वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पर्ने

काठमाडौं उपत्यकाको आकाश केही दिनयता निकै प्रदूषित छ । उपत्यकामा बढेको वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । वायु प्रदूषण बढेपछि विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयले देशभरका विद्यालय शुक्रबारसम्मका लागि बन्द रहेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि घरबाहिर सकेसम्म ननिस्कन र निस्कनै परेमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । शुक्रबारदेखि उपत्यकाको आकाशमा उडिरहेको प्रदूषित हावाले स्वास्थ्यमा निकै असर पुर्याउने त्रिवि शिक्षण अस्पताल (टिचिङ) का छाती रोग विशेषज्ञ डा.सन्तकुमार दास बताउँछन् । वायुमण्डलमा उडिरहेको प्रदूषित हावाले फोक्सोमा सिधै असर गर्ने उनी बताउँछन् ।

अत्यधिक वायु प्रदूषण बढ्दा फोक्सोका बिरामीलाई झन् असहज हुन्छ । वायु प्रदूषणका कारण रुघाखोकी, घाटी खसखस हुने, चिलाउने अर्थात घाँटीको एलर्जी र फोक्सोमा बढी समस्या देखिनसक्छ । वायु प्रदूषणले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले सावधानी अपनाउन उनको सल्लाह छ । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या भएका, सीओपीडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, दम, ब्रमटाइटिस र निमोनिया भएकालाई गाह्रो हुने डा.दास बताउँछन् ।

वायु प्रदूषणका कारण शरीरमा यस्तो असर पर्नसक्छन
–प्रदूषित वायुले फोक्सोको बिरामीको फोक्सो थप सुनिन्छ ।
–फोक्सोको काम गर्ने क्षमतामा ह्रास आउने
–श्वास फुल्ने
–छातीमा केहीले समातेजस्तो हुने
–रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने
–फोक्सोका बिरामीलाई अन्य रोगका भाइरसहरूले छिट्टै आक्रमण गर्न सक्छ ।
फोक्सोमा समस्या नभएका व्यक्तिमा देखिने असर
–श्वासप्रश्वासमा बाधा भएको महसुस हुने
–छाती भारी हुने
–वायु प्रदूषणले नाक आँखा, छालामा तत्काल समस्या देखिन सक्छ ।
–दीर्घरोगी तथा मुटुको समस्या भएका बिरामीलाई पनि विभिन्न समस्या उत्पन्न हुनसक्छ ।
–वायु प्रदूषणले फोक्सोको क्यान्सरको जोखिम बढाउँछ ।

प्रदूषणबाट यसरी जोगिन सकिन्छ
–मर्निङ वाक, इभिनिङ वाकमा ननिस्कने ।
–घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाएर हिँड्ने ।
–अनावश्यक रुपमा घरबाहिर ननिस्कने ।
–वायु प्रदूषण भएका बेला कठिन खालका शारीरिक अभ्यास सकेसम्म नगर्ने ।
–घरबाहिर निस्किँदा वायु प्रदूषणबाट आँखालाई जोगाउनका लागि चस्मा लगाउने ।
–श्वासप्रश्वास प्रक्रियामा धेरै गाह्रो हुने, खोकी लाग्ने, छातीमा समस्या भएमा तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
–फोक्सोमा समस्या, श्वासप्रश्वास प्रक्रियामा समस्या भएकाहरुले औषधि साथमा राख्ने, प्रशस्त पानी पिउने ।
– बिहान र बेलुका घरका झ्यालढोका सकेसम्म नखोल्ने ।
–बढी भीड र अत्यधिक सवारी भएको स्थानमा नजाने