भोलि ११ बजे बस्नेगरी सकियो माओवादीको केन्द्रीय कमिटी बैठक

१ चैत, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए । केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए ।

बैठकमा बोल्दै अध्यक्ष ’प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए । अदालतले अनावश्यक ठाउँमा हात हालेको पनि प्रचण्डको भनाइ थियो ।

नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताएका थिए ।

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन ।

बैठक भोलि बिहान ११ बजे फेरि पुनः बस्नेछ ।