ठिक एक वर्षदेखि ऊखु किसान पुनः आन्दोलित

२८ मंसिर, काठामण्डौ । चिनी उद्योगीबाट भुक्तानी नपाएको भन्दै पीडित उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन शुरु गरेका छन् । करिब ९० करोड रुपैयाँ बाँकी रहेको भन्दै सर्लाहीबाट आएका किसानहरुले आन्दोलन शुरु गरेका हुन् । एक वर्षअघि पनि उखु किसानले यसैगरि आन्दोलन शुरु गरेका थिए । सो आन्दोलनबाट सरकार र आन्दोलनकारीको बीचमा सम्झौता भएको थियो तर त्यो सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर पुनः काठमाडौं आउनुपरेको उखु किसान संघर्ष समितिको रहेको छ ।

२०७६ पुस १८ गते सरकार र आन्दोलनकारीबीच पाँच बुँदे सम्झौता भएको थियो । सम्झौता भएकै दिन आन्दोलन स्थगित गरिएको थियो तर आज सम्म पनि उखुको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलनमा जानु परेको किसानले बताएका छन् ।

सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले २०७६ माघ ७ गतेभित्र भुक्तानी गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गराउने सम्झौतामा उल्लेख गरिएको छ ।

उखु किसान र सञ्चालकहरुसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउने, किसानहरुलाई समयमै मल, बीउलगायत मेसिन उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्नसक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखुबापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई आवश्यक चालू पुँजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ