२१ पुस, काठमाण्डौ । विश्वको सबैभन्दा लोकप्रिय शासनपद्धति वा विश्वका धेरैजसो मुलुकमा अपनाइएको शासनपद्धति हो गणतन्त्र । तर जतिसूकै उत्कृष्ट शासन व्यवस्था भए पनि त्यसलाई सञ्चालन गर्ने तहमा रहेको नेतृत्वले त्यसअनुसारको चरित्र र आचरण देखाउन सकेन भने त्यस्तो शासनव्यवस्थाले जनतामा परिवर्तनको अनुभूति दिन सक्दैन भन्ने गतिलो उदाहरण बनेको छ नेपाल ।
राजतन्त्रको अन्तिम दशकतिरका केही घटना र एउटा पात्रलाई स्मरण गरौं । पारस शाह तत्कालीन राज परिवारका त्यस्ता एक सदस्य थिए जो सडकमा निस्किएपछि जनता आतंकित हुने गर्दथे । २०५७ साल साउन २२ गते राति उनी सवार मोटरले दरबारमार्गमा एउटा मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा सवार थिए गायक प्रविण गुरुङ । उनको दुर्घटनास्थलमै मृत्यु भयो ।
सामान्य रुपमा हेर्ने हो भने दुर्घटना भइपरी आउने एउटा नराम्रो घटना हो । आवश्यक सावधानीले दुर्घटना टार्न वा त्यसको क्षति न्यूनीकरण गर्न सकिएला, त्यो फरक पाटो हो । तर दुर्घटना भइसकेपछि पनि सम्बन्धित पक्षबाट मानवता वा नैतिक दायित्व पालना भएको छ वा छैन भन्ने कुराले नै त्यस्तो दुर्घटनाको पृष्ठभूमि वा स्वरुपलाई आँकलन गर्न सकिन्छ ।
त्यस रात, आफ्नो मोटरबाट मोटरसाइकललाई ठक्कर दिइसकेपछि तत्कालीन शाहज्यादा पारसले पीडितको उद्धार गरेका भए वा नजिकको प्रहरी कार्यालयमा गएर आफूबाट दुर्घटना भएको जानकारी गराएका भए त्यो दुर्घटनालाई मानवीय गल्तीका रुपमा समाजले स्वीकार गर्न सक्दथ्यो । तर दुर्घटनापछि उनी सोझै आफ्नो निवासमा गए, पदीय रवाफका कारण उनी कानुनी कारवाहीको दायराबाट पनि उन्मुक्त भए ।
२०६७ मंसिरमा काँग्रेस नेतृ सुजाता कोइरालाको ज्वाइँ रुबेल चौधरीको हत्या प्रयासको घटनालाई पनि पारसको उदण्डताको अर्को उदाहरणका रुपमा लिइन्छ ।
राजपरिवारका सदस्य, खासगरी पारसकै यस्ता उदण्डताका कारण पनि नेपाली जनतामा राजतन्त्रप्रति नकारात्मक दृष्टिकोण बढ्दै गएको थियो । २०६२÷०६३ को जनआन्दोलनपछि राजतन्त्रलाई त बिदा गरियो तर ‘पारस प्रवृत्ति’ भने कायमै देखिएको छ ।
शनिबार सहरी विकास मन्त्री प्रभु साह सवार मोटरले सर्लाहीको हरिवनमा एक पैदलयात्रीलाई ठक्कर दियो । हालै सरकारमा सहभागी भएका उनी आफ्नो राजनीतिक प्रभाव बढाउन प्रदेश २ का विभिन्न जिल्लाको दौडाहामा छन् । त्यसैले पनि हुन सक्छ उनी मोटरको रफ्तारलाई नै आफ्नो राजनीतिक रफ्तार ठानिरहेका थिए ।
शनिबार हरिवन नगरपालिकामा साप्ताहिक हाटसमेत लाग्ने गर्दछ । त्यसैले सडकमा मानिसको भीड बढ्नु स्वाभाविक थियो । तर ‘पारस प्रवृत्ति’ देखाउँदै उनले न गाडीको रफ्तार कम गराए, न त मानिसहरुको जीवनको मूल्य नै बुझ्ने कोसिस गरे ।
आफू सवार मोटरको ठक्करबाट मानिस घाइते भएको अवस्थामा उसलाई स्वास्थ्योपचारका लागि अस्पताल लैजानु, उसको अवस्थाबारे जानकारी लिनु त परै जावस्, घाइतेलाई अलपत्र अवस्थामा छाडेर उनी आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नतिर दौडिए ।
उनीमात्र होइन, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि यो प्रवृत्ति देखाइसकेका छन् । केही दिनअघि मोरङको बेलबारीमा सडक दुर्घटनाबाट घाइते दुई जना उद्धारको प्रतीक्षामा थिए । सडकमा उनीहरु तड्पिरहेको समयमा मुख्यमन्त्री राई सवार मोटर अगुवा–पछुवासहित दुर्घटनास्थल आइपुग्यो । तर मुख्यमन्त्री राईले ती घाइते को हुन्, किन सडकमा अलपत्र परे भन्नेबारे सोधपुछ गर्ने सामान्य मानवता पनि देखाउन सकेनन् । बरु उनी निर्दयी बन्दै आफ्नो गन्तव्यतिर हुइँकिए ।
यी दुई प्रतिनिधिमुलक घटनाले जनमानसमा प्रश्न उठ्नु स्वाभाविक हो– राजतन्त्रका शाहज्यादा वा युवराजभन्दा मन्त्री साह र मुख्यमन्त्री राई कसरी फरक देखिए ?
प्रस्ट छ, गणतन्त्र जनताका लागि नै ल्याइएको थियो, जनताका अधिकारका लागि ल्याइएको थियो । जनताको आत्मसम्मानका लागि गणतन्त्र रोजिएको हो । नागरिकमा कुनै प्रकारको विभेद गरिनेछैन भन्ने प्रतिबद्धताका साथ राजनीतिक नेतृत्वले जनतामा गणतन्त्रको सपना देखाएको थियो । जनताको रगत पसिनालाई पारस प्रवृत्तिले पानी बराबर पनि नठानेको भन्दै त्यस्ता प्रवृत्तिको विरोधमा गणतन्त्र रोजिएको थियो । गणतन्त्रमा जनता नै सर्वेसर्वा हुन्छन् भनिएको थियो । फेरि आज त्यही गणतन्त्रमा किन जनताको जीवनसँग यसरी खेलवाड हुन्छ ? सडकमा हिँडिरहेका आम नागरिकको जीवनलाई मूल्यहीन ठानेर हुइँकिने प्रवृत्ति राजतन्त्रमाजस्तै गणतन्त्रमा पनि कायमै रहने हो भने कसरी दुई शासन व्यवस्थामा जनताले फरक अनुभूति गर्ने ? प्रश्न उठ्न थालेको छ ।
रातोपाटीबाट