मिलान इटालियन सिरिए एको शीर्ष स्थानमा

एजेन्सी

६ माघ, काठमाण्डौ । मिलान इटालियन सिरिए एको शीर्ष स्थानमा उक्लेको छ । ज्लाटान इब्राहिमोविचको दुई गोलको मद्दतले एसी मिलानले काग्लियारीलाई हराउँदै इटालियन सिरिए एको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । आइतबार युभेन्टसलाई हराउँदै इन्टर मिलानले एसी मिलानसँग अंक बराबरी गरेको थियो ।

यो सिजन इब्राहिमोविचले टोलीका लागि १३ खेलमा १३ गोल गरेका छन् । उनले खेलको ७ औँ मिनेटमा पेनाल्टीमार्फत मिलानलाई अग्रता दिलाए भने दोस्रो हाफमा अर्को गोल थपे ।

योसँगै मिलानले घरेलु मैदान बाहिर खेलिएका लगातार १९ खेलमा गोल गर्न सफल भएको छ । यस मामिलामा क्लबले आफ्नो पुरानो कीर्तिमानलाई बराबरी गरेको छ ।

यसअघि मिलानले फाबियो कपेलोको नेतृत्वमा सन् १९९१–९२ र १९९२–९३ सिजनमा यो उपलब्धि हासिल गरेको थियो । दुवै सिजन मिलानले लिग उपाधि जितेको थियो ।

खेलको ७० औँ मिनेटमा एलेक्सिस सालेमेकर्सले रातो कार्ड खाँदा मिलान १० खेलाडीमा सिमित बनेको थियो ।