नायक पल शाहद्धारा कोराना कोषमा चलचित्र प्राविधिक संघ मार्फत् ५ लाख सहयोग दिने घोषणा

कदर समाचार
चैत्र २३ काठमाण्डौ । विश्वभर फैलिएको कोरोनाको महामारीबाट बच्नको लागि सरकारले नेपालभरीलाई दुईसाताको लागि लकडाउन गरेको छ यसैको मध्यनजर गर्दै नायक पल शाहले कोरोना प्रभावित प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । लकडाउनकै कारण चलचित्रजन्य क्रियाकलापहरु रोकिएका छन् । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिँदै यस्तो घोषणा गरिएको शाहले जनाएका छन् ।
पलले चैत्र २२ गते शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत् आर्थिक स्थिति कमजोर भएका प्रविधिक तथा सहयोगीहरुको लागि सहयोग गर्न लागेको जानकारी दिएका हुन् । उनले आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख सहयोगको घोषणा गरेका छन् । उनले आफ्नै हातबाट प्राविधिकहरुलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । यस सहयोग वितरण कार्यक्रममा प्राविधिक संघले सहयोग गर्ने उनले अपेक्षा राखेका छन् । पलले आर्थिक अवस्था कमजोर भएको र चलचित्र क्षेत्रमा सकृय हरेकको साथमा आफू भएको र केही अफ्ट्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन् ।