अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पद तथा गोपनीयताको शपथ

एजेन्सी

७ माघ, काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । संसद् भवन क्यापिटल हिलमा शपथ लिएपछि उनी त्यहाँबाट २ किलोमिटर परको ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

पटक पटक असफल हुँदै निरन्तरको प्रयासपछि बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुलेको हो । उनी अब चार वर्ष विश्वकै शक्तिशाली देशका राष्ट्रप्रमुख रहनेछन् । बाइडेनको जन्म २० नोभेम्बर १९४२ मा पेन्सिलभेनिया राज्यको सेक्रान्टनमा भएको थियो । उनी युवा अवस्थादेखि नै राजनीतिमा सक्रिय थिए ।

२९ वर्षको उमेरमै उनी डेलावेरबाट सिनेटर निर्वाचित भएका थिए । यति कम उमेरमा अर्को कोही व्यक्ति सिनेटर निर्वाचित भएको अमेरिकी इतिहासमा छैन ।

पारिवारिक विछोड

सिनेटर निर्वाचित भएलगत्तै जो बाइडेनले पारिवारिक वियोग सहनुप(यो । १९७२ मा उनकी श्रीमती र छोरीको कार दुर्घटनामा निधन भयो । छोराहरु बोउ र हन्टर भने यस दुर्घटनाबाट बाँचे । छोराहरुको उपचारका क्रममा उनीहरुलाई कुर्न अस्पतालमा बसेका बेला नै बाइडेनले सिनेटर पदको शपथ लिएका थिए । १९७७ मा बाइडेनले जिल जाकोब्ससँग दोस्रो बिहे गरे । अमेरिकाको फस्र्ट लेडी बन्ने सौभाग्य पाएकी जिल पेसाले शिक्षिका हुन् । उनीपट्टिबाट बाइडेनकी एक छोरी एस्ले बाइडेन छिन्, जो समाजसेवा र फेसन डिजाइनमा सक्रिय छिन् ।

सानोमा दुर्घटनाबाट बाँचेका जेठा छोरा बोउ बाइडेनको २०१५ मा ब्रेन क्यान्सरका कारण निधन भयो । उनी बाबुकै पाइला पछ्याएर राजनीतिमा सक्रिय थिए । हन्टर बाइडेन व्यवसायमा सक्रिय छन् ।

ती असफल प्रयास

बाइडेनले १९८८ को राष्ट्रपति निर्वाचनमा दाबी पेस गरेका थिए । डेमोक्रेट्रिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा दाबी पेस गरेका यी युवालाई सुरुमा धेरैले प्रभावशाली पनि ठानेका थिए । तर ब्रिटिस लेबर पार्टीका नेता निल किन्नलको भाषणलाई चोरेर आफ्नो जसरी पेस गरेको आरोप लागेपछि गल्ती स्वीकार्दै उनले उम्मेदवारी त्यागे । बाइडेनविरुद्ध तीनवटा डिग्री लिएको भन्दै गलत प्रचार गरेको, कलेजको थेसिस चोरेको लगायतका अभियोग पनि लाग्यो ।

 

२००८ को राष्ट्रपतीय चुनावमा डेमोक्रेट्रिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा उनी पनि आकाङ्क्षी थिए । यद्यपि ३ जनवरी २००८ मा उनले बाराक ओबामालाई समर्थन गर्ने घोषणा गरे । त्यसपछि यही निर्वाचनमा उनी उपराष्ट्रपतिमा उठे र विजयी भए । सन् २०१२ को निर्वाचनबाट पनि बाइडेन फेरि दोस्रो कार्यकालका लागि उपराष्ट्रपति चुनिए ।
२०२० का एजेन्डा

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । कोरोना नियन्त्रणका लागि राष्ट्रव्यापी परीक्षण र ट्रेसिङ, रोजगारीमा न्यूनतम आय बढाएर प्रतिघण्टा १५ डलर पु¥याउने, साना उद्योगहरुलाई दिइने ऋण बिस्तार गर्ने, न्याय प्रणालीमा सुधार ल्याउने, अल्पसङ्ख्यक समुदायका लागि व्यवसायमा सहयोग गर्ने, हरित उर्जामा लगानी बढाउने, पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्ने, नेटो गठबन्धनका सदस्यलगायत मित्रशक्तिसँग बिग्रिएको सम्बन्ध सुधार्ने, ओबामा केयरलाई निरन्तरता दिने पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्ने, आप्रवासीप्रति उदार नीतिलगायतका एजेन्डा बाइडेनले अघिसारेका थिए ।