स्थायी कमिटीको बैठक अगावै मन्त्रीहरुको फेरबदेल हुँदै

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साताभित्रै आफ्नो क्याबिनेटका मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरु हेरफेर गर्न सकिने बाटो खोलिदिएको छ ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डले अन्य नेतासँगको पनि परामर्शमा स्थायी कमिटीको बैठक अगाडि नै मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने एक सचिवालय सदस्यले बताएका छन् । ती नेताका अनुसार आउँदो साताभित्रै प्रधानमन्त्री ओलीले मन्त्रीहरु फेरबदल गर्ने छन् ।

स्थायी कमिटीको बैठक कोरोनाका कारण त्यो भन्दा पछि बस्न सक्छ । नेकपा कार्यदलले असोजको अन्तिममा केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको तयारी गर्नुपर्ने प्रस्ताव गरेको छ ।

बहालवालालाई नहटाई तीनभन्दा बढी मन्त्री थप्न नसकिने

विहीबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अब अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन हुने भएको छ । अब खतिवडाले सम्हालेका दुईवटा मन्त्रालय खाली हुँदैछन् ।

वर्तमान संविधानले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीसमेत गरी २५ जनाभन्दा बढी राख्न नमिल्ने सीमा निर्धारण गरेको छ । अहिलेको मन्त्रिपरिषदमा तीन राज्यमन्त्रीसमेत २३ जना छन् । अब युवराज खतिवडा बाहिरिएपछि २२ जना मात्र हुनेछन् । यो अवस्थामा ३ जनाभन्दा बढी मन्त्री थप्ने ठाउँ छैन । मन्त्रालय पनि अर्थ, सञ्चार र शहरी विकास गरी तीनवटा मात्रै खाली रहनेछन् ।

प्रधानमन्त्री ओलीले आगामी साताभित्र मन्त्रीहरुको अदली–बदली गर्ने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन्
अहिले शहरी विकास मन्त्रालय भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले नै सम्हालिरहेको अवस्था छ भने अर्थ र सञ्चार दुईवटा मन्त्रालय खाली हुँदैछन् ।

त्यसो त तीनजना राज्यमन्त्रीहरु, मोतीलाल दुगड (उद्योग), नवराज राउत (स्वास्थ्य) र रामवीर मानन्धर (शहरी विकास) लाई विदा गर्ने हो भने प्रधानमन्त्री ओलीले थप तीनजना गरी ६ जना फूल मन्त्री बनाउने कोटा तयार हुन सक्छ । तर, मन्त्रालयको संख्या नपुग्ने भएकाले केही मन्त्रालयहरु फुटाउनुपर्ने हुन्छ ।

तीनभन्दा बढी मन्त्रीहरु राख्नका लागि मन्त्रालय फुटाउनुपर्ने हुन्छ । जसो गरे पनि संविधानतः राज्यमन्त्रीसमेत २५ भन्दा बढी बनाउन मिल्दैन ।

अहिले तीनैजना राज्यमन्त्रीहरु रहेका मन्त्रालयहरुमा फूलमन्त्रीहरु कार्यरत रहेको अवस्था छ । यसले गर्दा राज्यमन्त्रीहरु कामकाजी भन्दा पनि कामचलाउ रुपमा रहेका छन् ।

तीन राज्यमन्त्रीहरु हटाएको खण्डमा शिक्षाबाट विज्ञान प्रविधि, भूमि सुधारबाट गरीवी निवारण, अनि उर्जा र जलस्रोतबाट सिँचाइ मन्त्रालय फुटाएर थप तीनजना मन्त्रीहरु राख्न सकिन्छ । तर, यसरी मन्त्रालयहरु फुटाउनु भनेको प्रधानमन्त्री ओली अलोकप्रिय बन्नु हो ।

यो अवस्थामा प्रधानमन्त्रीसँग रहेको अर्को विकल्प भनेको राम्रो काम गर्न नसकेका केही मन्त्रीहरुलाई एकमुष्ट बिदाइ गर्ने र नयाँ टिम ल्याएर सरकारको नेतृत्व गर्ने ।

आखिर जे जसरी गरे पनि प्रधानमन्त्री ओलीले आगामी साताभित्र मन्त्रीहरुको अदली–बदली गर्ने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन् ।

तथापि दुई वर्ष बढी अनुभव हासिल गरेका मन्त्रीलाई हटाएर नयाँलाई ल्याइयो भने अबको बाँकी कार्यकाल मन्त्रालय बुझ्दैमा बित्न सक्छ र त्यो अवस्थामा सरकारको गति विगत दुई वर्षकै जस्तो नहोला भन्न सकिँदैन । यसका लागि प्रधानमन्त्री ओलीलाई नयाँ भन्दा पनि पहिल्यै अनुभव प्राप्त गरिसकेका र नतिजा दिन सक्ने मन्त्रीहरुको खाँचो पर्नेछ ।

विशेष गरी अर्थमन्त्रीमा प्रधानमन्त्रीले कसलाई ल्याउलान् भन्ने चासो सर्वत्र छ । उनले युवराज खतिवडालाई सल्लाहकारमा नियुक्त गरेर अर्थमन्त्रालय आफैंसँग राख्ने सम्भावना पनि रहेको नेताहरु बताउँछन् । वामदेव गौतमले अर्थमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री ओली अहिलेसम्म गौतमलाई दिने पक्षमा नरहेको बालुवाटार स्रोत बताउँछ ।