयासपछि भोलि मर्ज सम्झौता (एमओयू) हुने भएको छ । स्रोतका अनुसार भोलि एमओयू गर्नेगरी तयारी पुरा भएको छ ।

मर्जका लागि सबै विषयले मोटामोटी टुंगो पाइसकेको छ । कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, संचालक समिति, माथिल्लो व्यवस्थापन टिम लगायतका विषय मिलिसकेको छ ।

मिलेका विषयमा मर्जपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ। बैंकको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिमालयन बैंकका हालका अशोक शमशेर राणा नै रहनेछन् । उनीपछिको कार्यकाल इन्भेष्टमेन्टका हालका ज्योति पाण्डेले सम्हाल्नेछन् ।

स्वाप रेसियो १ बराबर १ नै हुनेछ। यसको अर्थ हिमालयन वा इन्भेष्टमेन्ट बैंकको जति कित्ता सेयर लगानीकर्तासँग छ, मर्जपछि बन्ने बैंक ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट’को सेयर पनि त्यति नै हुनेछ ।

हाल हिमालयनको कुल कर्जा प्रवाह १ खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब छ। मर्जपछि बैंकको कुल कर्जा प्रवाह २ खर्ब ९० अर्बको हाराहारी हुनेछ ।

यस आर्थिक वर्षको चैत मसान्तसम्म इन्भेष्टमेन्टले कुल २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने हिमालयनले १ अर्ब २८ करोड कमाएको छ ।