आफैले काम गरेको फ्याक्टीबाट ९७ लाख रुपैयाँ चोरीको आरोपमा सेक्यूरिटी गार्ड चारी

३० कात्तिक, काठमाडौं । आफैंले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित सेक्युरिटी गार्ड पक्राउ परेका छन् ।

गत बिहीबार राति भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित एपोलो पेन्ट्स प्रालिको भवन भित्र लकरमा रहेको उक्त रकम चोरी भएको थियो ।

प्रहरीले सेक्युरिटी गार्ड कबिराज थापालाई उनकै क्वार्टरको खाटमुनि झोलाभित्र र नजिकै झाडीमा लुकाइएको नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रहरीले क्वाटरको खाटमुनि ४० लाख तथा फ्याक्ट्रीको भवन नजिकै रहेको झाडीमा ५७ लाख रुपैयाँ फेला परेको जनाएको छ । लकरबाट नगद चोरीका लागि ती व्यक्तिले हेक्सा व्लेड, फलामको रडबाट बनेको खुपी, बोरा र झोला प्रयोग गरेको भेटिएको थापाले बताए ।

४० वर्षीय ती व्यक्ति चितवनकै कालिका नगरपालिका–६ का हुन्। चोरी कसुरअन्तर्गत उनलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको थापाले बताए ।

त्यसैगरी, चितवन प्रहरीले विभिन्न पछिल्लो चार दिनमा मुद्दामा कैद तथा जरीवाना सजाय भएका ४६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चोरी, जवरजस्ती करणी, लागु औषध, कर्तव्य ज्यान, बहु विवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरूष र १ महिलालाई पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।