वाणिज्य बैंकहरूको नाफामा व्यापक उतारचढाव

३० कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा व्यापक उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७७७८ को पहिलो ३ महिनामा बैंकहरूले कमाएको विवरणमा वाणिज्य बैंककै नाफामा निकै ठूलो उतारचढाव देखिएको हो । यो अवधिमा १ सय ६९ प्रतिशत नाफा बढ्नेदेखि ५१ प्रतिशत नाफा घट्ने बैंकसम्म देखिएका छन् ।

त्रैमास सकिएको १ महिनाभित्र सो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्नुपर्ने व्यवस्थाअनुसार २५ वटा बैंक तथा वित्तीय संस्थाले आइतबार वित्तीय विवरण प्रकाशित गरेका छन् । उक्त बैंकहरूमध्ये १० वटा बैंकको नाफा यो अवधिमा बढेको छ । बाँकी १५ वटा कम्पनीको नाफा भने घटेको छ ।

यो अवधिमा नाफा वृद्धि गर्न सफल भएका बैंकहरूमा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, नेपाल बङ्गलादेश बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, प्रभु बैंक र एनसीसी बैंक रहेका छन् । त्यस्तै, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, सिभिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको नाफा भने यो अवधिमा घटेको देखिएको छ ।

मर्जरका ‘बादशाहहरू’ नाफा वृद्धिमा अब्बल

कोरोना भाइरसको महामारीका बीचमा पनि नाफामा उच्च प्रगति गर्ने बैंकहरूमा सबैभन्दा बढी एनएमबी बैंक देखिएको छ । एनएमबी बैंकले अघिल्लो वर्ष २७ करोड रहेको त्रैमासिक नाफालाई बढाएर ७३ करोड रुपैयाँ पुर्याएको छ । यो करिब १ सय ६९ प्रतिशतको वृद्धि हो । यो बैंकले अघिल्लो वर्ष राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेको
थियो ।

नाफामा अर्को सबैभन्दा आकर्षक वृद्धि देखिएको प्राइम कमर्सियल बैंकको ५४ प्रतिशत नाफा बढेर पहिलो त्रैमासमै १ अर्बभन्दा बढी कमाइ गर्न सफल बैंक बनेको छ । बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ । यो बैंकले पनि अघिल्लो वर्ष राष्ट्रिय स्तरको कैलाश विकास बैंक लगायत बैंकहरूलाई आफूमा गाभेको थियो ।

त्यस्तै कुमारी बैंकको नाफा पनि करिब ५० प्रतिशत बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४० करोड हाराहारीमा नाफा आर्जन गरेको कुमारी बैंकको नाफा यो वर्ष ६० करोडभन्दा माथि पुगेको हो । यो बैंकले पनि अघिल्लो वर्ष राष्ट्रिय स्तरको देव विकास बैंकलाई आफूमा विलय गराएको थियो ।

अर्को सबैभन्दा बढी नाफा वृद्धि गर्ने बैंक हो सिटिजन्स बैंक । सिटिजन्स बैंकले पहिलो त्रैमासमा करिब ४८ प्रतिशत नाफा वृद्धि गर्न सफल भई नाफाको आकार ३५ करोड रुपैयाँबाट बढाएर ५१ करोड रुपैयाँ पुर्याएको छ । यो बैंकले पनि अघिल्लो वर्ष सहयोगी विकास बैंकलाई आफूमा गाभेको थियो । क्षेत्रीय स्तरकै भएर पनि सहयोगी विकास बैंक पूर्वी क्षेत्रमा राम्रो क्षमता प्रदर्शन गरिरहेको बैंक थियो ।

नेपाल बङ्गलादेश बैंकले भने मर्जर प्रक्रियाबिना नै नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४० करोड नाफाको अवस्थालाई बढाएर ५७ करोड रुपैयाँ पुर्याउन बङ्गलादेश बैंक सफल भएको हो । यो करिब ४२ प्रतिशतको वृद्धि हो ।

देशकै सबैभन्दा बढी चुक्ता पुँजी भएको ग्लोबल आईएमई बैंकको नाफा वृद्धि पनि यो त्रैमासमा उत्साहपूर्ण नै देखियो । यो बैंकले करिब ४१ प्रतिशत नाफा बढाउँदा पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल हुँदा दोस्रो बजारमा सूचीकृत रहेका मध्ये सबैभन्दा धेरै नाफा कमाउन यो बैंक सफल भएको छ ।

नाफा वृद्धि हुने बैंकमा मेगा बैंक र प्रभु बैंक पनि अगाडि देखिएका छन् । मेगा बैंकले करिब ३९ प्रतिशत नाफा बढाएर खुद नाफा ६१ करोडको नजिक पुर्याएको छ । त्यस्तै प्रभु बैंकको नाफा भने ३५ प्रतिशतले बढेर ८५ करोड रुपैयाँ पुगेको
छ । मेगा र प्रभु बैंकले थुप्रै बैंकलाई आफूमा गाभेको भए पनि अघिल्लो वर्षको पहिलो त्रैमासभन्दा पछि चाहिँ कुनै पनि बैंकलाई मर्जर तथा एक्विजिसन गरेका छैनन् ।

उल्लेखित ८ बैंकमध्ये नेपाल बङ्गलादेश बैंकबाहेक अरू सबै बैंकहरू मर्जरको धरातलबाट माथि उठेका बैंकहरू हुन् । तीमध्ये अघिल्लो वर्षको असोज मसान्तभन्दा पछि एकीकृत कारोबार भएका बैंकहरूको नाफा वास्तविक भए पनि यसको वृद्धिदर वास्तविक नहुन सक्छ, किनकि अघिल्लो वर्षको नाफामा ती बैंकहरूमा विलय भएका कम्पनीको वित्तीय विवरण समावेश गरिएको हुँदैन । तर अघिल्लो वर्षको पहिलो त्रैमास सकिनुभन्दा अघि एकीकृत कारोबार भएका बैंकहरूको भने नाफाको आकारसँगै नाफाको वृद्धिदर समेत वास्तविक हुन्छ ।

यो अवधिमा वृद्धि भएको नाफालाई हेर्दा मर्जर तथा एक्विजिसनको विकल्पलाई आत्मसात गरेका बैंकहरूको नाफा यो अवधिमा उल्लेख्य रूपमा बढेको छ । यसरी नाफा बढ्नुमा अघिल्लो बैंकको नाफा जोडिएको मात्रै नभएर त्यसमा थप सिनर्जी समेत प्राप्त भएको देखिएको छ ।

१० बैंक बढी दबाबमा

पहिलो त्रैमासमा नाफामा गिरावट आएका १५ कम्पनीमध्ये नेपाल एसबीआई बैंक र एभरेस्ट बैंकको नाफामा ५० प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ । एसबीआई बैंकको नाफा अघिल्लो वर्षको असोजसम्म ४३ करोड रहेकोमा यो वर्षको सोही अवधिमा २० करोडमा सीमित भएको हो । त्यस्तै अघिल्लो वर्षको यही अवधिमा ६९ करोड रहेको एभरेस्ट बैंकको नाफा घटेर करिब ३४ करोडमा सीमित भएको छ ।

त्यस्तै हिमालय बैंकको नाफा ६९ करोडबाट घटेर ३४ करोडमा झर्दा नाफामा करिब ४७ प्रतिशतको कमी आएको छ । सेन्चुरी कमर्सियल बैंकको नाफा पनि ३७ करोडबाट २२ करोडमा झर्दा ४० प्रतिशतको गिरावट देखिएको छ ।
त्यसो त सभिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकले कमाएको नाफामा पनि अघिल्लो वर्षको भन्दा ३० प्रतिशतभन्दा माथिको गिरावट देखिएको छ । सिभिल बैंकको १५ करोडबाट ९ करोडमा, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६४ करोडबाट ४० करोडमा तथा सानिमा बैंकको नाफा ५९ करोडबाट घटेर ४० करोडमा सीमित भएको हो । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ८४ करोडबाट ६२ करोड रुपैयाँ, कृषि विकास बैंकको ५९ करोडबाट ४६ करोडमा तथा लक्ष्मी बैंकको नाफा ४० करोडबाट ३१ करोड रुपैयाँमा झर्दा यी बैंकहरूको २० प्रतिशतभन्दा धेरैको गिरावट देखिएको हो । सनराइज बैंकको नाफा करिब १५ प्रतिशतले घटेर ४५ करोडबाट ३८ करोडमा सीमित भएको छ । यी बैंकहरू नाफा गिरावटका कारण उच्च दबाबमा रहेका छन् ।

त्यसबाहेक नबिल बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकको नाफाको गिरावट भने एकल अङ्कमा सीमित भएको छ । उता एनआईसी एसिया बैंक र एनसीसी बैंकको नाफा भने सामान्य रूपमा बढेका छन् ।
नाफामा आएको प्रमुख गिरावट कोभिड–१९ ले सिर्जना गरेको परिस्थिति नै हो । तर यसको सबैभन्दा ठूलो ‘हिट’ विदेशी लगानीका बैंकहरूमा परेका छन् । यो अवधिमा एसबीआई बैंक, एभरेष्ट बैंक, हिमालय बैंक, स्टयन्डर्ड चार्टर्ड बैंक जस्ता उच्च नाफा गुमाएका कम्पनीहरू विदेशी लगानी रहेका बैंकहरू नै छन् । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकलाई अपवादको रूपमा देखिएको छ ।

उच्च नाफाको ताज ग्लोबल आईएमईलाई

अघिल्लो वर्ष सूचीकृत बैंकमध्ये नबिल बैंकको नाफा सबैभन्दा धेरै थियो । तर यो वर्ष यो स्थान ग्लोबल आईएमई बैंकले लिएको छ । १ अर्ब ५ करोड नाफासहित सो बैंकले सर्वाधिक नाफा कमाउँदा दोस्रोमा नबिल बैंक, तेस्रोमा एनआईसी एसिया बैंक तथा चौथोमा प्राइम कमर्सियल बैंक देखिएका छन् । यी ४ २५ मध्ये यी ४ वटा बैंकको नाफा मात्रै १ अर्ब रुपैयाँ भन्दा धेरै छ ।

बजारमा देखिएको अधिक तरलत कारण यो वर्ष ब्याज खर्च बढ्दा अधिकांश बैंकहरूको खुद ब्याज आम्दानी घटेको देखिएको छ । कतिपय बैंकहरूको खुद साँवाब्याज उठ्न नसक्दा जोखिमयुक्त ऋणको हिस्सा बढेर पनि नाफा घटेको पाइएको छ । विषम परिस्थितिका बाजुद केही बैंकहरूले भने चामत्कारिक प्रगति गर्न सफल भएका समेत छन् ।

नाफामा उतारचढाव देखिएकै कारण समग्र बैंकहरूको नाफामा सामान्य मात्रै गिरावट आएको छ । हालसम्म प्राप्त २५ वाणिज्य बैंकले कुल १३ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्षको असोजसम्म यी बैंकहरूको नाफा १३ अर्ब ७४ करोड रुपैयाँ थियो ।