२२ माघ, विराटनगर । नेकपा प्रचण्ड माधव समूहले आज गरको आमहड्तालको क्रमका बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन् ।
तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन् । बबिता ६ महिनाकी सुत्केरी हुन् ।
भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउन प्रयास गरेका थिए । चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालक प्रमोदले बताए ।
तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् । बनिसकेको खानेकुरा भुइँमा फ्यालिएको छ भने बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ ।