कक्षाकोठामै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ

१ चैत, दाङ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो । तुलसीपुर–११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको हो ।

एक हप्ताअगाडि फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पर्ने एक १३ वर्षीया छात्राले आफूलाई ती शिक्षकले संवेदनशील अंगमा हातपात गरेको आरोप लगाएकी थिइन ।

पीडित छात्राको तर्फबाट उनका बुवाले फागुन २६ गते बाल यौन दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले सेतोपाटीलाई बताए ।

‘घटना २३ गतेको रहेछ, २४ गते नारी दिवस परेको हुँदा विद्यालय बन्द भएछ,’ डिएसपी सिंहले भने ‘ फागुन २५ गते ती शिक्षक विद्यालय पुग्दा विद्यार्थीले विरोध गरेछन् । २६ गते मुद्दा परेपछि हामीले शिक्षकलाई पक्राउ गरेका हौं ।

पक्राउ परेका शिक्षकविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले घटना अनुसन्धान गर्न सोही दिन सात दिनको म्याद थप भएको डिएसपी सिंहले बताए ।

‘ती छात्रा मध्यान्तरको समयमा सञ्चो नभएर कक्षा कोठामा एक्लै बसेको समयमा शिक्षक आएर संवेदनशील अंगमा हातपात गरेको भन्ने आरोप लगाइएको छ,’ डिएसपी सिंहले भने, ‘ती छात्राका बाबुले प्रहरीमा दिएको जाहेरीमा दाबी गरेअनुसार तथ्य के हो ? भन्नेबारे प्रहरी अनुसन्धान जारी रहेको बुझिएको छ ।