अख्तियार पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यातद्धारा विशेष अदालतमा बयान

८ मंसिर, काठामण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विशेष अदालतमा उपस्थित भएका छन् ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बयान दिन उनी केहीबेर अघि अदालतमा उपस्थित भएका हुन् ।

उनीसहित ११० जनालाई कैद सजायसमेत माग गरिएको थियो भने अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले मुद्दा चलाएको थियो ।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुलअजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बस्न्यातको बयान भइरहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए। बस्न्यातको बयान सकिएपछि आजै थुनछेक बहससमेत हुने विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले सेतोपाटीलाई बताए ।

थुनछेक बहसपछि अदालतले यो मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल बस्न्यातलाई थुनामा राख्ने, धरौटीमा वा तारेखमा छाड्ने भन्नेबारे निर्णय दिनेछ। ललिता निवास प्रकरणमा मुद्दा चलाइएकामध्ये अहिलेसम्म अदालतमा बयान दिएका कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छैन ।

अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ। पहिलो( सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको। दोस्रो( नेपाल सरकारई हानी पु¥याउने बदनियतले लिखत तयार गरेको र तेस्रो( सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवसास्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो। उक्त समयको न्यूनतम सरकारी मूल्यांकन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको रू. ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो ।

उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ। साथै नियतवस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महीनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना पनि माग गरेको छ ।

साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसूरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ।