‘अहिले पनि उहाँमा म नै सुप्रिम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ

वरिष्ठ नेता, माधव नेपाल

२० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले भोलि मंसिर २१ गते आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चार माध्यमलाई जानकारी दिएका छन् । सचिवालयका सबै, ९ जनै नेताहरुको उपस्थितिमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको हो । आइतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ ।

तर, प्रधानमन्त्री ओलीको माग विपरीत शनिबारको सचिवालय बैठकले प्रचण्ड र ओली दुबैका प्रस्तावहरु औपचारिक छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । आइतबारको स्थायी कमिटी बैठकमा ती प्रस्तावहरुका साथै ओली र प्रचण्डले लेखेका चिठीपत्रह मेत अध्ययनका लागि वितरण गरिने सचिवालयका एक नेताले बताए ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने नेताहरुको अनुमान थियो । तर, बैठकअघि कार्यकारी अध्यक्ष प्रचण्डसँग करिब २० मिनेटजति अलग्गै छलफल गरेपछि ओली बैठकमा सहभागी बने । तर, बैठकमा ओलीले प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने र जे सहमति गर्नुपर्ने हो, सचिवालयकै गरिनुपर्ने अडान दोहो¥याए ।

प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’ को संज्ञा दिँदै ओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बैठकमा बताए । तथापि सचिवालय बैठकमा अध्यक्ष ओलीले नोट ‘अफ डिसेन्ट’ लेख्ने कुरा गरेनन् र सर्वसम्मत निर्णयकै रुपमा आइतबार १ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको एक नेताले जानकारी दिए । अब ओलीको रुची नभए पनि स्थायी कमिटीमा दुबै प्रस्तावहरु छलफलमा जाने निश्चित भएको ती नेताले बताए ।

शनिबार बसेको बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । उनले सचिवालयमा आएका प्रस्तावहरु स्थायी कमिटीको बैठकमा लैजाऔं र त्यसपछि केही समय लिएर त्यसमा गृहकार्य गरौं भन्ने प्रस्ताव राखे ।

प्रचण्ड बोलेपछि झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा छलफल गर्नु उपयुक्त हुने भन्दै प्रचण्डको भनाइमा सहमति जनाए ।

बल प्रयोग नगरौं : ओली

नेताहरुले स्थायी कमिटीमा जाने भन्दै गर्दा अध्यक्ष केपी ओलीले त्यसमा असहमति जनाउँदै ‘बल प्रयोग नगर्न’ आग्रह गरे । ‘मलाई केही भन्नु छैन, शायद तपाईहरुको तयारी पुग्यो होला, सबै कुरा मलाई थाहा छ, यसरी पार्टीमा बल प्रयोग नगरौं । आजको बैठकमा पनि बल प्रयोग भएको छ,’ प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, ‘त्यो लाञ्छना पत्रलाई छलफलमा लैजान सकिँदैन, भोलि स्थायी कमिटीको बैठक नगरौं, अलि दिन सचिवालयमै निकास निकालेर बैठक गरौं । स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ।’

अध्यक्ष ओलीले बोलिसकेपछि माधव नेपालले प्रतिवाद गर्दै भने, ‘अहिले पनि उहाँमा म नै सुप्रिम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ भन्ने नै छैन ‘।’

माधव नेपालको आलोचनापछि ओलीले भने, ‘भोलि स्थायी कमिटी बस्दैन’

वीचमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई सोधे, प्रधानमन्त्रीज्यूले टाइम माग्नुभएको हो ?

वामदेवलाई जवाफ दिँदै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘टाइम भनेको के हो ? प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भनेको हो भने महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्रीबाट हटाउन सम्भव छैन, तपाईहरुले खोजेको निकास त्यो हो भने जे मन लाग्छ, गर्नोस् ।’

कार्यदल बनाउने प्रस्ताव अस्वीकृत

बैठकमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले दुबै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार पार्न सचिवालयमै कार्यदल गठन गरौं भन्ने प्रस्ताव राखेका थिए ।

बादलको प्रस्तावलाई तत्कालै महासचिव विष्णु पौडेल र अर्का नेता ईश्वर पोखरेलले समर्थन जनाए ।

महासचिव पौडेलले वामदेवकै नेतृत्वमा स्थायी कमिटीका केही सदस्यलाई समेत राखेर कार्यदल बनाउने प्रस्ताव राखे ।

तर, उपाध्यक्ष गौतमले त्यस्तो कार्यदलको औचित्य नहुने र आफू कार्यदलमा नबस्ने बताए । जे निर्णय गर्ने हो, स्थायी कमिटीमा छलफल गरेर त्यहीँबाट हुनुपर्ने गौतमले बताएपछि आइतबार दिउँसो १ बजेका लागि स्थायी कमिटीको बैठक डाक्ने टुंगोमा सबै नेताहरु पुगेको बताइएका छ ।

चुच्चे ढुंगो, उही टुंगो !

अन्ततः नेकपाभित्र देखिएको विवाद ‘चुच्चे ढुंगो, उही टुंगो’ भन्ने नेपाली आहानजस्तै फेरि स्थायी कमिटीमै पुगेको छ । नेकपाको गत भदौ २६ गते सम्पन्न ८२ दिन लामो स्थायी कमिटी बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो । तर, ‘विवाद मिलेको’ ८६ दिनपछि पुनः आइतबार नयाँ विवादित एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीको अर्को बैठक बस्ने भएको छ ।

आइतबारको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले तारन्तार लेखेका पत्र र प्रतिवेदनमाथि छिनोफानो गर्नुपर्ने
छ । तर, पहिलो दिनको बैठकमा स्थायी कमिटीका सदस्यहरुलाई डकुमेन्ट वितरण गरिने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ ।

यसरी स्थायी कमिटीको बैठक डाकेर अनौपचारिक छलफलमा जुट्ने क्रममा स्थायी कमिटीको बैठक पहिलेको जस्तै केही दिन लम्बिने स्रोतले बताएको छ ।
शनिबार सचिवालयको बैठक बस्नुपूर्व प्रचण्ड र ओलीवीच स्थायी कमिटीको बैठक बोलाएर त्यसपछि उच्चस्तरमा छलफल जारी राख्ने भित्री सहमति भएपछि ओली बैठकमा सहभागी बनेको कतिपय नेताहरुको बुझाइ छ ।

अब बस्ने स्थायी कमिटीको बैठकले नेताहरुवीच चुलिएको विवादको समाधान के कसरी निकाल्ला ? योचाहिँ प्रतिक्षाकै विषय छ ।