सनलाई भित्र्याउने म्युनिखको योजना

 टोट्टेनह्याम हट्सपरका दक्षिण कोरियाली स्टार सन हिन्ग मिनलाई भित्र्याउनका लागि बार्यन म्युनिखले तयारी थालेको छ । यस सिजनमा सनले टोट्टेनह्यामका लागि १८ गोल गरेका छन् भने १६ वटा एसिस्ट उपलब्ध गराएका छन् ।

गत अक्टुबरमा स्पोर्टस् मेलले टोट्टेनह्याम र सनबीच २ लाख पाउन्ड लिनेगरी सहमति भएको समाचार खुलासा गरेको थियो, यद्यपि सिजनको अन्त्यतिर आइपुग्दा पनि यो सहमतिले सम्झौताको रुप लिएको छैन ।  र, फुटबल इन्साइडरकाअनुसार जर्मन जायन्ट म्युनिखले अहिले सनलाई भित्र्याउने योजना बनाइरहेको छ ।  सनसँग ५ वर्षे सम्झौता गर्ने उसको तयारी छ, यस प्रस्तावअनुसार सनले टोट्टेनह्याममा पाएकोभन्दा धेरै तलब पाउनेछन् ।

२०१५ मा टोट्टेनह्याम आउनुअघि सनले जर्मन क्लब ह्याम्वर्ग र बायर लिभरकुसेनबाट खेलेका थिए । टोट्टेनह्यामसँग २८ वर्षे विंगरको सम्झौता सकिन अझै २ वर्षभन्दा धेरै समय बाँकी छ र प्रशिक्षक होसे माउरिन्हो यी विंगरसँगको सम्झौता थप हुनेमा आशावादी देखिएका छन् । यद्यपी, सम्झौतामा भने ढिलाई भइरहेको छ ।

गत फेब्रुअरीमा सनबारे माउरिन्होले भनेका थिए, ‘सन समस्या होइनन् । उनीसँग अझै सायद तीन वर्ष क्लबको सम्झौता छ । मलाई लाग्छ, सम्झौता थप गर्नका लागि सही समयको प्रतिक्षा गर्नुपर्छ ।’  पछिल्लो समय टोट्टेनह्याम खराब समयबाट गुज्रिएको छ । यस वर्ष एफए कप र युरोपा लिग तथा इंिग्लस प्रिमियर लिगको उपाधि होडबाट टोट्टेनह्याम बाहिरिइसकेको छ ।

२०१५ मा सन क्लबमा आएयता टोट्टेनह्यामले कुनै उपाधि जित्न सकेको छैन । जबकी, बार्यनले गत सिजन च्याम्पियन्स लिगसहित तीन प्रमुख उपाधि जितेको थियो । डायनामो जाग्रेवसँग पराजित हुँदै टोट्टेनह्याम युरोपा लिगबाट बाहिरिएपछि इङल्यान्डका पूर्व फुटबल पिटर क्राउचले भनेका थिए, ‘सन र ह्यारी केन त्यस्ता खेलाडी हुन्, जो युरोपा लिगभन्दा माथिल्लो स्तरमा खेल्ने हकदार छन् । पक्कै पनि उनीहरु टोट्टेनह्यामप्रति बफादार छन् र मलाई आशा छन् यसरी नै बफादर रहनेछन् । तर त्यस्ता खेलले उनीहरुलाई सहयोग गर्दैन ।’  सनले टोट्टेनह्यामका लागि २ सय ७० खेलमा १ सय ३ गोल गरेका छन् ।