चिनियाँ कम्युनिष्ट पार्टीले सदस्यहरूले सार्वजनिक रूपमा के भन्न पाउने के भन्न नपाउने बारेको नियम परिवर्तन

२७ पुस, काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीले सदस्यहरूले सार्वजनिक रूपमा के भन्न पाउने के भन्न नपाउने बारेको नियम परिवर्तन गरेको छ ।

यही वर्ष स्थापनाको सतवार्षिकी मनाउन लागेको चिनियाँ कम्युनिष्ट पार्टीले गत साता नयाँ नियम सार्वजनिक गरेको हो ।

पार्टीभित्रका सूचना कसरी थाहा पाउने र आन्तरिक गुनासाहरूलाई कसरी सम्बोधन गर्ने भनेर निकालिएको निर्देशिकालाई चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले ’पार्टीभित्र लोकतन्त्र मजबुद् भएको’ रूपमा अर्थ्याएका छन् ।

कार्यकर्ताहरूलाई उत्प्रेरित गर्न नयाँ नियमअनुसार कामसँग सम्बन्धित गल्तीहरूलाई अनुशासन उल्लंघनसँग नजोडिने भएको छ ।

अर्को बुँदामा पार्टी सदस्यले नेतृत्व असक्षम छ भन्ने प्रमाणित गरे उसलाई हटाउन सक्ने अधिकार दिइएको उल्लेख गरिएको छ ।

आउँदो जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पुग्दै छ। सय वर्ष पुग्नु ६ महिनाअघि नियम परिमार्जन गरिएको हो । अघिल्लो परिमार्जन १६ वर्षअघि भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड २० लाख सदस्य छन्। नयाँ नियमले पार्टीको आन्तरिक विवादलाई सार्वजनिक गर्न नपाउने कुरा भने दोहो¥याएको छ ।

’पार्टीको सदस्यले केन्द्रीय नेतृत्वले गरेको निर्णयसँग बाझिने गरी सार्वजनिक रूपमा धारणा राख्नु हुँदैन,’ परिमार्जित नियमको बुँदा १६ मा भनिएको छ ।

आफ्नो नेतृत्वको आलोचना गर्दा कुनै पनि सूचना इन्टरनेटमा सार्वजनिक गर्न नपाइने नियम बनाइएको छ । यो कुरा पहिला पनि थियो, यसपालि इन्टरनेट भन्ने शब्द थपिएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९९५ मा पहिलो पटक यस्तो नियम लागु गरेको थियो ।

पार्टी सदस्यहरूलाई कसैले गरेको गल्तीलाई पार्टीकै निरीक्षण टिममा रिपोर्ट गर्न उत्प्रेरित गरिएको छ । निरीक्षण टिमले भ्रष्टाचारको अनुसन्धान गर्छ । उसैको अनुसन्धानले धेरै उच्च अधिकारीहरूको पतन भएको छ ।

नयाँ नियममा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रपति सी चिनफिङको चिनियाँ विशेषता सहितको समाजवादमा सी चिनफिङ विचारधारालाई पनि समावेश गरिएको छ । सी विचारधारा चीनको संविधानमा यसअघि नै उल्लेख गरिएको छ ।

सरकार चलाउनका लागि पार्टी सदस्यहरूलाई विश्वविद्यालय, वैज्ञानिक इन्स्टिच्युट, सेना र निजी कम्पनीका उच्च तहमा भर्ना गरिने नियममा उल्लेख छ ।