पृथ्वीनारायण शाहको जन्मदिनले सम्पूर्ण नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छु

राष्ट्रपति विद्यादेवी भण्डारी

२६ पुस, काठमाण्डौ । २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जन्मदिनले सम्पूर्ण नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन्।

आज सोमबार जारी गरेको राष्ट्रपति को सन्देशमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी छन् ।

’नेपाल विश्व मानचित्रमा सदैव एक स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहिआएको छ। वि.सं. १७७९ पौष २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथ्य हामी सबैमा विदितै छ । विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ,’बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्य हो । यस सिर्जनात्मक शक्तिको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने निश्चित छ ।’

पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका स(साना राज्यलाई एकीकरण गर्न सफलता हासिल गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नागरिकको इच्छा र चाहनाबाट नै मुलुकको शासन सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई शाहले अनुसरण गरेको बताएकी छन् ।

’नेपालको भू-अवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायण शाहले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्नका लागि सदा स्मरणीय सन्देशहरू छाडेर जानुभएको छ। उहाँका उपदेशले राष्ट्रिय आत्मनिर्भता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएका छन्,’ सन्देशमा भनिएको छ,’ हाम्रा पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ। आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको छु ।