काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् । टुँडिखेलमा आयोजित १९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताउँदै यस व्यवस्थाले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको बताएका हुन् ।

उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको भन्दै संविधानले निदिष्ट गरेको व्यवस्था अनुसारनै यसको अभ्यास भइरहेको बताए । गणतन्त्रले एकताबद्ध भएर अगाडी जाने अवसर दिएको भन्दै सबै किसिमका राजनीतिक अधिकार समेत दिएको राष्ट्रपति पौडेलले बताए । राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई जनतासँग जोड्न पर्याप्त नहुने भन्दै उनले शासकीय चरित्रले परिवर्तनलाई जनतासँग जोड्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक उपलब्धिको जगमा आर्थिक उन्नतिको जग बसाल्नु पर्ने भन्दै शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील बनाएर सुशासन दिनै पर्ने बताए । राष्ट्रपति पौडेलले अहिले बलियो जनादेशको सरकार बनेको उल्लेख गर्दै शासकीय सुधारका सय बुँदे कार्यसूची ल्याएर काम गरिरहेको बताए । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई समृद्ध बनाउन सबैले आफ्नो आचरणलाई सुधार गरेर काम गर्नेमा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यस पटक पहिलो पटक राष्ट्रपतिले सम्बोधन गरेका हुन् ।

