बैंकहरुको लिलामी प्रहार : सबैभन्दा अगाढी एनआईसी एशिया बैंक

२९ पुस, काठमाण्डौ । एनआईसी एसिया बैंकले करिब दुई दर्जन व्यक्तिहरुको फोटो समेतको विवरण पत्रिकामा प्रकाशन गरेर कर चुक्ता गर्न ३५ दिनको समयसीमा तोक्यो । ३५ दिनमा ऋण चुक्ता नगरे ऋणीहरुको सवारी साधनदेखि आफैं बसेका घरजग्गा समेत धितो लिलामी हुने उल्लेख गरिएको छ ।

बैंकले निकालेको सूचना अनुसार अब ३५ दिनभित्र ऋण चुक्ता नगरे सर्लाहीका ओमप्रकाश यादवको तीन वटा बोलेरो गाडी लिलामी हुँदैछ । सर्लाहीकै बलभद्र पुरीको मारुती सुजुकी भ्यान लिलामी हुँदैछ भने नेत्रसिंह बानियाको १७ विगाहा ३ कठ्ठा जग्गा साथै त्यसमा रहेको घर समेत लिलामी हुँदैछ ।

मोरङकी कौशिला लिम्बू र काठमाडौंका श्यामबहादुर तामाङको ३५ दिन भित्रमा ऋण चुक्ता नगरे एनआईसी एशियाले घरजग्गा लिलामी गर्ने उल्लेख गरेको छ । माथि उल्लेखित व्यक्तिहरु प्रतिनिधि पात्रमात्रै हुन्, यस्ता दर्जनौ व्यक्तिहरुको नाम र फोटो अहिले दैनिक जसो पत्रिकामा छापिन्छन् ।

महामारी नसकिँदै तुलनात्मक हिसाबले धितो लिलामीमा एनआईसी एसिया बैंक निकै आक्रामक देखिएको छ । अन्य बैंकहरुले धितो लिलामी भने धामाधम गरिरहेका छन् । ‘ऋण लिएर समयमा चुक्ता नगरेपछि कानूनी प्रक्रिया पुर्याएर लिलामी गर्नै पर्छ’ एक बैंकका सीईओले भने, ‘तर कहिले काँही थोरै व्यवहारिक हिसाबले पनि हेर्नुपर्ने हुन्छ ।’

एनआईसी एसियाले लकडाउनकै बेला पनि धितो लिलामीका धेरै सूचनाहरु निकाल्यो । लकडाउनकै बेला एनआईसी एसियाले धितो लिलामी गर्न लागेका् उजुरीहरु समेत राष्ट्र बैंकमा पुगेको थियो ।

उसो त व्यवसायीहरुले एनआइशी एशिया बैंककै प्रधान कार्यालयमा समेत पुगेर गुनासो सुनाएका थिए । धितो लिलामी गर्ने एनआईसी एशिया बैंक मात्रै भने होइन ।

एकै दिन सयभन्दा बढीको नाममा ३५ दिने सूचना
पछिल्लो समय दिनप्रति दिन बैंकहरुले कर्जा तिर्न आउनका लागि सूचना जारी गरिरहेका छन् । मंगलबार मात्रै एनआईसी एशियाले जमानीकर्तासमेत गरी २ दर्जनको नाममा सूचना प्रकाशित गरेको
छ ।

उता कृषि विकास बैंकले पनि व्यवसायिक भवन निर्माणका लागि ऋण लिएका ऋणीहरुको धितो लिलाम गर्नका लागि मंगलबार धितो लिलामीकै सूचना निकालेको छ । बैंकले पटक(पटक ऋण चुक्ता गर्न ताकेता गर्दा पनि ऋण चुक्ता नभएका भन्दे लिलामी गर्न लागिएको जनाएको छ ।

काठमाडौंमै रहेको विरेन्द्र थापा, निशा थापा क्षेत्री, विकेन थापा, विरेन्द्र थापा तथा बिएन सुपर मार्केटका नाममा रहेको घरजग्गा लिलामी गर्न लागेको हो ।

कृषि विकास बैंकले मंगलबारमात्रै भाखा नाघेको भन्दै कर्जा बुझाउन २१ दिने सूचना समेत निकालेको छ । बैंकले प्रभु ट्रेड लिंकका प्रोपाइटर दिपेन्द्र यादव र सुनिता लक्ष्मी राणाको नाममा सूचना निकालेको हो ।

प्रोगेसिभ फाइनान्सले पनि करिब एक दर्जन घरजग्गाका साथै गाडि समेत लिलामी गर्नका लागि सार्वजनिक सूचना निकालेको छ । प्रोगेसिभले सुरज पाख्रिनको नाममा भक्तपुरमा रहेको जग्गादेखि चन्द्रमाया तामाङको नाममा रहेको टाटा कम्पनीको टिप्पर लिलामी गर्न लागेको छ ।

मेगा बैंकले पनि दुई दर्जन हाराहारीमै ऋणी तथा जमानीकर्ताको तस्वीरसहित ऋण चुक्ता गर्न आउन ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

माथिका सूचनाहरु प्रतिनिधि सूचनामात्रै हुन् । पछिल्लो समय हरेक दिनजसो यस्ता सूचनाहरु निस्कने गरेका छन् ।

व्यवसायीहरुको विरोध

कोरोनाका कारण समस्यामा परेको बेला पनि बैंक तथा वित्तीय संस्थाहरुले दुःख दिएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न क्षेत्रका व्यवसायीहरुले संघर्ष समिति नै गठन गरेर बैंकका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

कोरोनाका कालमा पनि बैंकहरुले किस्ता बुझाउन नसक्दा धितो लिलामी गरेको भन्दै व्यवसायीहरु आक्रोशित बनेका छन् । सबै भन्दा धेरै एनआइशी एशिया बैंकले धितो लिलामी गरेर आतंकित बनाएको व्यवसायीहरुले बताएका छन् ।

पर्यटन व्यवसायी अच्युत गुरागाईंको संयोजकतव्मा बैंक पीडित संघर्ष समिति नै गठन गरिएको छ । बैंकले अलिकति पनि व्यवहारिक पक्ष नहेरी तनाब दिएकाले संघर्ष समिति नै गठन गर्नु परेको संयोजक गुरागाई बताउँछन् ।

कतिपय उद्योग वाणिज्य क्षेत्रका जिल्लागत संघहरुले पत्राचार नै गरेर बैंकहरुलाई आतंक नमच्चाउन आग्रह गरेका छन् । केही समयअघि सुर्खेत उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघलाई एनआईसी एशिया बैंकको नाम नै तोकेर अप्ठेरोमा पार्न खोजेको भन्दै सहजीकरणका लागि अनुरोध गरेको थियो ।

हामी सडकमै आउन बाध्य हुनेछौंः संघर्ष समिति

महामारीपछि व्यवसायको अवस्था निकै नाजुक हुँदा समेत सरकारी तथा बैंकिङ क्षेत्रबाट कुनै सहजता नभएको भन्दै ३४ वटा संघ(संगठनहरु आन्दोलनमा होमिएका छन् । एक्काएक्लै आवाज उठाउदा कम सुन्ने भएकाले संयुक्त संघर्ष समितिको आवश्यकता परेको संयोजक तथा एनप्याव्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाही बताउँछन् ।

मौद्रिक नीतिकै विषयमा धेरै आवाजहरु उठाउनु पर्ने आवश्यकता देखिएको उनले बताए । अहिले सरकारी कार्यालयहरुले दिनु पर्ने सुविधाहरु समेत नदिएको उनको भनाई छ ।

कोरोनाका कारण महशुल तिर्न ढिलाई हुँदा समेत अहिले जरिवाना तिर्नु परेको उनले बताए । अन्य धेरै समस्याहरु रहेको र यस विषयमा अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको उनले बताए ।

‘३४ वटा संघ संगठनहरु पीडाको हिसाबले हामी एक ठाउँमा भएका हौं, यहाँ १२ वटा पर्यटन क्षेत्रका मात्रै संगठनहरु छन्’ उनले भने, ‘धेरै समस्या भने बैंकको रहेको छ, हामी हाम्रो माग पुरा गराउन सडकमै जान सक्छौं ।’

केहीदिन पहिले नै सडकमा जाने संघर्ष समितिको तयारी समेत रहेको थियो । तर राजनीतिक अवस्थाका कारण सडकमा नगएको शाहीले बताए । यतिबेला सडकमा जादा कुनै एक राजनीतिक समूहको समर्थन गरे जस्तो देखिने भएकाले तत्कालका लागि सडक आन्दोलन रोकिएको उनले सुनाए ।

सडक आन्दोलनमा जाँदा सबै क्षेत्रका सवारी साधनहरुसहित काठमाडौंमा प्रदर्शन गरिने उनले बताए । ‘पर्यटन क्षेत्रका हरियो प्लेट भएको ८ हजार गाडी छन्, सार्वजनिक यातायातको उत्तिकै धेरै छन्’ उनले भने, ‘स्कूलवालाहरुको पनि पहेलो बस ५ हजार भन्दा धेरै छन्, सबै गाडी सडकमा लिएर जाँदा के हुन्छ ?’

अहिले निकै ठूलो समस्या भनेको बैंकको हो । बैंकमा पनि एनआईसी एसियाले धेरै दुःख दिएको व्यवसायीहरुको गुनासो छ । अर्थमन्त्रालयमा कुरा गर्दा सकारात्मक नै कुरा आए पनि बैंकर्स संघले पनि खासै वास्ता नगरेको उनी सुनाउँछन् ।

एनआई एशिया बैंकले सास्ती दिएको विषयमा बैंकसँगै बसेर छलफल समेत गरिएको उनले बताए । एनआइशी एसियाले भेटमा भने राम्रै कुरा गरेको उनले सुनाए ।

‘अलि बढी आक्रामक देखिएको हो, हामीलाई परेको अप्ठेरोबारे हामीले जानकारी पनि गराएका छौं’ उनले भने, ‘उहाँहरुले सम्बन्धीत मान्छेहरुसँगहरु बसेर सल्लाह गरौं भन्नु भएको छ ।’ व्यवसायीहरुलाई परेको समस्याबारे राज्य संयन्त्र गम्भीर नबन्दा पनि बैंकहरुले अलि अप्ठेरो पारेको उनी सुनाउँछन् ।

महामारीलाई मौका छोप्नु हुँदैनः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलामी स्थगित गरिदिएको छ । कोरोना महामारीको असरका कारण किस्ता तिर्न नसकेका ऋणीको पनि बैंकहरुले धितो लिलाली गरिदिएको गुनासो आएपछि राष्ट्र बैंकले ६ महिना भन्दा बढी समय ब्याज भुक्तानी बक्यौता नराखेका ऋणीको धितो लिलामी नगर्न भनेको हो ।

चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यसो भने पनि अहिले पनि धमाधम लिलामीका सूचनाहरु कसरी आइरहेको छन् त ? राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल अहिले आएका सूचनाहरु अलि अगाडिका ऋणीहरुको भएको बताउछन् ।

उनका अनुसार पुस मसान्तदेखि यता समस्यामा परेकाहरुको धितो लिलामी बैंकहरुले गर्न पाउँदैनन् । यसैले लामो समयदेखि ऋण नतिर्नेहरुको लिलामी गरेको हुन सक्ने उनले बताए ।

एनआईसी एसिया बैंकका विषयमा भने सुर्खेत उद्योग वाणिज्य संघले कुरा उठाएको आफूले जानकारी पाएको कार्यकारी निर्देशक ढकालले बताए । कोरोनाका कारण कसैले पनि मौका छोप्नु नहुने भन्दै कुनै समस्या आए राष्ट्र बैंकले सहजीकरण तथा आवश्यक निर्देशन गर्ने उनले बताए ।
अनलाइनखबरबाट