यो भेलाले पार्टीलाई बेफाइदा गर्दैन । पार्टीलाई एकता र रुपान्तरणको दिशामा अगाडि बढाउँछ ।

केन्द्रीय सदस्य एवं सांसद / रामकुमारी झाँक्री

१९ मंसिर, काठमाडौं । नेकपाभित्र चरम विवाद र फुटको संघारमा गएको बेला गुट गतिविधिहरु बढिरहेको पनि छ । आज थापाथलीमा प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थी नेताहरुले एउटा भेलाको आयोजना गरे ।

भेलामा स्थायी कमिटीका नेताहरु अष्टलक्ष्मी शाक्य र पम्फा भुसाल अनि अखिलका पूर्वअध्यक्षहरु लेखनाथ न्यौपाने र रामकुमारी झाँक्रीले समेत सम्वोधन गरे ।
थापाथलीको यो भेलालाई ओली पक्षले फुटपरस्त गतिविधिको संज्ञा दिएको छ ।

तर, भेलामा सहभागी अखिलकी पूर्वअध्यक्ष, नेकपा केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले यसलाई गुटको भेला मान्न अस्वीकार गरिन् ।

पार्टीमा अन्तरविरोध बढिरहेकै बेलामा आखिर यस्तो भेलाको आयोजना किन गर्नुपरेको थियो ? यसबारे अनलाइनखबरले सांसद झाँक्रीसँग गरेको कुराकानी हामी यहाँ उतार्न चाहन्छौ :

तपाई अखिलको पृष्ठभूमिबाट आउनुभएको केन्द्रीय नेता । तपाईको सहभागिता र शब्दहरुले राष्ट्रिय राजनीतिमा अर्थ राख्छ । अखिलले गरेको गुटको भेलामा तपाईले किन सम्वोधन गर्नुभयो ? यसको अर्थ, पार्टी विभाजनको निष्कर्षमा पुग्नुभएको हो ?

पार्टी विभाजनको प्रशंग नै छैन नि । विभाजनका लागि त पार्टीमा ठूलो वैचारिक संघर्ष हुनुपर्छ । राजनीतिक मुद्दाहरुमा असहमतिरविमति हुनुपर्छ । पार्टी विभाजनको आधार सैद्धान्तिक हुनुपर्छ । कुनै पनि घटनालाई हेर्ने दृष्टिकोणमा बदलाब आउनुप¥यो । त्यसो भयो भने बल्ल पार्टी विभाजन हुन्छ ।

जस्तो– समाजवादी कार्यक्रम ल्याउने कि गैरसमाजवादी बाटो हिँड्ने भन्ने सैद्धान्तिक विषयमा विवाद भयो भने त्यसले विभाजनसम्म लैजान पनि सक्ला । एउटा कम्युनिष्ट पार्टी कम्युनिष्ट रहेन कि भन्ने जस्ता विषयले दुनियाँमा पार्टी विभाजन भएको छ । हाम्रोमा पनि सैद्धान्तिक विषय र राजनीतिक मुद्दाहरुमा विवाद हुँदा पार्टीहरु विभाजन भए । राष्ट्रियताकै विषयमा पनि विगतमा पार्टी विभाजन भयो । तर, अहिले त्यस्तो केही पनि देखिँदैन ।

एमालेको नवौं महाधिवेशनमा साझा दस्तावेज ल्याएर नेतृत्वमा भोट हाल्यौं । अनि, पार्टी एकता गर्दा माओवादीले अलवम्बन गरेको एक्साइसौं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवादलाई स्थगित गरेर साझा दस्तावेज जनताको जनवाद अवलम्बन गरेका छौं । यसबारे महाधिवेशन अगाडि छलफल नगर्ने भनेकाले अहिले स्थगित छ । सैद्धान्तिक विषय स्थगित छ, अनि बाँकी विषयहरुमा पनि त्यस्तो ठूलो ध्रुवीकरण भएर एकै ठाउँ बस्न नसक्ने अवस्था सिर्जना भएको होइन ।

अहिले त नेतृत्वले विधि पद्दति मान्दिनँ, बैठकमा आउँदिनँ, निर्णय र प्रणाली मान्दिनँ भनेकाले आएको विवाद हो । नेतृत्वकै कारण सिर्जित असामान्य परिस्थिति हो । राजनीतिक र सैद्धान्तिक संकट होइन । अनि, आज (अखिलको भेला) को विषयमा पार्टी विभाजनको सन्दर्भ नै छैन ।

तर, अखिलले गरेको एउटा पक्षको कार्यक्रममा पार्टीकै नेताहरु जानुले आशंका त हुने नै भयो नि त ?

विद्यार्थीमा मैले काम गरेको हुनाले उहाँहरुले बोलाउँदा एउटा पूर्वनेता नजाने भन्ने कुरा भएन । मैले सम्वोधन गर्न जानु अस्वाभाविक होइन । अर्को कुरा, उहाँहरुले अखिलको कार्यक्रम हो पटक–पटक भने पनि हाम्रो नेतृत्व पन्छिएकाले भेला गरेको भन्नुभएको थियो ।

फेरि, पार्टीका बारेमा मैले सामाजिक सञ्जालमा बोलेको छु, मिडियामा बोलेको छु । त्यहाँ विद्यार्थीहरुको बीचमा गएर बोल्ने कुरा ठूलो विषय होइन । को पक्ष थिए भन्ने कुरा त पार्टीमा देखिएकै छ ।

यस्तोबेला एउटा पक्ष (प्रचण्ड र माधव नेपाल) ले भेला गर्दा विभाजनलाई बल पुग्दैन ?

भेला एउटा पक्षले गरेको थियो होला । तर, त्यहाँ के विषय उठे भन्ने महत्वपूर्ण हुन्छ । त्यहाँ (भेलामा) हामी सबैले पार्टी एकताको पक्षमा छौं र विभाजनलाई किमार्थ पनि स्वीकार्दैनौं भनेका छौं । पार्टी एकता रुपान्तरणसहितको हुनुपर्छ र यो विषयमा विद्यार्थीहरुले जागरणका हिसाबले अगाडि बढ्नुपर्छ भनेर भनिएको छ । त्यसो हुँदा भेला हुँदैमा विभाजनतिर भन्ने प्रश्न पनि गर्नुहुँदैन ।

एकातिर मदन भण्डारी फाउण्डेसनको गतिविधिको आलोचना गर्नुहुन्छ, अनि अर्कातिर यस्तो गतिविधि ?

मदन भण्डारी फाउण्डेसन एमालेको नवौं महाधिवेशनपछि नै गतिका साथ चलेको छ । तत्कालिन अध्यक्ष केपी ओलीले पार्टी महाधिवेशनले पारित गरेको कार्यक्रमलाई जोड नदिएर फाउण्डेसनका नाममा वडा तहसम्म संरचना बनाउने प्रयास भयो, आज पनि भइरहेकै छ ।

हामी त्यो फाउण्डेसनको गतिविधिलाई महत्व पनि दिँदैनौं । सीडीओ कार्यालयमा दर्ता भएको एउटा एनजीओले गरेको कार्यक्रम राजनीतिक हुनै सक्दैन । त्यस (फाउण्डेसन) लाई राज्यको कानुनअनुसार, नियमन गरिनुपर्छ । त्यसैले त्यसले गतिविधि ग¥यो भनेर समानान्तर गतिविधि गर्ने कुरा हुँदैन, होइन । आजको कार्यक्रम एउटा राजनीतिक दलको हो । यसले राजनीतिक कुरा गरेको छ । पार्टी एकतालाई कसरी जोगाउने र सचेत विद्यार्थी पंक्तिको भूमिका के हुने भन्ने विषयमा कुरा उठेको छ ।

त्यसो हुँदा फाउण्डेसनको समानान्तर गतिविधिका रुपमा यसलाई लिन हुँदैन । र, राजनीतिक विषयमा गरिने गतिविधिले पार्टी एकतालाई बलियो बनाउँछ, सैद्धान्तिक तवरले पनि तिखार्न मद्दत पुग्छ । अखिलको कार्यक्रमलाई फाउण्डेसनसँग समानान्तररुपमा हेर्न मिल्दैन ।

तर, यसबाट पार्टीको संकटमा आगोमा घ्यू थप्ने काम भएन र ?

उहाँहरु (अखिलकै नेताहरुले पनि) ले व्यक्तिपिच्छे फरक–फरक ठाउँमा उभिएर अभिव्यक्ति दिँदा फरक दृष्टिकोण आउन सक्छ । जब, धेरैजनाले एकै ठाउँ बसेर साझा धारणा बनाइन्छ, त्यो साझा धारणा नै सही हुन्छ । त्यसकारण साझा धारणा बनाएर पार्टीलाई दबाव र जागरणको भूमिका निर्वाह गर्ने हिसाबले उहाँहरुले भेला गर्नुभएको हो । र, यो भेलाले पार्टीलाई बेफाइदा गर्दैन । पार्टीलाई एकता र रुपान्तरणको दिशामा अगाडि बढाउँछ ।

केही महिना अगाडि पार्टीमा संकट आउँदा तपाई एकताको पक्षमा अभियान नै चलाउन फ्रन्ट लाइनमै देखिनुभयो । अहिले त अर्कैतिर (गुटगत भेलामा) देखिनुभयो नि ?

अहिले पनि पार्टी विभाजन रोक्ने अभियानमै छु नि । एकताको पक्षमा उभिनुपर्छ भन्ने छलफल चलिरहेकै छ । जस्तो– पार्टी विभाजन पनि नेपालको कानूनअनुसार हुनुपर्छ ।

अहिले नेकपामा जस्तो समीकरण देखिएको छ, त्यसले गर्दा पार्टी विभाजनसम्म पुग्दै पुग्दैन । र, पुग्न नदिने अभियानमा छौं । विभाजन गर्न संसदमा कसैको पनि ४० प्रतिशत नपुगोस् भनेर ६४ जना सांसदको हस्ताक्षर छँदैछ, हस्ताक्षर गर्ने संख्या ९० पु¥याउँदैछौं । अस्ति साउनमा १५३ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थियौं, अहिले त्यो संख्या साढे दुई सय पुग्न लागेको छ ।

अर्कातिर, पार्टी विभाजन हुने कुनै सैद्धान्तिक–राजनीतिक आधार छैन त भनिसकिहालें । र, यस्ता भेला बैठकहरुले विभाजनलाई उक्साहट गर्छ भन्नेमा विश्वास छैन । किनभने, कार्यकर्ता सचेत छन् । मैले के गर्नुपर्छ भन्ने उनीहरुलाई राम्रोसँग ज्ञान छ ।

अन्त्यमा, तपाई अखिलको पूर्वनेता भए पनि एउटा खेमा (प्रचण्ड–माधव नेपाल) लाई त राम्रैसँग प्रभावित गर्न सक्नुहुन्छ । आजको जस्तो भेला अरुतिर पनि हुन्छ कि रोकिन्छ ?

यो मैले होइन, अखिलको वर्तमान नेतृत्वले भन्ने कुरा हो । मलाई त, छुट्टा–छुट्टै भन्दा पनि सिंगो अनेरास्ववियुले एकीकृत बहस चलाओस् भन्ने लाग्छ । अखिल सधैं मुद्दामा र गतिशीलतामा पार्टीभन्दा अगाडि बढ्नुपर्छ । एकता र रुपान्तरणका लागि पार्टीलाई दबाव दिनुहोस् भन्ने सल्लाह दिन्छु ।

अनलाइन खबरबाट