एन्फाको साधारण सभा आज हुँदै, ललितपुर फुटबल संघको अध्यक्षबाट थापाको निलम्बित फुटुवा

६ माघ, काठमाण्डौ । ललितपुर फुटबल संघको अध्यक्षमा निलम्बन गरिएका पुरुषोत्तम थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष माथिको निलम्बन फुकुवा गरेको छ ।

हिजो सोमबार बसेको १२औं केन्द्रीय कार्यसमितिको बैठकले ललितपुर जिल्ला अध्यक्ष थापालाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

गत जेठमा एन्फा विधान विपरितका गतिविधि गरेको भन्दै थापालाई साधारणसम्मका लागि निलम्बन गरिएको थियो ।

एन्फाको साधारण सभा आज मंगलबार हुँदैछ ।

थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन भाइबर गु्रपमा आक्रोशित जवाफ दिएपछि निलम्बन गरिएको थियो ।

सोमबारको कार्यसमिति बैठकले कोषाध्यक्ष रविन्द्र जोशीले आर्थिक वर्ष २०७७(७८ का लागि प्रस्तुत गरेको अनुमानित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रूपैयाँको बजेट तथा वार्षिक कार्यक्रम साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै खोटाङ, मनाङ र नवलपरासी सुस्ता पूर्वालाई एन्फा सदस्यता प्रदान गर्न मंगलबार हुने साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रमोद हमालको अध्यक्षतामा बनेको कर्णाली प्रदेश, लोकेन्द्र गुरुङको अध्यक्षतामा बनेको गण्डकी प्रदेश र भुपेन्द्र थापाको अध्यक्षमा बनेको लुम्बिनी प्रदेशलाई मान्यता दिने निर्णय गरेको छ ।

प्रदेश संघको तदर्थ समितिहरुले विधानअनुसार ६ महिनाभित्र साधारण सभा र निर्वाचन गर्नु पर्ने प्रावधान भए पनि कोभिडको कारणले सम्भव नभएकाले म्याद थप्ने निर्णय भएको छ ।

भरत बुढा थापा (जुम्ला) र बाबुकाजी बस्नेत (दोलखा) लाई सहायक महासचिव नियुक्त गरिएको छ ।

राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले प्रस्तुत गरेको खेलाडी आचार संहिता पारित गर्ने निर्णय गरिएको छ ।

एन्फा विधान संसोधन सम्बन्धी विधान संसोधन मस्यौदा समितिले तयार गरेको प्रस्ताव साधारण सभानामा लैजाने पनि निर्णय भएको छ ।