सयौं लगानीको तरकारी खेरै जाने किसानको पिरोलो

कदर समाचार
२४ चैत, चितवन । भरतपुर महानगरपालिका–२४ जगतपुरका जनक पुरीले भाडामा लिएको तीन बिघा जग्गामा काँक्रो, भान्टा, बोडी, बन्दा, सिमी, धनियाँ र काउली बेच्नका लागि तयार छ । तर १४ दिन लामो लकडाउनका कारण उनले बजारमा तरकारी पठाउन सकेका छैनन् ।
पश्चिम चितवन जगतपुरका तरकारी किसान दीपक गुरूङको ६ विघा बारीमा अबको एक सातामा गोलभेंडा टिप्ने बेला हुन्छ । तर, अहिले जारी लकडाउनले टमाटर बेच्न नपाउने चिन्ताले उनलाई सताउन थालेको छ ।
भरतपुर १८ का तरकारी किसान रामचन्द्र रेग्मीको चिन्ता पनि पुरी र गुरुङको भन्दा फरक छैन ।
नेपालमा धेरै तरकारी उत्पादन गर्ने पाँच जिल्लाभित्र पर्दछ, चितवन । चितवनको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रमा अधिक तरकारी खेती हुन्छ । यतिबेला तरकारी उत्पादनको मौसम चलिरहेको छ । तर, कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादित तरकारी बजारसम्म र्पुयाउन नसक्दा किसानहरु चिन्तित छन् ।
हुन त सरकारले तरकारीलाई अत्यावश्यक उपभोग्य वस्तु भनेर लकडाउनको बेलामा ढुवानी खुल्ला गरेको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको उपायस्वरुप धेरै होटलहरु र तरकारी मण्डीहरु बन्द गराइँदा किसानहरुको तरकारी खपत हुन सकेको छैन । मानिसहरुलाई घर बाहिर निस्किन रोक लगाइएका कारण काम गर्ने मजदुरहरु पाइँदैनन् । तरकारी किन्ने केही सीमित व्यापारीहरुले अस्वाभाविक मूल्य घटाएर माग्ने गरेका छन् । त्यसैले चितवनका तरकारी किसानहरुमा छटपटी बढेको छ । भरतपुर महानगरपालिका(२४ जगतपुरका जनक पुरी तरकारी बेच्न नपाएको छटपटीले निन्द्रासमेत लाग्न छोडेको बताउँछन् । उनले भने, ‘केही दिनअघिसम्म ४० रुपैयाँ किलोमा बेचिरहेको भान्टा अहिले १० रुपैयाँ किलोमा पनि जाँदैन, काँक्रो त झनै फिटिक्कै जाँदैन । बरु सित्तैमा खाए पनि दिन्थ्यौं जस्तो भा’छ । कम्तीमा बारी त खाली हुन्थ्यो ।
लकडाउनका कारणले होटलहरु बन्द हुँदा काँक्रो, गाजर, बन्दालगायतका तरकारी बिक्री हुन छाडेको किसानहरु बताउँछन् । एकातिर उपभोक्ताहरु तरकारी खान नपाएर चिन्तामा छन् भने अर्को्तिर किसानहरु बेच्न नपाएर छट्पटीमा । भएको तरकारीको भाउ छैन । दलालहरुले सस्तोमा उठाउन खोज्छन् । जसका कारण जग्गाको भाडा, मजदुरको ज्याला, आफ्नो पसिना, मल, बिउ, पानी र बिजुलीको लगानी जोखिममा परेको किसानहरु बताउँछन् ।
पश्चिम चितवन जगतपुरका किसान दीपक गुरूङले १८ बिघा जग्गामा एक करोडभन्दा बढी लगानीमा तरकारी खेती गरेका छन् । ६ बिघामा त गोलभेंडा मात्रै फलेका छन् । तर लकडाउनले तरकारी नबिक्दा ठूलो नोक्सान सहनु परेको उनी बताउँछन् ।
त्यतिबेला त दैनिक ५ गाडी गोँलभेडा निस्कन्छ, एक गाडीमा २५ क्विन्टल हुन्छ, जसको मूल्य औसत ७० हजार पर्न आउँछ । बोडी, क्याप्सीकम, घिरौंला पनि तयार छ, तर भाउ छैन ।’ अहिले एक दिन बिराएर थोरै परिमाणमा मात्रै तरकारी बेच्दै आएका गुरूङ मर्कामा परेका किसानका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘हामीहरुले त ऋण नै लिएर तरकारी लगाएका छौं, मूल्य पाइएन । बेच्न पनि सकिएन,’ गुरूङ भन्छन्, ‘लकडाउन अझ लम्बिए तरकारी किसान ठूलो मारमा पर्नेछन् ।’

भरतपुर १८ का अर्का तरकारी किसान रामचन्द्र रेग्मीले बुटवल, पोखरा, काठमाडौंलगायतका क्षेत्रमा थोरै परिमाणमा तरकारी पठाउने गरे पनि सरकारले शनिबारदेखि एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि आउ(जाउ गर्न रोक लगाएपछि झनै कठिन भएको बताए । ‘बारीमा तरकारी छ, बेच्न पाउने अवस्था भएन, नारायणगढको तरकारी मण्डी पनि बन्द भयो,’ रेग्मीले भने ।
कुहाएर फाल्नुभन्दा दुई–चार रुपैयाँ आउने लोभले ज्यादै सस्तोमा बोडी, सिमी बेचेको उनले बताए ।
भारतीय तरकारी निर्वाध रुपमा नेपाल आउन दिने प्रशासनले नेपाली किसानलाई अनेक नाममा दुःख दिएको गुनासो यहाँका किसानको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भारतीय तरकारी रोक्ने आश्वासन दिएका छन् । तर, अहिलेसम्म रोकिएको छैन । यहाँ दैनिक १० भन्दा बढी गाडी तरकारी लिएर भारतबाट आउने गरेका छन् ।
चितवनकै तरकारी उत्पादनले अहिलेको सिजन धान्ने भएकाले भारतबाट तरकारी ल्याउनुपर्ने अवस्था नरहेको बताउँछन् फलफूल तथा ताजा तरकारी व्यवसायी सहकारी संस्थाका अध्यक्ष थिरप्रसाद धिताल । ‘चैतदेखि जेठसम्म चितवनकै उत्पादनले धान्छ, बर्खा लागेपछि पहाडी क्षेत्रबाट आउँछ, त्यसैले भारतीय तरकारीको खाँचो छैन,’ अध्यक्ष धिताल भन्छन् ।
नारायणगढको ठूलो तरकारी बजार बन्द
भरतपुर २ क्षेत्रपुरमा रहेको जिल्लाकै ठूलो तरकारी बजार चैत १८ गतेदेखि बन्द छ । २२ गते दिउँसो चार बजे मण्डी खोल्ने प्रयास गरे पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले बजार बन्द गराउन निर्देशन दिए ।

भारतीय तरकारी बोकेका गाडी मण्डीका ब्यापारीले ल्याउन थालेपछि आफूहरुले तरकारी बजार १८ गतेबाट नै बन्द गराएको बताउँछन् फलफूल तथा ताजा तरकारी व्यवसायी सहकारी समितिका अध्यक्ष धिताल ।
तरकारी मण्डी बन्द भए पनि बाहिर चौरमा तरकारीको बजार लाग्ने गरेको छ । विहान ६ बजेदेखि १० बजेसम्म चौरमा तरकारी खरिदबिक्री गर्नेहरुको भिड लाग्छ । त्यही भिडबाट कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै स्थानीयबासीले तरकारी बजार बन्द गराउन दबाब दिँदै आएका छन् ।
उचित खालको ब्यवस्थापन मिलाएर सामाजिक दुरी कायम राखेर प्रशासनले मण्डी खोल्न सहजीकरण गरे किसानहरुलाई थोरै भए पनि राहत दिन सकिने अध्यक्ष धितालको धारणा छ ।