सडकमै ‘नमुना राष्ट्रियसभा’ बैठक

७ माघ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्ने निर्णयको विरोधमा दिनहुँ विभिन्न पक्षबाट काठमाण्डौको माइतिघर मण्डलाबाट आन्दोलन भइरहेका छन् । तर आज यो समूहले भृकुटीमण्डस्थित पद्मोदय मोडमा एक फरक शैलीको विरोध कार्यक्रम आयोजना भएको छ ।

‘नेपाल टीन लिडर्स’ को आयोजनामा भएको कार्यक्रममा सडकमै ‘नमुना राष्ट्रियसभा’ बैठक राखिएको भने सो बैठकबाट प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै उनले राजीनामा गर्नुपर्ने निर्णय समेत गरिएको छ ।

राजधानीको भृकुटीमण्डस्थित पद्मोदय मोड अगाडि सडकमा भेला भएका उनीहरुले संसदीय प्रक्रिया जस्तैगरी बैठक चलाए भने सो बैठकको अध्यक्षता गरेका थिए– विवश बलामीले । राष्ट्रिय गानबाट सुरु गरिएको ‘नमुना बैठक’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसम्बन्धी विशेष प्रस्ताव रिवाज बानियाले पेश गरेका थिए ।

सो प्रस्तावमाथि राष्ट्रियसभामा जस्तै गरी छलफल गरेर ओलीको कदम ‘असंवैधानिक’ भएको ठहर युवाहरुले गरेका
थिए । यस्तै उनीहरुले ओलीले राजीनामा दिनुपर्ने ’निर्णय’ गर्दै राष्ट्रपतिलाई प्रतिनिधिसभा बैठक अबिलम्ब बोलाउन सिफारिस समेत गरेका छन् ।

बैठकले केपी शर्मा ओलीले राजीनामा दिँदै प्रतिनिधिसभा पुनःस्थापित गरेर राष्ट्रपतिले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने सिफारिस गरी संकेतिक रुपमा दवाव दिइएको कार्यक्रम व्यवस्थापक विशाल केसीले जानकारी दिए ।