कमानसिंह लामा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई नमुच्न आग्रह

कार्यकारी अध्यक्ष, प्रचण्ड

२८ मंसिर, काठामण्डौ । कमानसिंह लामा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत मुछिएपछि यस विषयमा आजको स्थायी समिति बैठकमा समेत सामान्य छलफल भएको छ ।

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछ्ने प्रयास भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘लामोको निधनबाट शोकाकुल र दुःखित भएको यस घडीमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टी प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ । त्यस्तो प्रचारमा नगर्न र नलाग्न अनुरोध गर्दछु’, प्रचण्डले बैठकमा भने । बैठकमा प्रचण्डले यसबारे आफूले सम्बन्धित व्यक्तिलाई राखेर कुरा गर्दा प्रवक्ताले मिल्नुस् भन्नेबाहेक अरु कुरा गरेको नपाएको बताएका थिए ।

लामाको बिहीबार निधन भएपछि सार्वजनिक भएको एक अडियो तथा भिडियो कुराकानीका आधारमा नारायणकाजीलाई मुछेर विभिन्न टिकाटिप्पणी हुँदै आएको छ भने श्रेष्ठले आफूले विवाद मिलाइदिनका लागि अध्यस्तता मात्रै गरेको स्पष्ट पार्दै आएका छन् ।

आजको बैठकमा हाइड्रोपावरको व्यवसायिक विवादमा व्यक्तिलाई अनावश्यक नमुछ्न प्रचण्डले आग्रह गर्दैगर्दा बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने मौन बसेका थिए ।

बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार सो प्रकरणमा ओली केही नबोलेको रातोपाटीलाई बताए । कमानसिंह प्रकरणमा नेकपाभित्रको गुटगत विवादको बाछिटा देखिएको छ भने यही बाछिटाका कारण ओली समूहबाट श्रेष्ठबाट हमला हुँदै आएको नेकपाकै नेता कार्यकर्ता बताउँछन् ।

एउटै पार्टीमा रहेर काम गरेका कारण कमानसिंह लामा र नारायणकाजी श्रेष्ठबीच सम्बन्ध बढ्नु अनौठो विषय थिएन । जानकारहरुका अनुसार उनीहरुबीच सौहार्दपूर्ण सम्बन्ध नै थियो ।
तर जब कमानसिंह लामाले यम्लिङ हाइड्रोपावरसँगको लेनदेनको विषयलाई लिएर नारायणकाजी श्रेष्ठलाई गुहारे, आफ्नो अपेक्षा अनुसार श्रेष्ठले भूमिका निर्वाह नगरिदिएको महसुस गर्दै उनीसँग लामा टाढिएका थिए ।

कमानसिंह लामाले सिन्धुपाल्चोकमा ७ मेगावाट क्षमताको एउटा हाइड्रोपावर दर्ता गरेर निर्माण प्रक्रिया थालेका थिए । तर त्यसलाई उनले नियमित रफ्तारमा अघि बढाउन सकेनन् । परिणामस्वरुप निश्चित अवधिमा आयोजना पूरा गर्न नसकेपछि सरकारले त्यसलाई आफ्नो स्वामित्वमा लैजान्छ भन्ने कुराले उनलाई पिरोल्न थाल्यो ।

स्रोतका अनुसार आफूले केही लगानीसमेत गरिसकेको अवस्थामा समयमै आयोजना पूरा हुन नसक्दा सरकारले प्रोजेक्ट लिने भयो भनेर उनी चिन्तित थिए ।
उता, नरबहादुर कर्माचार्यको भतिजी तथा पूर्वमाओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग सदस्यसमेत रहेकी सुसन कर्माचार्यको इस्टर्न हाइड्रोपावर कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको हाइड्रोपावर भर्खरै निर्माण सम्पन्न गरेको
थियो । सुसन कर्माचार्य नारायणकाजी श्रेष्ठकै स्वकीय सचिवालयमा समेत थिइन् ।

स्रोतका अनुसार कमानसिंहले आफ्नो प्रोजेक्ट अघि बढ्न नसकेको अवस्थामा सुसन कर्माचार्यलाई गुहारेका थिए । कमान सिंह र उनकी पत्नीले ‘हामी बर्बाद हुन लाग्यौँ, तपाईहरुले प्रोजेक्ट सम्पन्न गराइदिनुप¥यो’ भनेर बारम्बार प्रस्ताव गरेको सुसन निकट स्रोत बताउँछ । ‘पहिला एक÷दुई पटक उनीहरुले फर्काइदिए । भर्खरै एउटा प्रोजेक्ट पूरा भयो, तत्काल अर्को प्रोजेक्ट गर्न सक्ने अवस्था छैन, तपाईंको प्रोजेक्टको कुरा जटिल पनि भइसकेको रहेछ भनेर उनीहरुले फर्काए,’ स्रोतले रातोपाटीसँग भन्यो ।

तर कमानसिंह लामाले लगातार अनुरोध गरिरहे । स्रोतका अनुसार चिनेजानेकै मान्छे, पार्टीकै मान्छे भनेर उनीहरुले कमानसिंहको त्यो प्रोजेक्ट लिइदिए । सुसन र उनका साथीहरु सम्मिलित यम्लिङ हाइड्रोपावरले उनको प्रोजेक्टको जिम्मा लिएको थियो ।

‘त्यतिबेला कमानसिंहको दुई करोड ५० लाखको शेयर उनीहरुले किनिदिने कुरा भयो,’ स्रोत भन्छ, ‘तर कमानसिंहले आफ्नो अरु ऋण पनि रहेको र बैंकबाट थप दुई करोड रुपैयाँ ऋण लिइदिनु प¥यो भनेर उनीहरुलाई आग्रह गरे ।’
प्रोजेक्ट लिएको यम्लिङ कम्पनीले आफू जमानी बसेर कमानसिंहलाई दुई करोड रुपैयाँ ऋण बैंकबाट मिलाइदिएको स्रोतको दावी छ । त्यो रकम प्रोजेक्टसँग सम्बन्धित थिएन, र कमानसिंहले उक्त रकम लिएर व्यक्तिगत ऋण तिरेका थिए ।

स्रोतका अनुसार केही पछि कमानसिंहले हाइड्रोपावरको शेयरबापतको दुई करोड ५० लाख रुपैयाँ मागे । तर आफू जमानी बसेर दुई करोड रुपैयाँ ऋण बैंकबाट निकालेर दिइसकेका कारण यम्लिङ कम्पनीले तत्काल ५० लाख रुपैयाँमात्र दिन सक्ने बतायो ।

कमानसिंहले भने ऋणको २ करोड बाहेक शेयरको दुई करोड ५० लाख रुपैयाँ नै आफूले तत्काल पाउनुपर्ने दावी गरे । यम्लिङ कम्पनी निकट स्रोत भन्छ, ‘उहाँलाई हामी जमानी बसेर दुई करोड रुपैयाँ ऋण दिलाएका थियौँ, भोलि उहाँले त्यो रकम तिरिदिनुभएन भने हाम्रो प्रोजेक्ट फेल हुन्छ, त्यसैले उहाँले मागेअनुसार पैसा दिन सक्ने अवस्था हाम्रो थिएन ।’

त्यसपछि कमानसिंह लामाले नारायणकाजीलाई गुहारेका थिए । किनकि कमानसिंहले कारोबार गरेको यम्लिङ कम्पनीमा नारायणकाजीकै सचिवालयमा काम गरेकी सुसन र उनका साथी थिए । नारायणकाजीले उनीहरुलाई भनिदिएको अवस्थामा आफूले रकम पाउने कमानसिंहको विश्वास थियो । स्रोतका अनुसार अहिले नारायणकाजी र कमानसिंहबीचको वार्ता भनेर सार्वजनिक भएको अडियो÷भिडियो त्यतिबेलाकै संवादको एउटा अंश हो ।
नारायणकाजीले दुवै पक्षलाई आपसमा बसेर विवाद मिलाउन सुझाव दिएको बताइएको छ । उसो त हाइड्रोपावर कम्पनीले पनि यो प्रकरणमा नारायणकाजीलाई अनावश्यक रुपमा मुछ्न खोजिएको स्पष्ट पारिसकेको छ ।

रातोपाटीबाट