नेपालीको मतः ट्रम की बाइडेन

२५ असोज, न्युयोर्क । यसै पनि अमेरिकामाथि सारा विश्वको आँखा गडिरहँदा कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढीको ज्यान गएपछि यो मुलुकमाथि झनै विश्वको चासो बढेको छ । यहाँ चुनाव नजिकिँदैछ र अमेरिकामा रहेका नेपालीहरु पनि ट्रम्प र बाइडेनको पक्षमा विभाजित देखिन थालेका छन् ।

दुई लाखभन्दा बढी अमेरिकीहरुले भाइरसका कारण ज्यान गुमारहँदा अब राष्ट्रपति पदको निर्वाचनको समय आएको छ । नोभेम्बर ३ तारेखका दिन हुने यो निर्वाचनले डोनाल्ड ट्रम्पको निरन्तरता वा जो बाइडेनको आगमन हुँदैछ ।

आफ्नो मनमा जे आउँछ, त्यही बोल्ने भएरै होला, ट्रम्प मिडियामा सधैं हट टपिक बनिरहेकै हुन्छन् । कोराना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्ने बानी, वैज्ञानिक र स्वास्थ्यविज्ञहरुको कुरा नमान्ने र हुँदाहुँदै आफैं संक्रिमत हुँदासमेत मास्क लगाउन वास्ता नगर्ने ट्रम्पको बानी देखेर अधिकारीहरु आजित भएका छन् ।

सन् २०१६ मा त्यतिधेरै नेपालीहरु ट्रम्पको समर्थनमा देखिएका थिएनन् । तर, यस पटक भने सामाजिक सञ्जालमा उनको समर्थनमा धेरै नेपालीहरु देखापरेका छन्
कर्नेल युनिभर्सिटीको एक अध्ययनअनुसार मूलधारका मिडियालाई ‘फेक न्युज ‘ भनेर गाली गर्ने ट्रम्प आफैं कोराना भाइरससम्बन्धी फेकन्युज फैलाउने नम्बर वन खेलाडी हुन् ।

तर, यो सब हुनाका बाबजुद उनका समर्थकरु भड्किएका छैनन् । उनीहरु बरु मिडियाका कुरा पत्याइरहेका छैनन् । प्रायः ट्रम्पका समर्थकहरु उनलाई राष्ट्रवादी नेता मान्छन् ।

सन् २०१६ मा त्यतिधेरै नेपालीहरु ट्रम्पको समर्थनमा देखिएका थिएनन् । तर, यस पटक भने सामाजिक सञ्जालमा उनको समर्थनमा धेरै नेपालीहरु देखापरेका छन् ।

न्युयोर्क राज्य निवासी नेपाली विदुर विष्ट पनि ट्रम्पको व्यक्तित्वबाट प्रभावित छन् । ‘उनी करियर पोलिटिसियन होइनन्,’ विष्टले भने, ‘उनी अमेरिकी सरकारसँग केही लिन आएका भन्दा पनि अमेरिकी जनतालाई केही दिन सक्छु कि भनेर आएका थिए ।’
विष्टले थपे, ‘अमेरिका पहिला भन्ने जुन नीति लिएर ट्रम्पले काम गरिरहेका छन्, त्यसको समर्थन गर्नुपर्छ ।’

विष्टले त्यति भनिरहँदा भर्खरै न्युयोर्क टाइम्सले ट्रम्पले सन् २०१६ र २०१७ दुवै वर्ष राज्यलाई केवल ७५० डलर मात्र कर तिरेको खुलासा गरेको थियो । अहिलेसम्म आफूले तिरेको कर सार्वजनिक नगरेका ट्रम्पले त्यस न्युजलाई ‘फेक न्युज’ दाबी गरिरहेका छन् ।

यता राष्ट्रपति पदका अर्का प्रत्यासी जो बाइडेनका नेपाली समर्थकहरु पनि धेरै संख्यामा निस्किएका छन् ।

चुनावमा कति नेपालीहरुले भोट हाल्दैछन् भन्ने आधिकारिक तथ्यांक नभए पनि सामाजिक सञ्जालमा बाइडेनको समर्थनमा धेरै नेपालीहरु देखिएका छन् ।

न्यु जर्सी राज्य निवासी रेणु शर्मा बाइडेन आप्रवासीमैत्री भएका कारण उनको समर्थक बनेको बताउँछिन् । उनी बाइडेनको जीतले नेपालीहरुलाई फाइदा मिल्ने दाबी गर्छिन् ।

‘बाइडेनको आप्रवासी नीतिलाई अझ उदार बनाउने योजना छ’, त्यसले नेपालीलाई फाइदा पुग्नेछ, शर्माले भनिन्, ‘टिपीएसको स्थायी समाधान उनले गर्नेमा म विश्वस्त छु ।’

सन् २०१५ मा नेपालमा भूकम्प गएपछि अमेरिकी सरकारले त्यतिखेर उचित कागजात नभएका नेपालीहरुलाई टीपीएस अर्थात अस्थायी बसोबासको सुविधा दिएको थियो । सन् २०२१ को जनवरीसम्म त्यो सुविधा उपयोग गर्ने नेपालीहरु करिब १५ हजार
छन् ।

यदि अमेरिकी मूलधारे मिडियाको कुरा पत्याउने हो भने यो निर्वाचनमा बाइडेनको पल्ला भारी छ । तर, हामीले यो पनि बिर्सनुहुन्न कि सन् २०१६ को चुनावमा हिलारी क्लिन्टलले जित्ने प्रवल सम्भावना रहेको मिडियाहरुले भनिरहँदा ट्रम्पले बाजी मारेका थिए । योपटक पनि त्यसो नहोला भन्न सकिन्न ।

चाहे त्यो विकसित देश अमेरिका होस् वा विकासउन्मुख देश नेपाल, प्रायः चुनावहरु तर्क वा विवेकले होइन, ‘इमोसन’ अर्थात भावनाले जितिन्छ ।